भारतका मुख्यमन्त्रीहरूको औसत सम्पत्ति

भारत । भारतमा मुख्यमन्त्रीहरूको औसत सम्पत्ति करिब ५५ करोड रुपैयाँको हाराहारीमा छ र भारतका ३० जना मुख्यमन्त्रीमध्ये १३ जना विरुद्ध गम्भीर आपराधिक मुद्दाहरू छन् । यो जानकारी लोकतान्त्रिक सुधार संघले ३० जना मुख्यमन्त्रीको शपथपत्रबाट संकलन गरेको हो ।
प्रायः सबै मुख्यमन्त्री करोडपति
मुख्यमन्त्रीहरूको शपथपत्रअनुसार ३० मुख्यमन्त्रीमध्ये २९ जना करोडपति छन् । आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डी ८२० करोड सम्पत्तिका साथ सबैभन्दा धनी मुख्यमन्त्री हुन् । यता उनको राज्यमा १२ प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि छन् ।
मुख्यमन्त्री धनी, जनता गरिब
अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खान्डु (२६० करोड) धनी मुख्यमन्त्रीमध्ये दोस्रो स्थानमा छन् । उनको राज्यमा २४ प्रतिशतभन्दा बढी मानिस गरिबीको रेखामुनि छन् । ओडिशाका नवीन पटनायक (१०० करोड) तेस्रो नम्बरमा छन् । उनको राज्यमा २९ प्रतिशतभन्दा बढी जनता गरिब छन् ।
कम धनी
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दिएको विवरण अनुसार उनिसँग १५ लाखको मात्रै सम्पत्ति छ । थप दुई मुख्यमन्त्रीको सम्पत्ति पनि अरु मुख्यमन्त्रीको तुलनामा निकै कम छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयन र हरियाणाका मुख्यमन्त्री मनोहर लालले डेढ – डेढ करोडको सम्पत्ति घोषणा गरेका छन् ।
शिक्षा
भारतका ३० जना मुख्यमन्त्रीमध्ये ११ जना (३७ प्रतिशत) स्नातक छन् । ९ जना मुख्यमन्त्रीले (३० प्रतिशत) स्नातकोत्तर गरेका छन् भने एक मुख्यमन्त्रीले डक्टरेट गरेका छन् । चारजना (१४ प्रतिशत) स्नातक पेशाकर्मी हुन्, तीन जना १२औं उत्तीर्ण र एकजना मात्र १० कक्षा उत्तीर्ण छन् ।
आपराधिक मामिलाहरु
३० मध्ये १३ (४३ प्रतिशत) मुख्यमन्त्रीविरुद्ध फौजदारी मुद्दा छ । हत्या, ज्यान मार्ने उद्योग, अपहरणजस्ता गम्भीर आपराधिक मुद्दा पनि उनिहरु विरुद्ध दर्ता छन् । तीमध्ये तेलंगानाका मुख्यमन्त्री के चन्द्रशेखर राव सबैभन्दा अगाडि छन्।
प्रतिक्रिया