शुक्रबार, वैशाख १२, २०८२

नवजात शिशु र परिवारलाई ३५ लाख दिने सहमति, आमाको भेन्टिलेटरमा राखेर उपचार हुँदै

नेपालखोज २०८० साउन ३१ गते ११:५६

झापा । नवजात शिशु र परिवारलाई राहतस्वरूप ३५ लाख रुपैयाँ दिने सहमतिपछि बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा देखिएको विवाद समाधान भएको छ।

बिर्तामोड १ निवासी २७ वर्षीया सृजना संग्रौला खनालको प्रसूति गराउने क्रममा चिकित्सकले लापरबही गरेको भन्दै उनका आफन्तले दुई दिनदेखि अस्पतालमा आन्दोलन चर्काएका थिए।

तर, अस्पताल प्रशासन र पीडित परिवारबीच भएको वार्ताका क्रममा सृजनाको उपचारमा लागेको सबै खर्च मनमोहन अस्पतालले व्यहोर्न, उनको परिवारलाई राहतस्वरूप २० लाख रुपैयाँ दिने र नवजात शिशु (छोरी) को स्वास्थ्य, शिक्षाका लागि १५ लाख रुपैयाँ बैंकमा जम्मा गर्नेलगायतका सहमतिपछि अस्पतालमा देखिएको विवाद समाधान भएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले जानकारी दिए।

साउन २७ गते अस्पताल भर्ना भएकी सृजनाको प्रसूति गराउने क्रममा डाक्टरले लापरबाही गरेको भन्दै उनका आफन्तले अस्पतालमा सोमबारदेखि उपचारमा संलग्न चिकित्सकलाई कारबाही गरिनुपर्ने मागसहित आन्दोलन गरेका थिए। चिकित्सकको लापरबाहीले सृजनालाई मृत्युशय्यामा पुर्याएको उहाँका आफन्तको दाबी छ।

बिर्तामोड नगरपालिका १ घर भएकी २७ वर्षीया सृजनाको अस्पतालमा कार्यरत डा.एकराज गौतमले प्रसूति गराएका थिए। डा. गौतमले २७ गते राति नै सिर्जनको शल्यक्रिया गर्दै शिशु (छोरी) सकुशल निकालेका थिए । तर, राति सवा नौ बजे सृजनालाई यहाँ उपचार सम्भव नभएको भन्दै बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा रेफर गरिएको थियो।

मनमोहन अस्पतालमा स्टाफ नर्सका रूपमा कार्यरत संग्रौला प्रसूतिका लागि २७ गते साँझ साढे ६ बजे अस्पताल भर्ना भएकी थिईन्। तर, उनको शल्यक्रियापछि उच्च रक्तचाप देखिएसँगै स्वास्थ्य अवस्था गम्भीर भएकाले बिर्तासिटी रेफर गरिएको अस्पताल प्रशासनले जनाएको छ।

उच्च रक्तचापका कारण ‘ब्रेन हेमरेज’ भएसँगै उ्नको अहिले बिर्तामोडस्थित बिर्तासिटी अस्पतालको ‘भेन्टिलेटर’मा राखेर उपचार भइरहेको बताइएको छ।

सृजनाको शल्यक्रियापश्चात् होस आएको तर करिब एक घण्टापछि उनको स्वास्थ्यमा समस्या देखिँदै गएको बताइएको छ। सृजनाको स्वास्थ्यमा जटिल समस्या आउँदासमेत उनका आफन्तलाई जानकारी नगराएको र अन्तिम अवस्थामा आएपछि मात्रै डा.गौतमले रेफर गरेको भन्दै डा. गौतमलाई तत्काल कारबाही गरी उनको लाइसेन्ससमेत खारेज गरिनुपर्ने माग राख्दै आफन्तले सोमबारदेखि आन्दोलन चर्काएका थिए। पीडित पक्षसँग पटक–पटक वार्ता भए पनि निष्र्कषमा नपुग्दा मंगलबार मध्यान्हसम्म मनमोहन अस्पताल अशान्त बनेको थियो।

अस्पताल परिसर अशान्त बनेसँगै सोमवार साँझदेखि मनमोहन अस्पताल परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र अस्पताल सुरक्षित गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । –INS

प्रतिक्रिया