शनिबार, जेठ ५, २०८१

टेरामक्सको कानुनी आधारबारे विवाद

नेपालखोज २०८० साउन २७ गते ११:२४

दूरसञ्चार सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ल्याउन खोजेको टेरामक्स प्रविधिमा आबद्ध हुन अटेर गरेको भन्दै उसले नेपाल टेलिकमलाई कारबाही गरेको छ।

अर्को दूरसञ्चार सेवा प्रदायक एनसेलले भने प्राधिकरणको निर्देशन पालना गर्नेबारे छलफल गर्न इच्छा देखाएको बताइएको छ।

तर जानकारहरूले टेरामक्स भनिने प्रविधि नागरिकको अनधिकृत निगरानीमा प्रयोग हुने खतरा रहेको भन्दै प्राधिकरणको उत्सुकताप्रति शङ्का जाहेर गरेका छन्।

संविधानको धारा १८ मा उल्लेखित गोपनीयताको हकले ‘कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्याङ्क, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानून बमोजिमबाहेक अनतिक्रम्य हुनेछ’ भनेको छ।

त्यसमा व्यक्तिका टेलिफोन कुराकानी तथा डेटा प्रयोग पनि पर्छन्।

अहिले पनि कुनै अपराधमा जोडिएको र अदालतको आदेश बमोजिमबाहेक त्यस्ता विवरण दूरसञ्चार सेवा प्रदायकहरूले गोप्य नै राख्नुपर्छ।

के हो टेरामक्स ?

टेरामक्स भनिने टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टममार्फत् प्राधिकरणद्वारा नेपाल टेलिकमजस्ता सेवा प्रदायकका प्रणालीसँग सोझै पहुँच पाउने गरी अन्तर-आबद्धता गरी तिनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलहरू, एसएमएस विवरण लगायत ‘लाइभ डेटा’ माग गरिएको भन्दै टेलिकमका कर्मचारी युनियनहरूले केही महिना अगाडि नै यसको तीव्र विरोध गरेका थिए।

‘नेपाल टेलिकमसँग अहिले पनि आन्तरिकरूपमा अनुगमन गर्ने तथा गुणस्तर जाँच्ने प्रणाली छँदैछ। कानुनसम्मत ढङ्गले ती विवरण नियामक निकायले लिन सकिहाल्छ। उसले अर्को प्रणाली थप्न खोज्दा प्राविधिक जटिलता त निम्तन्छ नै त्यसले यो एक सय वर्षभन्दा पुरानो संस्थाप्रति उसका ग्राहकका भरोसा पनि प्रभावित हुन्छ,’ प्राविधिक कर्मचारी एवं नेपाल टेलिकमका वर्कर्स युनियनका महासचिव लोकेन्द्र पनेरुले भने।

‘हाम्रो कुन अपरेटरबाट कहाँ कति कल आइरहेको छ ? कसको एसएमएस कति आइरहेको छ ? कताबाट कति डेटा आइरहेको छ ? जस्ता सबै विषयलाई उहाँहरूले अनुगमन गर्न खोजेको देखिन्छ,’ उनले भने।

प्राविधिकरूपमा अब त्यस्ता सिग्नलहरू प्राधिकरणको प्रणालीसमेत भएर जानुपर्ने स्थिति आउने बताइन्छ।

विगतमा यस्ता निर्देशनहरू नभएकाले आफूहरूले दुई तिर सिग्नलका विवरण जाने गरी उपकरणहरू जडान नगरेको हुनाले नयाँ प्रविधि अपनाउन प्राविधिक जटिलतासमेत रहेको पनेरुले बताए।

तर दूरसञ्चार प्राधिकरणले भने आफ्नो उद्देश्य त्यस्तो नभएको जानकारी दिएको छ।

टेरामक्समार्फत् दूरसञ्चार सेवाको गुणस्तर जाँच गरी सुनिश्चितता दिलाउने, गडबडी रोक्ने तथा सेवा प्रदायकहरूको वास्तविक आम्दानी जाँचेर देशलाई राजश्व सुनिश्चितता दिलाउने काम गर्ने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बीबीसीलाई बताएका छन्।

‘काठमाण्डूमा गरिएका कल र जुम्लामा गरिएका कलको गुणस्तर उस्तै छैन। अनि सेवा प्रदायकहरूले दिएको आम्दानी विवरणमा नै भर पर्नुपर्ने स्थिति छ। तिनलाई व्यवस्थित गर्ने उद्देश्यले टेलिकम्युनिकेशन फ्रड म्यानेजमेन्ट सिस्टम मात्र हामीले ल्याउन लागेको हो,’ खनालले भने।

प्रतिक्रिया