शुक्रबार, जेठ ४, २०८१

मंगलटारको झोलुङ्गे पुल

सुनिल उलक २०८० भदौ २८ गते ७:५८

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका अन्तर्गत मंगलटारमा रोशी खोलामा बनेको आधुनिक झोलुङ्गे पुल पनि हार्पर एण्ड कम्पनीले वि.सं १९६० को दशकमा बनाएको सातवटा पुल मध्यको एक पुल हो ।

सडक यातायातले नजोडिएको बेला पूर्वी नेपालको लागि यहि मंगलटार भएर हिड्नु पर्दथ्यो । जसले गर्दा यो पुलको महत्व धेरै नै थियो । मंगलटार बजारबाट तेमाल गाउँ तर्फ जाने बाटोमा रोशी खोला माथि बनेको यो पुल वि.सं १९६६ मा बनेको हो ।

यो पुलको डिजाइन हार्पर एण्ड कम्पनीका मालिक लुइस हार्परले नै गरेका थिए । भने नेपाल तर्फका इञ्जिनियर ब्रिगेडियर कर्णेल कुमार नरसिंह राणाले यसको निर्माण गरेका थिए । यस निर्माण कार्यमा नेपाली सेनाका जवानहरु नै खटिएका थिए ।

निकै बलियो १३० फुट लामो तथा ४ फुट चौडाइको यो पुलको बिशेषता पनि अन्य हार्पर एण्ड कम्पनीको झै चारवटा गजुर नै हो । हार्पर कम्पनीले आफ्नो कम्पनीले बनाएको पुलहरुको पहिचानको लागी पनि यस किसिमको समान गजुर राख्ने गर्दथे ।

शुरुमा पुल बनाउँदा भुइमा हिड्नको लागि काठका फल्याकहरु ओछ्याइएको हुन्थ्यो । तर समयकालले ति काठका फल्याकहरु कुहिन थाले पछि मर्मतको क्रममा प्राय सबै पुलहरुमा काठको सत्ता स्टिलका राखिएको छ । यस पुलमा पनि शुरुमा बनाउँदाको काठको फल्याकको ठाउँमा स्टिलको ग्रिडहरु ओछ्याइएको छ ।

मंगलटारको पुलमा खोलाको दायाँबायाँ चारवटा जालीदार टावर बनाइएको छ । जसमा सवा इन्चको बलियो मोटा ग्याल्बनाइज्ड तारले बाँधिएको छ । केही धनुषाकार डिजाइनमा बिचको भाग केही उच्चा बनाइएको छ । लामो लट्किएको तारमा एक इन्च मोटा तारमा हिड्ने डेकलाई हरेक पाँच फुटको दुरीमा अल्झाइएको छ । यसको भार क्षमता पनि प्रति वर्ग फुट ७२.५ केजी रहेको छ ।

यो पुलको संरचना अझै पनि उस्तै छ । ??

प्रतिक्रिया