चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्तासमक्ष नेपालमा थप लगानी गर्न आग्रह गरेका छन् ।
चीन साउथ एसिया बिजनेस फोरमका तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना (युनान) नेपाल इन्डस्ट्रियल को–अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज बैठकलाई सम्बोधन गर्दै उनले प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यका रूपमा विकसित भइरहेको बताएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।
अध्यक्ष ढकालले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था तथा जलस्रोतलगायतका समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताहरूका लागि नेपालमा लगानी सहज रहेको उल्लेख गरे ।
उनले ऊर्जा, पर्यटन पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आइसिटी र कृषिजस्ता विविध क्षेत्रमा नेपालमा थप लगानीका आकर्षक अवसरहरू रहेको जानकारी चिनियाँहरूलाई गराए ।
कार्यक्रममा चीन, नेपाल र दक्षिण एसियाली देशका विशिष्ट नेता, सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मीको सहभागिता रहेको छ ।

प्रतिक्रिया