पोखराको के.आइ.सिंह पुल

पोखरामा रहेको केआइसिंह पुलको इतिहास कोट्याउनु अगाडि वास्तवमा के. आइ. सिंह को थिए भनेर जान्नु वा उनको इतिहास बुझ्नु आबश्यक छ । नेपालको इतिहासमा एउटा छुट्टै छाप छोडेर गएका के. आइ. सिंहको परिचय यहाँ राखेको छु ।
डोटी जिल्लाको डुम्राकोटमा कुँवर नरध्वज शाहीको छोराको रुपमा १९६३ बैशाख १३ मा जन्मेका थिए । बाबुले शुरुमा कुँवर इन्द्रध्वज शाही नाम राखिदिए पनि आफ्नो नाम पछि इन्द्रजित शाही हुदै कुँवर इन्द्रजित सिंह भए तर उनको चर्चा भने डा. के.आइ. सिंह नामले नै भयो ।
सानै उमेरमा भारतको लखिमपुर गएका उनि पढाइ सकिएर पनि अंग्रेज सेनामा भर्ति भए । सेनाको जागीर छोडेर होमियोप्याथीका डाक्टर बने । त्यसपछि ब्यबसायको सिलसिलामा वर्मा बस्न गएर बसे । दोश्रो विश्व युद्धको समाप्ती पछि भारत फर्केर नेपाली सीमा नौटनवामा औषधी दुकान खोलेर बसे । यहि नै उनि होमियोप्याथिक डाक्टर बने ।
नौतनवा बसाइकै क्रममा नेपालीहरु बढि उपचारमा आउने हुँदा उनलाई नेपाल सम्बन्धी ज्ञान पनि बढ्यो साथै नेपाली राजनीतिमा रुचि पनि जाग्यो । बिस्तारै राणाविरोधी गतिविधीमा लागे पछि राणा सरकारले उनलाई नेपाल प्रबेशमा रोक लगाए । यसै बिच राजा त्रिभुवनको दिल्ली पलायन भयो ।
भारत सरकारको सहभागितामा गोप्य रुपमा राणा, राजा र भारतको सम्झौता भयो । राजाको स्वदेशी फिर्ती पछि उनले खुलेरै दिल्ली सम्झौताको विरोध गर्न थाले । राणा शासनको समाप्ती पछि पनि मोहनशम्शेरलाई नै प्रधानमन्त्री बनाइदा उनको चित्त बुझेको थिएन । प्रजातन्त्र घोषणाको भोलिपल्ट नै २००७ फागुन ८ गते दिउसो ४ बजे उनले भैरहवामा आक्रमण गरे । यो आक्रमणमा नेपाली सेनाका पनि ४ जनाको मृत्यु भयो ।
साथै के.आई. सिंहको समुहका ९ जना मारिए ९ जना समातिए । यसको लगत्तै नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरि भोलीपल्टै फागुन ९ गते उनि सहित ३५७ जना समातिए । भारतले उनलाई नेपालमा सुपुर्दगी गर्यो । यसपछि भैरहवा जेलमा रहेका उनि असार २७ मा जेल तोडेर भागे । २००८ साउन २५ मा समाइएका उनलाई भदौ २७ मा काठमाडौ पुर्याइयो । काठमाडौमा के.आई. सिंहलाई सिंहदरवारमा राखियो भने अन्य सहयोगीहरुलाई श्रीमहल, नक्खु तथा सेन्ट्रल जेलमा राखियो ।
यता बिद्यार्थी आन्दोलनको क्रममा कार्तिक २० गते चिनियाकाजीको सैनिकको गोलीबाट मृत्यु भएपछि गृहमन्त्रीको हैसियतमा विपी माथी दवाव सिर्जना भयो । अन्तत गृहमन्त्री विपीले राजिनामा दिए । यसरी मोहन शम्शेरको नेतृत्वको सरकार २००८ कार्तिक २६ गते ढल्यो । मंसिर १ गते मातृकाको नेतृत्वमा नयाँ सरकार बन्यो ।
माघ ४ मा रक्षा दलका बिद्रोही मध्यका रामप्रसाद राई तथा अग्नि प्रसाद खरेल समातिए । माघ ८ को राती रक्षा दलको सिंहदरवारमा रहेको ब्यारेकमा रहेको तीन बटालियनका २७०० जति रक्षा दलका सैनिकले बिद्रोहको शुरुवात गरे । रक्षा दलले सबैभन्दा पहिले सिंहदरवार भित्र कैद भएका कैदीहरुलाई मुक्त गर्यो । कैदी मध्यका के.आई. सिंहलाई उनिहरुले अगुवाको रुपमा उभ्याए । रामप्रसाद राई एवं अग्नीप्रसाद खरेललाई पनि रिहा गराए ।
