शनिबार, जेठ ५, २०८१

शिव महिमा !

सुनील सापकोटा २०८० साउन २३ गते ५:४९

काठमाडौं । हिजोआज जताततै शिव / महादेवको पूजाआजा भएको पाइन्छ । हाम्रो हिन्दु धर्मावलम्बीहरु भन्छन् कि यो श्रावण महिना शिवजीको महिना हो।

नेपालमा प्राचिन इतिहास र पूराना शिलालेखहरुको अध्यन गर्दा निम्न लिखित शैव सम्प्रदायहरु उल्लेख भएको पाइन्छ।
१) पाशुपत
२) सोमा
३)मिश्र शैव
४)महेश्वर
५) नाथ
६) विर शैव
७) लिङ्गायत शैव

मलाई त लाग्दैन शिवजी लाई बढी पुज्ने पनि कुनै निर्देशित महिना हुन्छ । खैर जे होस, यो आस्थाको कुरा हो। मैले आस्थामा प्रहार गर्न खोजेको होइन ।

शिव लाई बुझ्ने सबैको आ- आफ्नो बुझाइ होला। कसैले इश्वर मान्ला , कसैले संस्कृति , कसैले नमान्ला पनि। त्यसमा टीका टिप्पणी गर्नु छैन । मलाई लाग्छ ‘जो शुन्य छ , अनन्त छ । जस्को नमान छ , नअपमान छ । वैदिक सनातन संस्कृतिमा येस्तो ज्योतिपुन्ज जो दिगम्बर छ , जसलाइ कुनै वस्त्र वा कुनै चिजले छोप्न सकिदैन । जो नग्न छ अर्थात जो सत्य छ त्यो शिव हो।’

आम मानिसमा शिवको जो रूप छ , त्यो राजा रविवर्मा भन्ने एउटा भार तिय चित्रकारले पुराणहरुका पुस्तकहरुमा बनाएको चित्रको रुप हो । हिन्दूधर्मको अधिकांश मान्यता कपोलकल्पि अन्धभक्ति, रुढीबादी बिचारहरुमा आधारित बनाइएको छ । धर्मको नाममा आ – आफ्नो पसलहरु खोलेर बसेका ठग गुरुहरु, ठग ब्राह्मणहरु , ठग संतहरु , ठग योगिहरु, ठगाहा जोगिहरु , ठगाहा बाबाहरु आदिले हिन्दु सनातन संस्कृति लाई दैनिक बदनाम र विकृत बनाएको समाचारहरु मिडियाहरु मा पढ्न पाइन्छ ।

दिक्‍कालाद्यनवच्छिन्‍नानन्‍तचिन्‍मात्रमूर्तये ।
स्‍वानुभूत्‍येकमानाय नमः शान्‍ताय तेजसे ।।

प्राच्‍यादिदिशाभिः, कालैः च यस्‍य मापनं नैव शक्‍यं विद्यते, भनेर भनिएको छ ।

अर्थात जो दिशा और काल बाट अविछिन्न छ । जस्को न कुनै मान छ, न कुनै माप – नाप छ । जो दिशाहरु र कालहरुमा समाहित छैन । जो अनन्‍त तथा चैतन्‍यस्‍वरूपमा शान्त छ । जो व्‍यक्तिगत अनुभवहरु बाट मात्र बुझ्न सकिन्छ । त्यो ज्योतिपुन्ज नै शिव हो। यसलाई नै शिव भनिन्छ । वैदिक साहित्यमा शिवको शाब्दिक अर्थ ” शव” अर्थात पार्थिव माने पूर्ण । जो पूरा छ। यसकारण मृत शरीर लाई पार्थिव भनिएको हो। पूर्णको अर्थ शून्यमा परिभाषित गरिएको देखिन्छ । शिव केही पनि होइन । जो केही नभए पनि सबै कुरा हो। ईशोपनिषद् का अनुसार ….

ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् , पूर्ण मुदच्यते,
पूर्णस्य पूर्णमादाय, पूर्ण मेवा वशिष्यते।

यो श्लोकको शब्दार्थ हो। जीरोमा जीरो जोडियो भने = जीरो । जीरोमा जीरो घटाइयो भने , गुणा र भाग गरेपनी जिरो नै हुन्छ । यसको भावार्थ हो , जो (परब्रह्म) देखिदैन तर अनन्त र पूर्ण छ । पूर्ण बाट पूर्णको उत्पती हुन्छ । यो दृश्यमान जगत पनि अनन्त छ । त्यही अनन्त बाट विश्वको आएको हो। ।

उपनिषदीय व्याख्याहरुमा यहि ज्योतिपुन्ज र जीवात्माको संयोग नै ‘लिङ्ग’ को रुपमा लिइएको देखिन्छ । लिङ्गको अर्थ हो रूप। जसलाई हेर्न सकियोस् । सायद रूप बिना सृजन सम्भव नभएर होला । शिवलिंग त्यसै रुपको प्रतीक हो ।

शून्य बाट जन्म लिएर शून्यमा नै बिलिन हुने यो सृजन लाई नै जीवन भनिएको हो । जो वस्तुतः केही होइन । अर्थात शिव त्यही होला। शिवलाई साहित्यमा विभिन्न नामहरु बाट लेखकहरुले सम्बोधन गरेको देखिन्छ ।

शिवलाई दुर्धुर्ष भनिएको छ । समय (काल) कसैबाट हार्दैन। जो हार्छन त्यो काल सङ हार्छन। शिव अनघ हो , त्यो न पाप हो न पुण्य हो। शिव स्पन्दन रहित हो।

स्थाणो गिरीशगिरिजेश महेशशंभोः
जे कालातीत छ , त्यो शिव हो । जे भैसक्यो , जे भैरहेको छ र भबिस्यमा हुनेवाला छ , त्यो शिव हो । त्यो काल ( समय ) हो र त्यो नै परमेश्वर हो ।

प्रतिक्रिया