शनिबार, जेठ ५, २०८१

क्लाड इथरली

सुनील सापकोटा २०८० भदौ १ गते ६:५०

दोस्रो विश्व युद्ध ताका सन् १९४५ अगस्त ६ तारीखका दिन क्लाड इथरलीले जापानको हिरोशिमा शहर माथिको आकाश बाट हवाइ जाहाज द्वारा परमाणु बम झारेको थियो । जसको प्रचण्ड ज्वाला र जहरिलो धुवाँले सत्तरी हजार मानिसहरु मरेको बताइन्छ। त्यसमा हजारौं केटाकेटीहरुले पनि अनाहकमा ज्यान गुमाउनु परेको थियो। त्यो हवाई आक्रमणको टिम ९० जाना को थियो । त्यस टिमका अरु सदस्यहरुले हामिलाई परमाणु बम यति खतरनाक र घातक हुन्छ भन्ने थाहा थिएन भनेर अरु पन्सिए पनि क्लाड इथरलीले आफुलाई सम्झाउन सकेनन् र त्यो जघन्य अपराधको दोषी आफुलाई मान्न थाले ।

उनलाई ‘वार हिरो’को सम्मान प्राप्त भएपछि झन् बढी गिल्टि फिल हुँदै गयो । यो ‘वार हिरो’ सम्मानले उनलाई अझ एक असहनिय बोझ र पिडाको अवस्थामा लग्यो । त्यसपछि उनले हिरोशिमा खसालिएको परमाणु बमको आफुलाई अपराधी ठानी दण्ड सजाएको लागि सानोतिनो अपराधहरु (चोरी, झगडा ) आदि गर्न थाले । तर पुलिस र अदालतले उनको मनोबिज्ञान बुझेर छोडि दिने गर्थ्यो। उनले आफुलाई अपराधी ठानी आफ्नो आयको धेरै हिस्सा हिरोशिमामा बमको प्रभावका पीडितहरु लाई पनि पठाउथे । यसोगर्दा पनि उनको मन बेचैन नै रह्यो। मन शान्त हुन सकेन । त्यसपछि उनले दिक्क भएर आत्महत्याको कोशिश पनि गरे ।

त्यसमापनि सफल हुन सकेनन् । अंतत: पागलपनको अवस्थामा १ जुलाई १९७८ मा उनको मृत्युु भयो। क्लाड इथरलीले आफ्नो यस अंतर्द्वंद्व माथी ‘Burning Conscience’ नामक एउटा किताब पनि लेखेका छन् । त्यस्तै भारतका प्रख्यात साहित्यकार मुक्तिबोधले क्लाड इथरली माथि एउटा कथा लेखेका छन् । उनी कथामा लेख्छन् – ‘जो ब्यक्ती अंतरआत्माको आवाज कहिलेकाही सुन्ने गर्छ, त्यसले बोलेर आफ्नो मनलाई शान्त पार्छ कि त्यो लेखक हुन्छ । जो धेरै सुन्छ, त्यो बिद्रोही हुन्छ वा समाज विरोधी तत्वहरुमा समाबेश हुन्छ । तर जो आत्माको आवाज सुनेर सधैं बेचैन रहन्छ र आफ्नो भित्री मनको आदेश पालन गर्न थाल्छ भने चाहिँ उ पागल हुन्छ र उसलाई पागलखाना पठाउनुपर्छ ।

त्यो कथाको सारमा मुक्तिबोध लेख्छन् – मनुष्य सबैको मन-मस्तिष्क भित्र येस्तै एक पागलखाना हुन्छ । जहाँ हामी हाम्रा उच्च पवित्र विद्रोही विचार र भावहरु फ्याकिदिन्छौं । अनि बिस्तारै बिस्तारै समझौतावादी पोशाक लगाएर कि त सभ्य, भद्र बन्छौ कि त पागलखानामा पुग्छौं । हामी सबैको भित्र एक ‘क्लाड इथरली’ छ । हामी त्यसलाई बाहिर ल्याउँछौं वा त्यसलाई तहखानाको पागलखानामा सड़नका लागि छोडि दिन्छौं । निर्णय पूरै ब्यक्तिगत हुन्छ ।

प्रतिक्रिया