आइतबार, जेठ ६, २०८१

बालबालिकालाई के सिकाउने ?

नेपालखोज २०८० भदौ ३० गते ७:४६

पूर्व प्राथमिक कक्षाको मूल उद्देश्य भनेको विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापको माध्यमद्वारा सम्पूर्ण बालबालिकाको सर्वाङ्गीण विकास गरी उनीहरूलाई विद्यालयकालागि तयार गराउने हो ।

के हो पूर्व प्राथमिक कक्षा ?

२०५८ सालको शिक्षा ऐनको सातौ संशोधन अनुसार एक वर्षे पूर्व प्राथमिक शिक्षालाई नेपाल सरकारले मान्यता दिएको देखिन्छ । २०७५ सालको अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी बनेको विधेयकमा चार वर्ष (४८ महिना) पूरा गरेका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको शिक्षालाई पूर्व प्राथमिक कक्षा अथवा प्रारम्भिक बालविकास तथा शिक्षा भनिएको छ ।

नेपाल सरकारबाट एक वर्षकालागि मात्र मान्यता दिइएतापनि बालबालिकाको प्रारम्भिक बालविकास तथा स्याहारसँग जोड्दै, समूदायको चाहना तथा माग अनुसार सामुदायिक विद्यालयमा दुई वर्ष र नीजि विद्यालयमा चार वर्षसम्म प्रारम्भिक बालविकास कार्यक्रम भित्र पूर्व प्राथमिक कक्षा सञ्चालन भइरहेको छ ।

२०६२मा स्वीक्रित प्रारम्भिक बालविकास दिग्दर्शन (पाठ्यक्रम)का अनुसार पूर्व प्राथमिक कक्षाको मूल उद्देश्य भनेको विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापको माध्यमद्वारा सम्पूर्ण बालबालिकाको सर्वाङ्गीण विकास गरी उनीहरूलाई विद्यालयकालागि तयार गराउने हो ।

पूर्व प्राथमिक कक्षाका बालबालिकालाई के सिकाउने ?
प्रारम्भिक बालविकास दिग्दर्शनमा बालबालिकालाई कक्षाकोठामा के र कसरी सिकाउने बारे लेखिएको हुनाले, बालबालिका घरमा नै रहेको हालको अवस्थामा प्रारम्भिक बाल सिकाइ तथा विकास मापदण्ड (२०६८) सहयोगी हुन्छ । यस मापदण्डको एउटा प्रमुख उद्देश्य, कलिला बालबालिकाको स्याहार तथा सिकाइमा संलग्न अभिभावकहरू, प्रारम्भिक बाल विकास सम्बन्धी विज्ञहरू तथा सबै समुदायका सदस्यहरूको बीचमा यी बालबालिकाबाट के कस्ता जायज अपेक्षा गर्न सकिन्छ र ती कसरी पूरा गर्न सकिन्छ भन्ने बारे साझा छलफलका लागि एउटा साधन बनाउनु पनि हो ।

मापदण्ड  निर्माणका लागि बालबालिकाप्रतिको राष्ट्रिय मूल्य–मान्यता निम्नानुसार तोकिएका छन्ः–

(क) बालबालिका स्वस्थ क्रियाशील तथा सम्वेगात्मक रूपमा सन्तुलित हुनुपर्दछ ।

(ख) जिम्मेवार, मायालु, फरक विचारको कदर र अरूलाई आदर गर्ने हुनु पर्दछ ।

(ग) आत्मविश्वासिलो, सीपयुक्त तथा आत्मनिर्भर हुनु पर्दछ ।

(घ) परिवर्तनलाई आत्मसात गर्ने वा परिवर्तित सन्दर्भमा मिलेर बस्न सक्ने हुनु पर्दछ ।

माथि उल्लेखित राष्ट्रिय मूल्य–मान्यताहरूलाई आधार बनाइ ५ वटा मुख्य क्षेत्रहरूलाई समेटेर मापदण्ड निर्माण गरिएको छ जसमा बालबालिकाको शारीरिक विकास, सामाजिक तथा सम्वेगात्मक विकास, बौद्धिक विकास, भाषिक विकास र साँस्कृतिक विकास पर्दछन् ।

युनिसेफ नेपाल

प्रतिक्रिया