शनिबार, जेठ ५, २०८१

नाग पञ्चमी !

सुनील उलक २०८० भदौ ४ गते ९:०८

काठमाडाैं । हरेक वर्ष सावन शुक्ल पञ्चमीको दिन हामी नाग देवतालाई सम्झँदै पूजा अर्चना गर्छौं । यस वर्ष भने मलमास परेका कारण भदौ ४ गते नागपञ्चमी पर्न गएको छ । पौराणिक कथनअनुसार राजा परिक्षितको तक्षक नागले डसेर मृत्यु भएपछि उनका छोरा जन्मेजयले संसारमा भएका सम्पूर्ण नागको नास गर्न विशाल सर्पदाह यज्ञ गरेका थिए । यसरी सम्पूर्ण सर्प जातिको नै नास हुन लागेपछि बासुकी नागले आफ्नी बहिनीको सहायताले भाञ्जा आस्तिकलाई ब्रम्हासँग भेट गर्न लगाउँछन् ।

ब्रम्हासँगको भेटमा ब्रम्हाले ब्राम्हण कुमार आस्तिकलाई केही उपाय सिकाउँछन् । ब्रम्हाको सल्लाहअनुसार ब्राम्हण कुमार आस्तिक जन्मेजयको यज्ञमा पुगेर ऋषिमुनि एवं जन्मेजयको निकै प्रशंसा गर्छन् । अन्तमा राजा जन्मेजय खुशी भएर वरदान माग्न लगाउँदा आस्तिकले यज्ञ समाप्त गरि सम्पूर्ण सर्प जातिसँग क्षमा मागेर पूजा गर्न लगाउँछन् । आफ्नो भूलको प्रायश्चित गरि जन्मेजयले यज्ञ रोकेर सर्प जातिसँग क्षमा मागेर पूजा गर्छन् ।

यहि यज्ञ रोकेर सर्प जातिसँग क्षमा मागी पूजा अर्चना गरेको सावन महिनाको शुक्ल पञ्चमीको दिनमा त्यसै दिनदेखि सम्पूर्ण जातीले पनि सर्प तथा नागको पूजा अर्चना गर्न थालनी भएको भन्ने शास्त्रिय कथन छ । कथा जे जस्तो भए पनि नाग तथा सर्पलाई हामीले एक दिन सम्झेर नाग पूजा गर्छाैं । सर्प जाति प्रति सद्भाव राख्छौं । नागको आठ कुल अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागलाई एकसाथ पूजा गर्छौं ।

नागको चित्र अंकित तस्बिरमा लेखिएको मन्त्र उच्चारण गर्दै पूजा गर्नुपर्छ । अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च । सुमन्तुर्जैमिनिश्चैव पञ्चैते बज्रवारका: ।। मुने कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् । विद्युदग्नि भयं नास्ति लिखितं गृहमण्डले ।। अनन्तो वासुकि पद्मो महापद्मश्च तक्षक: । कुलिर: कर्कट: शंखश्चाष्टौ नागा: प्रकीर्तिता: ।। अष्ठकूलका आठ नागलाई सम्झदै अगस्त्य, पुलत्स्य र वैपश्पायन ऋषीलाई पूकार्दै घरमा अग्नि विद्युत बज्रपातबाट मुक्ति गराउन आह्वान गरिन्छ ।

अष्ट नागको चित्रअंकित तस्विरलाई घरको मूल ढोका माथी गोवरले टाँसेर नागलाई मन पर्ने दुध, लावा, दुबो, अक्षताले पूजा गरेर फलफूल चढाउँछाै । नाग देवता वर्षातको पनि भगवान् हुने मान्यताले गर्दा यसरी पूजा गर्दा चट्याङको बज्रपात नपर्ने, सर्पदंश तथा अन्य भय पनि नरहने विश्वासको साथ पूजा गर्ने प्रचलन छ । नेपालको प्रसंगमा कुरा गर्नुपर्दा नेपालमा नागराजाहरुको पनि राज्य रहेको भन्ने मान्यता रहेको छ । यी नागराजाहरु आफैले नागवंश भनेका खस राजाहरु हुन भनिन्छ । जेजस्तो भए पनि नागहरुले पूज्ने हाम्रो परम्परा रहदै आएको छ ।

नाग पूजा गर्दा अचेल अत्याधुनिक रूपले विभिन्न नागको तस्विर अंकित फोटोहरू घरका भित्तामा टासेर पूजा गर्दछाै । तर पहिले पहिले यसरी नागको चित्र छापिएका फोटोहरू पाइदैनथ्यो । त्यसैले घरमा आफैले कागजमा नागको चित्र कोरेर पूजा गर्ने गर्दथे । यसैको उदाहरण स्वरूप आजभन्दा ५८ वर्ष अगाडी बि.सं. २०२२ सावन १८ गते सोमबार नाग पञ्चमीको दिन लमजुङको चितीमा नाग पूजा गरिएको तस्बिर राखेको छु । यसमा हातले कोरीएको नागको फोटो घरको ढोका छेउ टासिएको छ ।

प्रतिक्रिया