अर्जुन पराजुली : कविताहरु

जब सत्ता टेक्छ
खुट्टा टेक्दैन !
जब सत्ता देख्छ
आँखा देख्दैन !
जब सत्ता चिन्छ सभी चिन्दैन !
जब सत्ता सुन्छ
कान सुन्दैन !
जब सत्ता खान्छ
अन्न खाँदैन !
तीन भाई
कहिले बाहिर निस्किन्छन्
तीन भाइ
कहिले भित्र पस्छन् !
अरुले सुइँको पाउँछन् कि भन्ने डरले
तीन भाइ, मिटिङ सोफामुनि लुकेर बस्छन् !
सभामुख भाइ
सम्सदको ढोकामा बडेमानको ताल्चा झुन्डाएर
घाँटी कन्याउँदै औंला फुकेर बस्छन् !
बेग्लै आमाको कोखबाट जन्मेका
बिचरा साम्सद भाइहरू
झुन्डिएको ताल्चालाई टुलुटुलु हेर्दै
क्यान्टिनमा चिया ढुकेर बस्छन् !
छाउगोठमा छोरी दिनहुँ
सर्पले डसेर मर्दैछ !
कर्णालीमा छोरो दिन हूँ
तुइनबाट नदीमा झर्दैछ !
गाउँमा दिनहुँ
पेट पाल्न मुग्लान पसेका छोराछोरीको जुठो पर्दैछ !
यता
सम्सदमा नेता दिनहुँ
सुन मरेको शोकमा डुबेर सम्सद बन्द गर्दैछ !
मेरो देश दिनहुँ यसरी गर्दैछ !
र
मेरो आयुको हरेक पल
मर्दै गरेको देशलाई टुलुटुलु हेरेर टर्दैछ !!

अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
प्रतिक्रिया