गौतमबुद्ध र फाप्ला क्रिकेट रंगशाला भारतले बनाइदिने

नेपालखोज २०८० भदौ १ गते १८:५३

काठमाडौं । चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र धनगढीको फाप्ला क्रिकेट मैदान भारत सरकारले बनाउने लिखित सहमती भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् ।

चन्दले उक्त सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठमा भारत भ्रमणको समयमा उक्त सम्झौता भएको बताएका छन् ।

‘पछिल्लो समय प्रधानमन्त्रीको भारत भ्रमणमा क्यानको तर्फबाट म पनि गएको थिए । फाप्ला र गौतमबुद्ध क्रिकेट स्टेडियम भारतले बनाइदिनेमा नेपालको एजेन्डा थियो । नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त एजेन्डामा लिखित सम्झौता नै गर्नु भएको छ । तर त्यो कहिले बन्ने भन्ने कुरा हो’, चन्दले भने ।

चन्दले उक्त दुई मैदान चाँडै बनाइदिन आग्रह गरेका छन् । ‘यहाँबाट पठाएको एजेन्डामा हुँदा लिखित रुपमै सहमती भएको थियो । यो भारतसँगको सम्झौता लागु नभए क्रिकेट मर्छ । हामी स्टेडियम अभावकै कारण धेरै माथी पुग्न नसेको अवस्था छ । मेरो चिन्ता के हो भने बनाइदिने त भनेको छ तर ५,१० र २० वर्षपछि कहिले बनाइदिने ? त्यसलाई तुरुन्त बनाइदिन पर्यो भन्ने मेरो आग्रह हो’, उनले भने ।

धुर्मस सुन्तली फाउन्डेसनको पहलमा जनस्तरबाट चितवन भरतपुर नगरपालिकामा निर्माणाधिन बहुउद्देश्यीय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पछिल्लो एक वर्षदेखि अलपत्र छ ।

नेपालले २०१८ मा ओडिआई मान्यता पाएपछि धुर्मस सुन्तली फाउन्डसेनले उक्त रंगशाला बनाउने घोषणा गरेका थिए । कोरोना महामारीको समयमा पनि उक्त निर्माणको काम रोकिएको थिएन । तर जनस्तरबाट बाचा गरेको रकम नउठेपछि ऋणको कारण धुर्मुस सुन्तली फाउन्डेसन निर्माणको लागि पछि हटेको थियो । भक्तपुर महानगर पालिका र नेपाल सरकारले बनाउने बताउँदै आएका छन् ।

रंगशालामा निर्माणका लागि झन्डै ३ अर्ब खर्च हुने बताएको छ । ३० हजार समर्थक अट्ने क्षमता भएको यस रंगशाला विशेष त सिंगो देशको प्रतिष्ठासँगै राष्ट्रिय एकताको परियोजना समेत हुने बताइएको थियो । यस निर्माणधीन रंगशालामा सिंगो देश हेर्न सकिने बताइएको थियो ।

पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म, झापा सुनसरी हुँदै कैलाली कञ्चनपुर सम्मको जिल्लाहरुलाई समेटेर ७७ वटा कक्ष निर्माणाधिन छन् । नेपालको धार्मिक, प्राकृतिक, सांस्कृतिक, मौलिक सम्पदा झल्किने गरि रंगशाला निर्माण गर्ने धुर्मुसले दाबी गर्दै आएका थिए ।

यता दुई वर्षअघि नेपाल सरकारले कैलाली धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई साढे ३८ विघा जग्गा उपलब्ध गराउने बताएको थियो । फाप्ला क्रिकेट मैदानमा तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) सन् २०१९ मा सम्पन्न भएको थियो ।

सन् २०१५ को फेब्रुअरी घोषित ड्रिम फाप्ला फाप्ला अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदान निर्माण अभियान) अभियानले समृद्ध सुदूरपश्चिमको परिकल्पनासहित ७० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट मैदान धनगढीमा बनाउने उद्देश्यका साथ थालनी भएको थियो ।

खेलग्राममा क्रिकेट रंगशाला सहित जिमखान, पौडीपोखरी, क्रिकेट म्युजियम, अभ्यास खेलमैदान, अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो तथा इन्डोर हल, फुटबल मैदान, पार्किङ, तालीम संचालन गर्ने भवन, मिडिया सेन्टर आदि संरचनाहरूको निर्माणको परिकल्पना गरेको छ । फाप्लासँगै जोडिएको मोहना नदी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने परिकल्पना छ ।

प्रतिक्रिया