आइतबार, वैशाख १६, २०८१

के चीनले जर्मन कार उद्योगलाई धक्का दिदैछ ?

नेपालखोज २०८० भदौ २० गते ९:२५
Photo-the newyork times

काठमाडाैं । जब कारको कुरा आउँछ, जर्मनीलाई कार उद्योगको पावरहाउस भनिन्छ। यद्यपि अहिले यो पावरहाउस आफै अन्धकारमा डुबेको छ । विश्वको लक्जरी कार बजारमा जर्मनीको प्रभुत्व रहदै आएको छ । मर्सिडीज, बीएमडब्लू, अडी र पोर्श जस्ता कार ब्रान्डको विश्वव्यापी धाक छ । यद्यपि अहिलेजर्मन एसोसिएसन अफ द अटोमोवायल इंडस्ट्री (वीडीए) का प्रमुख हिल्डेग्राड मुलरले गम्भीर चेतावनी दिइरहेका छन्।

उनले भनेका छन – ठूला सुधारहरू बिना जर्मनीले अटो हबका रूपमा आफ्नो पहिचान गुमाउनेछ । उनले यो कुरा जर्मन शहर म्युनिखमा एक मोबिलिटी शो अघि भनेका हुन । उनका अनुसार, जर्मन कार निर्माताहरू सम्भवतः मर्नेछैनन्, तर जर्मनीले अटोमोबाइल पावरहाउसका रूपमा आफ्नो पहिचान गुमाउनेछ।

जर्मन समाचार एजेन्सी डीपीएसँग कुरा गर्दै मुलरले यसका लागि अत्यधिक नियमहरूलाई दोष दिए। उनका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स जस्ता भविष्यका विषयमा कानुनी ढाँचा बन्न सकेको छैन । मुलर भन्छन् – जर्मनीले यसको लागत संरचनाका कारणले आफ्नो अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता द्रुत रूपमा गुमाउँदैछ ।

यदि हामीले अन्य देशहरूको कार उद्योगसँग तुलना गर्ने हो भने ऊर्जाको मूल्य जर्मनीमा सबैभन्दा उच्च छ। महँगो बिजुलीका कारण ब्याट्री र चिप उत्पादन गर्ने कम्पनीहरू जर्मनीमा लगानी गर्न इच्छुक छैनन्। जर्मनीको वाहन उद्योगले बिजुलीको बिलमा सब्सिडीको माग गरिरहेको छ तर जर्मन चान्सलर ओलाफ स्कोल्जको गठबन्धन सरकारमा यो अनुदानलाई लिएर विवाद छ।

अटो उद्योगको गढलाई चिनियाँ चुनौती

जर्मनीको सबैभन्दा ठूलो मोटर शो आईएए मोबिलिटीको मंगलबार चान्सलर स्कोल्ट्ज आफैले उद्घाटन गरे । यो शोले कार निर्माता, आपूर्तिकर्ता, प्राविधिक कम्पनी तथा राजनीतिज्ञहरूलाई एउटै छानामुनि ल्याएको छ । चिनियाँ कार कम्पनी बीवाईडी पनि पहिलो पटक आईएएमा सहभागी भएको छ । बीवाईडी ( BYD )अब संसारको सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता भएको छ। यो २०२३ मा नै कम्पनीले १८.६० लाख ई-कार बेचिसकेको छ ।

वोल्फगाङ इगर जसले युरोपेली कार निर्माता अल्फा रोमियो र अडीका लागि काम गरेका थिए अहिले बीवाईडीका डिजाइन प्रमुख छन् । आफ्नो नयाँ सेडान मार्फत बीवाईडी मर्सिडीज बेन्ज, अडि र बीएमडब्ल्यू संग प्रतिस्पर्धा गर्न चाहन्छ। बीवाईडीको बिक्री चाँडै जर्मनीमा पनि सुरु हुँदैछ। आईएएमा सबैभन्दा सस्तो बीवाईडी मोडेल डल्फिनको मूल्य २९,००० यूरो छ। जर्मनीको प्रमुख कार भाडामा लिने कम्पनी सिक्स्टले आगामी पाँच वर्षभित्र आफ्नो संकलनमा एक लाख बीवाईडी कार थप्न चाहन्छ।
एक लाख बीवाईडी कारको सम्झौता त्यो पनि चिनियाँ कम्पनीसँग, जर्मन कार उद्योगका लागि स्पष्ट रूपमा ठूलो धक्का हो। जर्मन कार निर्माताहरू अझै पनि किफायती, स्टाइलिश र प्रविधि मैत्री इलेक्ट्रिक कार बनाउन संघर्ष गरिरहेका छन्। यससँगै युरोपमा विद्युतीय कारको बढ्दो माग पूरा गर्न पर्याप्त चार्जिङ स्टेशन पनि निर्माण हुन सकेको छैन ।

डीपीए

प्रतिक्रिया