रक्षा दलले बिजुली अड्डा कब्जा गरेर राती उपत्यकालाई अन्धकार बनाइदिए । त्यसपछि आकाशवाणी र टेलिफोन पनि कब्जा गरेर सञ्चारबाट बन्देज गराइदिए । रातारात बिद्रोहीहरुले ठिमीको गठ्ठाघर, सानो टुँडिखेलको जंगी अड्डा, तोपखाना, हतियार भण्डार, विमानस्थल, मुलुकी खाना तथा सिंहदरवारको सेक्रेटरियट पनि कब्जा गरिसकेका थिए । बिहान सम्ममा सबैजसो प्रमुख कार्यालय रक्षादलको नियन्त्रणमा आइसकेको थियो । धेरैजसो मन्त्री तथा प्रधानमन्त्री सुरक्षाको लागी राजदरवारमा शरण लिन पुगेका थिए ।
यसरी आफ्नो नियन्त्रणमा लिएको भए पनि रक्तपातपूर्ण हुन सक्ने सम्भावना देखेपछि दिउसो २ बजे दरवारको प्रत्युत्तरको प्रतिक्षा नगरि के.आई. सिंह आफ्नो बिश्वासिलो समुहको साथ सिंहदरवार दक्षिण ढोकाबाट चुपचाप निस्किए । उनले आत्मसमर्पण गरेनन् । सैनिकले उनको समुहमाथी कुनै आक्रमण गरेन । करिव १६-१७ घण्टामा नै बिद्रोह समाप्त भयो । यस विद्रोहलाई पछि मातृका सरकारले अतिरञ्जित रुपमा प्रचारवाजी गरेर के.आई. सिंह गलत भएको प्रमाणित गर्न खोजे ।
यसरी सिंहदरवारबाट चुपचाप हिडेको समुह तिब्बतमा शरणार्थीको रुपमा करिव साढे तीन वर्षको बसाइ पछि चीनिया सरकारको अनुरोधमा नेपालले उनलाई फिर्ता बोलाउन तैयार भयो । २०१२ भदौ २७ मा काठमाडौ आइपुग्दा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।
स्वदेश फर्केका के.आइ.सिंहलाई राजा महेन्द्रले एक पटक परिक्षा लिने हेतुले २०१४ साउन ११ गते प्रधानमन्त्रीमा मनोनित गराए । भारतीय दवावमा बारम्बार रहेका राजा महेन्द्रले उग्र स्वभावका चीनिया निकटका यिनलाई प्रधानमन्त्री बनाएको अनुमान गर्न सकिन्छ । यिनको सरकारमा पशुपतीभक्त माथेमा तथा लक्ष्मीप्रसाद देवकोटा जस्ता ब्यक्ति मन्त्री बनेका थिए । जनताको लागी मन लगाएर सरकार चलाउदै गरे तापनि राजाले कार्तिक २९ गते
उनको सरकारलाई अपदस्त गराइ सरकारको जिम्मा आफ्नै हातमा लिए । केवल ११२ दिन सरकार चलाउन पाए पनि उनको चर्चा सबैभन्दा बढि हुने गरेको देखिन्छ । शायद नेपालको इतिहासमा सबैभन्दा छोटो अवधीका प्रधानमन्त्री यिनै थिए ।
चीनबाट ससम्मान स्वदेश फर्केको एक वर्ष पछि २०१३ साल कार्तिक १० को संयुक्त प्रजातन्त्र पार्टी (युनाइटेड डेमोक्रेटिक पार्टी) को महाधिवेशनका लागी पार्टीका अध्यक्षको हैसियतले के.आई. सिंह पोखरा भ्रमणमा आइपुगेका थिए । पोखरामा भएको बिशाल आमसभामा के.आइ. सिंहले भाषण गरेका थिए ।
के.आइ. सिंहका साथ लक्ष्मीप्रसाद देवकोटा, धर्मरत्न यमी तथा पूर्णबहादुर एमए पनि पोखरा आएका थिए । धर्मराज थापा यतैको हुँदा पोखरामा धर्मराज थापाको आतिथ्यतामा रहेका हुँदा उनको साथ बाटुलेचौरमा पनि पुगेका थिए । त्यहि बाटुलेचौरमा सानो कवि सम्मेलनको पनि आयोजना गरिएको थियो ।
पुल निर्माणको सोंच
