शनिबार, फागुन १९, २०८०

व्यवस्थित पशु बधशालाप्रति महानगरको चासो

नेपालखोज २०८० भदौ २७ गते १६:०१

नारायणगढ । महानगरपालिकाभित्र व्यवस्थित पशु बधशाला निर्माणका लागि भरतपुर महानगरले चासो देखाएको छ । महानगरपालिकाभित्र रहेका पशु बधशाला व्यवस्थित नभइरहेको अवस्थामा बधशाला व्यवस्थित गर्न महानगरले तयारी थालेको हो ।

उपभोक्ताको गुनासो बढेसँगै महानगरले उपप्रमुख चित्रसेन अधिकारीको संयोजनमा सात सदस्यीय ‘पशु बधशाला व्यवस्थापन कार्यदल’ गठन गरेको छ ।

आर्थिक प्रशासन महाशाखा प्रमुखसहित पशु बधशाला रहेका वडाका वडाध्यक्षहरु सदस्य रहने गरी कार्यदल गठन गरिएको कार्यदलका संयोजक अधिकारीले जानकारी दिए ।

उनका अनुसार समितिले महानगरभित्र कति पशु बधशाला छन् र त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्नेछ । अध्ययनसँंगै व्यवस्थित पशु बधशाला निर्माणका लागि उचित स्थानमा जग्गाको व्यवस्थापन गर्ने उ्नले जानकारी दिए ।

बजार अनुगमन समितिको संयोजकसमेत रहेका अधिकारीले पशु बधशाला अनुगमनका क्रममा बधशाला र मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ अनुसार कुनै पनि बधशाला नरहेका बताए । उनले भने, ‘पशु अधिकार, क्वारेन्टिन र स्वास्थ्य परीक्षण नगरी पशु बध गर्ने गरेको पाइएको छ ।’

महानगरको घनाबस्ती र मुख्य बजारी क्षेत्रमा धेरै मात्रामा पशुको बध गरिँदै आइएको जनाउँदै उपप्रमुख अधिकारीले अनुगमनका क्रममा बधशालाको सरसफाइ र व्यवस्थापन राम्रो नभएको पाइएको जानकारी दिए ।

पशु बधशालाको स्थापना र सञ्चालनका लागि बध गर्न ल्याइएका पशुहरुको स्वास्थ्य परीक्षण गर्नु अघि र स्वास्थ्य परीक्षण गरी बध गर्न योग्य पशु राख्ने छुट्टाछुट्टै स्थानको व्यवस्था, बिरामी पशु राख्ने अलग्गै स्थान, बध गरेपछि रगत निथोर्ने, छाला काढ्ने, खुइल्याउने, मासु सफा गर्ने, आन्द्रा भुँडी तह लगाउने र सफा गर्ने छुट्टै स्थानको व्यवस्था भएको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

प्रतिक्रिया