शनिबार, जेठ ५, २०८१

पाप र धर्म

सुनील सापकोटा २०८० भदौ २७ गते ५:२५

हिन्दु धर्म के हो ! भन्ने बारे विभिन्न दर्शन र विचारहरु देखिन्छन् । त्यता नजाउँ होला । हिन्दु वा जुनसुकै धर्म दर्शनको जति लामो व्याख्या गरेपनी मेरो विचारमा धर्म भनेको निष्कर्षमा मानवतावाद हो । सार्वभौम नैतिकता हो । धर्मको अर्थ पूजापाठ पद्धति मात्र होइन् । त्यो त पन्थ परम्परा हो । ईश्वरलाई मान्दा धार्मिक हुने, नमान्दा अधार्मिक हुने होईन ।

पश्चिमिहरुले ‘रिलिजन’लाई धर्म मान्दैनन् । उनीहरुको भनाइ अनुसार धर्म भनेको Righteousness, न्यायसंगतता, सदाचारिता हो । वर्णाश्रम ब्यवस्थालाई कसैले हिन्दु धर्मको रुपमा ब्याख्या पनि गरेको देखिन्छ । त्यो कुनै ‘धर्म’ होइन । सामाजिक व्यवस्था हो । मानव निर्मित हो । त्यसैले त्यो परिवर्तनशील हुन्छ ।

कुनैपनि धर्म मान्दा त्यस्ले मानवतावाद वा नैतिक बोध गराउदैन भने त्यो पाखण्डवाद हो । धर्म होइन् । नैतिक अवधारणाको सम्बन्धमा सनातन परम्परामा जीवनको लक्ष्य-निर्धारण बाट पनि अरु स्पष्ट भएको देखिन्छ। सनातन धर्म कुनै निवृत्तिमार्गी ( संन्यासमार्गी ) धर्म होइन । जीवनको विविधताहरु बीच एउटा सन्तुलनको खोज हो । यहाँ चार पुरुषार्थ (जीवनको लक्ष्य) धर्म, अर्थ, काम और मोक्ष बताइएको छ । धर्म प्रथम पुरुषार्थ हो, यो कुनै पूजा-पाठ या कर्मकाण्ड होइन ।

यो त्यही नैतिकता हो । जसमा अरुलाई दु:ख, पिडा नदिइकन हिंडने एक मार्ग हो । महाभारत पुस्तकमा दुर्योधनले श्रीकृष्णलाई मैले धर्मलाई बुझेको छु तर त्यसमा मेरो लगाव छैन । अधर्म के हो भन्ने पनि बुझेको छु तर मेरो हृदयमा विद्यमान कुनै दैवी शक्ति होला जसले मलाई यो सब कर्म गराउन लगाउछ भनेर भनेका छन् ।

गीतामा पनि अर्जुनले श्रीकृष्णको सामुन्ने यही समस्या उठाएका छन। हे ! कृष्ण मनुष्य कसको प्रभावमा छ । जसले गर्दा उसले नचाहदा नचाहदै पनि पाप कर्म गर्छ ?

श्रीकृष्ण — येस्को कारण रजोगुण बाट उत्पन्न काम र क्रोध हो । काम र क्रोध यो संसारमा सर्वभक्षी र महापापी शत्रु हो। त्यसलाई चिन । येस्को अर्थ यो लाग्दछ कि रजोगुण या तमोगुण बाट मुक्ती पाउने उपाय कृष्ण संग पनि रहेनछ ।

पाप र धर्म बुझेर पनि कर्ममा उतार्न नसक्नु नै मनुष्यको ठुलो समस्या हो । हिजोआज वैज्ञानिकहरु येसलाइ जींसको प्रभाव मान्दछन्। यो अनुसन्धान कति ठिक होला वा कति बेठिक होला ?

प्रतिक्रिया