शनिबार, जेठ ५, २०८१

बाल्यअवस्थामा कार्यकारी सीप

नेपालखोज २०८० भदौ ५ गते ८:१२

नेपालको सन्दर्भमा कार्यकारी क्षमता नौलो विषय हुन सक्छ । तर अभिभावक तथा स्याहारकर्ता वा विद्यालयहरूले जानी या नजानी केहि न केहि रुपमा प्रयोग त गरिरहेका नै हुन्छन् । तर यो विषयलाई प्राथमिकतामा राखेर बालबालिकाको कार्यकारी क्षमता विकासमा सहयोग गर्न सकेमा बालविकासलाई थप मद्दत मिल्ने कुरामा दुइमत नहोला ।

नीतिगतरुपमा कार्यकारी क्षमता विकासका लागि कुनै खास पाठ्यक्रम या निर्देशिका नबने पनि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड (ELDS) मा मिल्दोजुल्दो मान्यता राखेको भेटिन्छ । ELDS मा उल्लेख गरिए अनुसार  प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड (४८ महिना देखि ६० महिना) बालबालिकाले जान्नै पर्ने र गर्न सक्ने क्षमताको पहिचान गर्न निर्माण गरिएको हो ।

बालबालिकाको शारीरिक, सामाजिक, सम्वेगात्मक, बौद्धिक, भाषिक तथा सांस्कृतिक विकासको स्तर पहिचान गरी उत्प्रेरणाबर्धक वातावरणमा सिकाइ तथा विकास गर्न मद्दत पुर्याउनु रहेको छ ।

४८ देखि ६० महिनाका बालबालिकाको विकास तथा सिकाइ मापदण्डहरू राष्ट्रिय मूल्य मान्यतालाई केन्द्रित गरि निर्माण गरिएको हो । ती मूल्य मान्यताहरू निम्न हुन् :

(क) बालबालिका स्वस्थ, क्रियाशील तथा सम्वेगात्मक रूपमा सन्तुलित हुनुपर्दछ ।

(ख) बालबालिका स्याहार गर्ने, मायालु, फरक विचारको कदर र अरूलाई आदर गर्ने हुनु पर्दछ ।

(ग) बालबालिका विश्वासी, सीपयुक्त तथा आत्मनिर्भर हुनु पर्दछ ।

(घ) बालबालिका परिवर्तनलाई आत्मसात गर्ने वा परिवर्तित सन्दर्भमा मिलेर बस्न सक्ने हुनु पर्दछ ।

बालबालिकाको समग्र विकासमा कार्यकारी क्षमताले महत्वपूर्ण भूमिका खेल्दछ। प्रारम्भिक बाल्यअवस्था देखि नै कार्यकारी सीपहरूको विकास हुन सकेमा किशोरावस्था तथा त्यस पछिको उमेरमा गुणात्मक लाभ प्राप्त हुन्छ ।

कार्यकारी क्षमताको विकास भएमा व्यक्ति शैक्षिक, व्यवहारिक र सामाजिक रुपमा अब्बल हुन सक्दछ । यसका साथै मानसिक स्वास्थ्य राम्रो हुनका लागि पनि कार्यकारी क्षमता आवश्यक छ ।

आमाबाबु, शिक्षक, सहजकर्ता, मनोपरामर्शकर्ता तथा स्वास्थ्यकर्मीहरूले कार्यकारी क्षमता बलियो बनाउने त्यस्ता सीपहरूको महत्वको बारेमा सचेत हुनु जरुरी छ र त्यस्ता सीपहरूको विकासका लागि उपयुक्त वातावरण निर्माण गर्न प्रभावकारी भूमिका खेल्नु पर्दछ ।

प्रतिक्रिया