बाटुलेचौर जाँदा असहज रुपमा रहेको बाँसको पुलबाट गहिरो सेतीको खोँच नाघेर जाँदा जनताले निकै कष्ट भोगिरहेको अनुभुती भए पछि आर्थिक सहयोग जुटाएर पुल बनाउने तैयारी गरियो । के.आइ. सिंहले तत्कालै ४००० रुपैया सहयोग गर्ने बचन दिए । बाटुलेचौरका केही प्रतिस्थितबाट पनि केही रकम संकलन भयो ।
बाटुलेचौरका पं. मुक्तिनाथ शर्माको पनि ठूलो योगदान रह्यो । बजारियाहरुमा अमृत प्रसाद शेरचन तथा जगदीश गौचनले पनि सहयोग गरे । २०१४ सालमा के.आई. सिंह नै प्रधानमन्त्री बनेपछि सहयोग रकममा बृद्धि भयो । जसले गर्दा पुल बनाउने तैयारी भयो ।
सेती पारीका गाँउलेहरुले जनश्रमदान गर्न तम्सिए । यहि बेला भारतीय सहयोगमा बिजयपुर सिचाइ आयोजनाको काम हुदै थियो । यसका लागी भारतीय ओभरसियर छजुराम गोडसे आएका थिए । उनलाई नै यो पुलको पनि निर्माणको निगरानी गर्न लगाइयो ।
पोखराको इतिहासमा यो पुलको बिशेष महत्व पनि छ । पोखराको इतिहासमा यो पहिलो पक्की पुल पनि हो । यस पछि बल्ल महेन्द्रपुल बनेको थियो । साथै बिजयपुर सिँचाइको लागी नहर निर्माण गर्न सिमेन्टको प्रयोगको शुरु भएसंगै पोखरामा पनि सिमेन्टको प्रयोग गरेर बनेको पहिलो संरचना पनि यहि नै हो ।
पुल निर्माण भएको केही समय पछि फेवा बाँध निर्माणको समय जगदीश गौचनले सिमेन्टको प्रयोग गरेका थिए । यस निर्माणको क्रममा सिमेन्टको बास्तविकता थाहा नपाएर माटो झै हात गोडाले नै सिमेन्ट मुछ्दा धेरैका हात गोडामा घाउ भएको थियो । जसले गर्दा दैनिक जसो जनश्रमदानको लागि आउने कामदारहरु घट्न थालेको थियो ।
यो पुल साधारण किसिमको आरसीसी बिमबाट बनेको पुल हो । निकै कम लागतमा जनश्रमदानबाट बनाइएको थियो । डा. के.आइ. सिंहको शुरुवाती आर्थिक सहयोगमा निर्माण थालनी भएको हुँदा यो पुलको नाम के.आइ. सिंह पुल राख्न धर्मराज थापाले प्रस्ताव राखेका थिए । केहीले बिरोध गर्दै स्थानिय नाम राख्ने सुझाए पनि अन्तत यसको नाम डा. के.आइ. सिंह कै नाममा रहन गयो ।
अहिले त्यस स्थानमा चौडा पक्की पुल बनिसकेपछि पुरानो डा. के.आइ. सिंह पुलको उपयोग भएको छैन । निकै लामो समय देखी बेवास्ता हुँदा पुल भत्कने अवस्थामा पुगिसकेको छ । स्थानिय तहले बिशेष चासो लिएर यस पुलको ऐतिहासिक महत्वलाई हृदयंगम गरि पर्यटकिय दृष्टीकोणले बिकास गर्न सकिन्छ ।
डा. के.आइ. सिंह अर्थात कुँवर इन्द्रजित सिंहको २०३९ असोज १८ गते वहाँको घाँटीको क्यान्सरबाट बैंककमा उपचारको क्रममा निधन भएको थियो । उनको जन्म स्थल रहेको डुम्राकोट क्षेत्रमा के.आइ. सिंह गाँउपालिका तथा त्यहिं डडेल्धुरा स्याउलेबाट डोटी सिलगढीको ६६ किमीको सडकको नाम डा के.आइ. सिंह राजमार्ग राखिएको छ ।
त्यस्तै पोखरामा उनको शुरुवाती आर्थिक सहयोगमा बनेको पुल उपयोग विहिन भएर त्यस स्थानमा नयाँ पुल बने पनि पुल तथा यस वरपरको स्थानको नाम अझै पनि के.आइ. सिंह पुल नै रहिरहेको छ । यसले देशका जुझारु र हठी राजनीतिज्ञ डा. के. आइ. सिंहको सम्झना दिलाइ रहन्छ । डा. के. आइ. सिंहलाई एक दिने राजा पनि भन्ने गरिन्छ ।

प्रतिक्रिया