शनिबार, असार २१, २०८२

माई खोलाको पुल

सुनिल उलक २०८० साउन २६ गते १०:२५

मानिसहरुको सामाजिक बिकासको शुरुवात नै नदी तथा खोलाको छेउछाउबाट नै भएको थियो । मानिसको जीवनमा नभइ नहुने प्रमुख पानी भएको हुँदा पनि मानिसहरुले समुहगत रुपले बस्नको लागी नदी किनार नै रोजे ।

नदी केवल हामीलाई पिउने पानीका लागि मात्रै होइन बस्तुभाउको लागि तथा अन्न उब्जाउन समेत आबश्यकता पर्दछ । त्यसैले हरेक शहर वा बस्तीहरु नदीको किनारमा नै बसेको पाउँछौ ।

यसरी बस्ती बस्न थाले पछि खोलाको एक किनारमा मात्र बसेर सबै कार्य नहुँदा खोला वारपार गर्नुपर्ने आबश्यकता पनि हुन थाल्यो । यसरी खोलामा रुखका मुढा लडाएर वा बाँस राखेर फड्के बनाउन थाले ।

सानो फड्केमा मानिसहरु असहज रुपले आरपार गर्नुपर्दा केही बलिया साँघुहरु बनाउन थाले । यसरी बिभिन्न किसिमका पुलहरुको जन्म भयो । बागलुङ वरपरका खोलानालामा फलामे साङ्लो बाँधेर झोलुङ्गे पुलहरु बने भने अन्य काठ सहज रुपले पाउने ठाउँमा काठे पुलहरु बन्न थालेको देखिन्छ ।

यहाँ देखाइएको काठे पुल वि.सं. १९८१ मा खिचिएको हो । यो पूर्वी नेपालको माई खोलामा खिचिएको फोटो हो । अंग्रेजी सेनाका मेजर सि जे मोरिस थर्ड गोर्खा राइफल्सका क्याप्टेन थिए शुरुमा । प्रथम विश्व युद्धको समाप्ती पछि नेपाल भ्रमणमा आएका सि जे मोरिसको साथ गोर्खा राइफल्सकै मेजर डब्लु ब्रुक नोथे पनि साथमा थिए ।

यो भ्रमणको क्रममा नोथे तथा सि जे मोरिसले थुप्रै फोटो खिचेको भेटिन्छ । साथै गोर्खाली सम्बन्धी पुस्तक पनि लेखेका थिए । सन १९२८ मा लेखिएको द गुर्खाज पुस्तक निकै चर्चित पनि भयो । यसको केही वर्ष पछि सन १९३५ मा मेजर डब्लु ब्रुक नोथेले पनि अर्को पुस्तक द ल्याण्ड अफ गुर्खाज लेखे ।

यस किसिमको क्यान्टीलिभर पुल १९औ शताब्दीको मध्यतिर यूरोपबाट शुरुआत भएको हो । तसर्थ यो पुल पनि अंग्रेजहरुले नै बनाइदिएको आकलन गर्न सक्छौ ।

प्रतिक्रिया