शनिबार, जेठ ५, २०८१

जापान १३ लाख टन रेडियोधर्मी पानी समुन्द्रमा छोड्दै

नेपालखोज २०८० भदौ ७ गते १२:३६

जापान । जापानले आज अगस्ट २४ देखि समुद्रमा रेडियोधर्मी पानी छोड्न थालेको छ । फुकुशिमा दाइची आणविक संयन्त्रको यो पानी करिब १० वर्षसम्म समुन्द्रमा छोडिनेछ ।

सरकार तथा विज्ञहरूले यसलाई सुरक्षित भनेका छन् तर धेरै मानिसहरू यसबाट सशङ्कित छन् । जापानको फुकुशिमा दाइची आणविक ऊर्जा केन्द्र सन् २०११ को शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीका छालहरूका कारण नराम्रो सँग क्षतिग्रस्त भएको थियो । त्यस क्रममा यो आणविक ऊर्जा केन्द्रको मेसिनलाई चिसो राख्न प्रयोग गरिने पानी रेडियोएक्टिभ रियाक्टरको सम्पर्कमा आयो । 

जापानले अब यो पानी सफा गरेर समुन्द्रमा छोड्ने जनाएको छ । यो प्रक्रिया आज देखि सुरु हुनेछ । निकासको पानी फिल्टर गर्ने र पातलो गर्ने प्रक्रिया करिब १० वर्षसम्म चल्ने बताइएको छ । 

रेडियोधर्मी पानी 

अहिले यो पानी ट्याङ्कीमा राखिएको छ । पानी यति धेरै छ कि यसले ओलम्पिक खेलहरूमा प्रयोग हुने ५०० वटा स्विमिङ पुल भर्न सक्छ। फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्र सञ्चालन गर्ने ‘टोकियो इलेक्ट्रिक पावर कम्पनी’ (TEPCO) का अनुसार फिल्टरसङको क्रममा पानीबाट आइसोटप्सहरू हटाइएको छ। 

अब पानीमा हाइड्रोजन आइसोटप्स ट्रिटियम मात्र बाँकी छ। ट्रिटियम पनि रेडियोधर्मी छ। ट्रिटियमलाई पानीबाट पूर्ण रूपमा छुटाउन निकै गाह्रो भएको टेप्कोले बताएको छ। 

ट्रिटियम तुलनात्मक रूपमा कम हानिकारक मानिन्छ। मानव छालाले यसलाई प्राकृतिक रूपमा अव शोषित गर्न सक्दैन । यद्यपि २०१४ मा प्रकाशित एक अमेरिकी विज्ञान लेख अनुसार धेरै ट्रिटियमयुक्त पानी पिउँदा क्यान्सरको जोखिम हुन सक्छ । 

सुरक्षाको सवाल 

संयुक्त राष्ट्रको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले जुलाईमा यो पानी छोड्न अनुमति दिएको थियो। आईएईएका अनुसार प्रशोधित पानीले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको छ ।

आईएईएले यो पानीको वातावरणमा नकारात्मक असर नगण्य हुने बताएको छ । यद्यपि वातावरण कार्यकर्ताहरू यो तर्कसँग सहमत छैनन्। रेडियोधर्मी पानी छोडेपछि कस्तो नतिजा आउँछ, त्यसको पर्याप्त अध्ययन हुन नसकेको उनीहरूको भनाइ छ । 

पर्यावरण सङ्गठन ग्रीनपीसका अनुसार ट्रिटियम, कार्बन–१४, स्ट्रन्टियम–९० र आयोडिन–१२९ को जैविक जोखिमको अध्ययन अपर्याप्त छ । जापान सरकार र Tepco को कागजात अनुसार, strontium-९० र आयोडिन-१२९ फिल्टर गर्दा पूर्ण रूपमा हटाइनेछ। कार्बन-१४ धेरै थोरै मात्रामा रहनेछ। यो मात्रा सुरक्षा मापदण्डमा रेकर्ड गरिएको सङ्ख्या भन्दा धेरै कम हुनेछ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पिउने पानीमा तोकेको मापदण्डभन्दा ट्रिटियमको स्तर कम हुने जापानको दाबी छ । 

जापानको सरकारी कागजातमा रेडियोधर्मी पदार्थको सघनता पत्ता लागे पानी छोड्ने काम तुरुन्तै रोक्न लगायतका आवश्यक कदम चालिनेछ भनी उल्लेख गरिएको छ। 

छिमेकी र माछा मार्नेहरूको मनोवृत्ति 

जापानका छिमेकी राष्ट्र चीन, दक्षिण कोरिया र रुसले पनि फुकुसिमाको पानी समुन्द्रमा छोड्ने योजनालाई लिएर चिन्ता व्यक्त गर्दै आएका छन् । अब दक्षिण कोरियाको सरकार जापानको योजनामा ​​सहमत भएको देखिन्छ। 

दक्षिण कोरियाका अनुसार अनुसन्धानमा यो पानीले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको पाइएको छ । सियोलले पनि IAEA को अनुसन्धानलाई सम्मान गर्ने कुरा गरेको छ। चीन र रुस जापानको यो रेडियोधर्मी पानीलाई समुद्रमा छोड्नुको सट्टा वाष्पीकरण गर्न चाहन्छन् ।

जुलाईमा दुवै देशले यस सम्बन्धमा टोकियोलाई दस्ताबेज पनि पठाएका थिए । जापान सरकारले वायुमण्डलमा निस्कने रेडियोएक्टिभ पदार्थको प्रभाव मूल्याङ्कन गर्न निकै गाह्रो भएको भन्दै उक्त प्रस्ताव अस्वीकार गरेको थियो । चीन जापानबाट समुद्री खाना आयात गर्ने सबैभन्दा ठुलो खरिदकर्ता हो। 

फुकुसिमाका मछुवाराहरूले पनि लामो समयदेखि रियाक्टरको पानी समुन्द्रमा छोड्ने कुराको विरोध गर्दै आएका थिए । अहिले उनीहरू सरकारको योजनामा ​​सहमत भएका छन् ।

जापानको नेसनल फेडरेशन अफ फिशरीज कोअपरेटिभ एसोसिएसनका प्रमुख मासानोबु साकामोतोका अनुसार उनीहरूलाई थाहा छ कि छोडिएको पानीले वैज्ञानिक मापदण्डहरू पूरा गर्दछ। यद्यपि  यसले आम जनताको त्रास कसरी हटाउने हो त्यसको जवाफ भने उनीहरूसँग छैन । 

स्रोत : रोयटर

प्रतिक्रिया