शनिबार, जेठ ५, २०८१

बाल कथा प्रस्तुतिका विधिहरू

नेपालखोज २०८० भदौ १५ गते ७:५३

क) चित्र कथा विधि

अभिभावकले कथा सुनाउँदा चित्रहरु अवलोकन गर्न दिनुपर्छ । चित्र भएको भाग बालबालिकातिर फर्काएर कथा पढ्नु वा भन्नुपर्दछ । कथालाई पढेर सुनाउँदा सकेसम्म उत्साहपुर्वक र नाटकिय ढंगमा भन्नुपर्दछ ।

 ख) चित्र बनाउँदै कथा वाचन विधि

सरल आकारका चित्रहरू बोर्ड वा कागजमा कोर्दै कथा सुनाउन सकिन्छ । बालबालिकालाई कागज र पेन्सिल दिएर अभिभावकले कथा भन्दै र बालबालिकाले बुझे अनुसारको चित्र कोर्न लगाउदा प्रभावकारी हुन्छ ।

ग) अभिनय विधि

पहिले भनिसकेको कथालाई कुनै एक पात्रको जस्तो भेषभुषा प्रयोग गरी कथा भन्ने र बालबालिकालाई पनि कथामा भएका बिभिन्न पात्रहरूको अभिनय गरी कथा प्रस्तुत गर्न सकिन्छ ।

घ) कठपुतली, पपेट विधि

 अभिभावकले कठपुतली, पपेटबाट कथामा भएका पात्रहरूलाई प्रदर्शन गराई कथा प्रस्तुत गर्न सकिन्छ । कथाका पात्रअनुसारका कठपुतलीहरूले आफ्नो कुरा बोल्छन् र बालबालिकासँग कुराकानी गर्दछन् । जसले बालबालिकालाई मनोरञ्जनात्मक सिकाइ हुन्छ । कहिलेकाही पर्दा पछाडि बसेर कठपुतली पर्दा माथि चलाउनु पनि सकिन्छ । 

ङ) नमुना (मोडल) विधि

घरमा भएका तरकारी, फलफूलहरु प्रयोग गरी कथा प्रस्तुत गर्दा बालबालिकाले मनोरञ्जन गर्ने तथा खाना खान मन गर्ने पनि हुन्छ । यस विधिमा फलफूल तरकारीहरुलाई सजाएर जुन चाहिँ बोल्छ, त्यसैलाई चलाउँदै कथा प्रस्तुत गर्न सकिन्छ ।

छलफल र अन्तरक्रिया

यी सबै विधिमा महत्त्वपूर्ण कुरा छलफल र अन्तरक्रिया नै हो । बालबालिकाले कथा सुनिसकेपछि  कथामा आधारित छलफल तथा अन्तरक्रिया गर्दा उनीहरूले कथाबाट बुझेका तथ्य थाहा पाउन सक्छन् । कथा सुनाउनै जाँदा बालबालिकालाई “अब के होला?” भन्दै कथा पुरा गर्न लगाएमा उनीहरूको कल्पना शक्तिको विकास हुन्छ ।

कथामा छलफल गर्दा स-साना प्रश्नहरू जस्तै कथा कस्तो लाग्यो? कथामा के के भयो ? कथामा के के भएको भए हुने थियो ? त्यो कथामा तिमी भएको भए के के हुन्थ्यो? यस्ता छलफलबाट बालबालिकाले आफ्ना अनुभव, भावना, संवेग, जिज्ञासा मनोभावनाहरू बताउँछन् ।

यस्तै छलफलहरूबाट बालबालिकाले पाएका अनुभवहरू, समस्या पहिचान पनि गर्न सकिन्छ र समस्या अनुरुप व्यवहार परिमार्जन गर्न,आवश्यक परेमा विज्ञको सहयोगमा उपचारात्मक पद्धति पनि अपनाउन सकिन्छ ।

युनिसेफ नेपाल

प्रतिक्रिया