सोमबार, फागुन १४, २०८०

दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनको काम अन्तिम चरणमा

नेपालखोज २०८० भदौ २८ गते १९:५१

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवलबाट बर्दघाटसम्मको दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन क्षेत्रका रुख कटानको अनुमति पाएसँगै निर्माणको कामले गति लिएको छ । प्रसारण लाइनअन्तर्गत पर्ने रुख कटानको अनुमति पाएसँगै सुनवलबाट बर्दघाटसम्मको दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माणको कामले गति लिएको हो ।

यही भदौ ५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरबाट नवलपरासीको बर्दघाटसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्नुभएको थियो । सोही प्रसारण लाइनमा अहिले निर्माण भइरहेको विद्युत् प्रसारण लाइन बर्दघाट पुगेर जोडिने छ । यसअघि समयमै रुख कटानको अनुमति नआउँदा प्रसारण लाइन निर्माणका लागि म्याद थप गर्नुपरेको थियो ।

गत वर्षको भदौ १५ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि वन मन्त्रालयबाट रुख कटानको अनुमति नपाउँदा प्रसारण लाइनको काम सुरु हुन नसकेपछि आयोजना सम्पन्न गर्न एक वर्षको समय थपिएको आयोजना प्रमुख विश्वरञ्जन मिश्रले बताए ।

थपिएको म्यादअनुसार यही वर्षको पुस मसान्तसम्ममा काम सक्ने गरी पावर चाइना सेप्कोले रु ६० करोड लागतमा प्रसारण लाइन निर्माणको काम गरिरहेको छ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीमा यसअघि नै रु एक अर्ब ८० लाखको लागतमा न्यू बुटवल सबस्टेसन निर्माण भइसके पनि प्रसारण लाइनको काम पूरा नहुँदा दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन भरतपुरसम्म जोड्ने योजना अधुरो बनेको थियो ।

प्रतिक्रिया