हुर्कने क्रममा बुबाको भूमिका

बुबाले पनि आमाले जस्तै राम्रो र सचेतनापूर्वक बालबालिकाको स्याहार गर्न सक्छन् । बालबालिकाको गर्भ, जन्म र हुर्काइमा महिलाको लामो योगदान हुनाले आधुनिक समाजले बुबाको प्रत्यक्ष योगदान खोजिरहेको छ ।
यसै सन्दर्भमा पुरुषको योगदानले माथिका सबै सकारात्मक उपलब्धिसहित लैङ्गिक समानता, महिलाको भावनाको कदर, घरायसी हिंसा न्यूनीकरण तथा महिलाको पेसागत कार्यमा पनि सहयोग हुन्छ । अर्को महत्त्वपूर्ण उपलब्धि बालबालिकाले बुबाले गर्ने काम र आमाले गर्ने काम छुट्याउँदैनन् र लैङ्गिक समानता आफ्नो जीवनमा पनि लागु गर्छन् ।
दैनिक क्रियाकलापमा बालबालिका जति साना छन्, मस्तिष्क विकास उति नै तीव्र हुन्छ । बुबाबाट पाएका विभिन्न अवसर तथा उचित स्याहारले बालबालिकाको राम्रो विकास हुन्छ । त्यसैले शिशु वा बालबालिकालाई स्नेहपूर्वक प्रतिक्रिया जनाउने, उनीहरू रोए, अवज्ञा गरे, रिसाएमा धैर्य गरी उनीहरूले के खोजिरहेका छन् बुझेर सहयोग गर्नुपर्दछ ।
- बालबालिकाकोलगि बुबा यस्तो मनपर्ने व्यक्तित्व होकी उनीहरू रोएको बेलामा पनि आमाले भन्दा बुबाले बोलाउँदा छिट्टै चुप लाग्ने र प्रतिक्रिया दिने गर्दछन् ।
- शिशुलाई खुवाउने, खेलाउने, गाउने, डुलाउने नुहाइदिने, लुगा लगाइदिने, सुताउने वा उनीहरूको ससाना समस्याहरू तुरुन्तै समाधान गरिदिने, उनीहरूको काममा सघाउने गर्नुपर्दछ ।
- बालबालिकालाई सुताउने बेलामा कुरा गर्ने, सुमसुमाउने, ‘हो.. हो.. नानु’ भन्दै थुमथुम्याउने, निदरी गीत गाउँने, कथा सुनाउने गर्नुपर्दछ ।
- बुबाआमा दुवै घरबाहिर काममा जाने हो भने, घरायसी कामकाजमा बुबाले पनि उत्तिकै समय दिनुपर्छ । बालबालिकाको हेरचाहको लागि भरपर्दो, तालिम प्राप्त, अनुभवी स्याहारकर्ता राख्ने र समय समयमा निगरानी पनि गर्नुपर्दछ ।
- काम गर्ने बुबाले पनि दैनिक कम्तीमा २ घण्टा बालबालिकासँग कुराकानी, स्नेह र उनीहरूको कुरा सुन्नका लागि समय दिनुपर्छ ।
युनिसेफ नेपाल
प्रतिक्रिया