सोमबार, फागुन १४, २०८०

इतिहासमा हराएको ११ दिन

सुनिल उलक २०८० भदौ ३० गते ८:४०

एक पटक क्यालेण्डरबाट एकैचोटी एघार दिन हरायो । मानिसहरू सन १७५२ को सेप्टेम्वर २ मा राती सुतेका थिए तर बिहान उठ्दा सेप्टेम्वर १४ तारिख भयो । सोमवार सुतेकाहरु बिहीवार बिहान उठे । धेरै मानिस आश्चर्यित भए तर त्यो बेला ब्रिटेनको सरकारले बिज्ञप्ती निकाल्यो । जस अनुसार निकै समय देखी विवादमा रहेको समस्यालाई सदाको लागी समाधान गरिएको थियो ।

हामी कहाँ पनि यो समस्या नभएको होइन । हाम्रो वि.सं. मा पनि सूर्यमासमा २४ दिन र चन्द्रमासमा ३० दिनको अन्तर भईसकेको छ । हाम्रो पात्रोबाट पनि कुनै एक महिना हटाउनु पर्ने भईसकेको छ । यसलाई ढिलाइ गर्नुहुदैन भन्ने धेरै ज्योतिषहरुको एकमत छ तर पनि केही ज्योतिषहरु यश प्रति सहमत छैनन् । कतै पण्डितले लेखिदिने चिना नै गलत त छैन । जसले गर्दा हाम्रा भाग्योदय भनिएका बेला बिपरित त भएको छैन ।

बिकास तर्फ लम्कनु पर्ने देश आपसी द्वन्दमा किन लाग्दैछ । हामी दशैको टीकाका साइत र भाइटीकाको साइतमा नै टीका थाप्न भागदौड गर्छौ । तर धेरैलाई यो जानकारी नै छैन, टीका त एक महिना अगाडि नै लगाउनु पर्थ्यो । बैशाख १ गते नयाँ वर्षको दिन, दिन र रात बराबर हुनुपर्थ्यो तर अचेल चैतको ७-८ गते तिर दिन र रात बरावर हुन्छ । यस्ता धेरै प्रश्नहरु छन्, जसको उत्तर ज्योतिष आफै दिन सक्दैनन् ।

नेपालमा बिक्रम सम्वत धेरै अगाडि देखि चलाउन थालिएको भए तापनि यसमा धेरै अप्ठयाराहरु थिए । चन्द्रमासको आधारमा शुरु गरिएको बिक्रम सम्वतमा चन्द्रमासका शुक्ल पक्षका दिनहरुलाई सुदि १ देखी १५ सम्म तथा कृष्ण पक्षका दिनहरुलाई वदि १ देखी १५ भनिन्थ्यो । जसले गर्दा साल करिव ३५४ दिनको हुने गर्दथ्यो । हरेक तिन वर्षमा बन्ने पुरुषोत्तम मासले गर्दा कर्मचारीलाई १३ महिनाको तलव दिनु पर्ने बाध्यता हुने गर्दथ्यो ।

चन्द्रशम्शेरले वि.सं. १९६१ मा देशभरिका प्रमुख ज्योतिषहरुको भेला गराएर सहज निर्णय गर्न लगाए । जसको फलस्वरुप ज्योतिषीय निर्णयलाई सर्वस्विकार्य बनाउदै बिक्रम सम्बतको नयाँ प्रारुप तैयार गराए । सूर्यचक्रलाई राशी अनुसार बिभाजन भएकै ज्योतिषीय पद्धति स्विकार्दै बाह्र राशिका बाह्र महिना विभाजन भए । कतिपय इतिहासकारले यहि तिथीलाई नै गते मानेर गलत मिती निर्धारण गर्दथे । त्यो भन्दा अगाडी नेपाल सम्वत तथा शक सम्वत पनि प्रयोग हुने गर्दथ्यो ।

ज्योतिषीय निर्णयका नयाँ प्रारुप अनुसार हरेक सालको पहिलो दिन बैशाख १ गते मेष राशीमा प्रबेश गर्ने दिनबाट गणना गर्ने गरि नववर्षको घोषणा गर्ने भयो भने महिनाका दिनहरु थपघट हुने गरि मिलाइयो । कार्तिक देखी फागुनसम्मका महिना २९ वा ३० दिन हुने । चैत र बैशाख ३० वा ३१ दिनका हुने । जेठ देखी भदौसम्मका महिना ३१ वा ३२ दिनका हुने र असोज ३० वा ३१ दिनको हुने गरि चन्द्र मासका अप्ठ्याराहरुलाई सहज बनाइयो ।

चन्द्रशम्शेरको समयमा बनाइएको बिक्रम सम्बत नै अध्यावधी चलिरहेको छ । केही ज्योतिषहरुले पर्व तथा समय सुधारका आधारमा २०६६ सालको चैत्र महिना हटाउने सुझाव सहित प्रतिवेदन सरकारलाई बुझाइए पनि सो कार्यान्वयन हुन सकेन ।

पर्व समय सुधार राष्ट्रिय समाज नेपालका अनुसार तेह्रौ शताब्दी देखि नै विक्रम सम्वतमा समय सुधार भएको छैन । जसले गर्दा हामी गतेले २६ दिन ढिला छौ । तिथिले एक महिना ढिलो भएका छौ ।

हामीले हजारौ वर्ष देखि सुधार गर्न नै सकेका छैनौ । तर इटालीका पोप ग्रेगरी तेह्रौले सन १५७७ मा जुलियस सिजरको समयबाट शुरु गरिएको जुलियन क्यालेण्डरमा सुधार गर्न खगोशशास्त्री क्रिस्टोफर क्लाविस तथा भौतिक विज्ञानी अलासियस लिलियसलाई जिम्मा दिइएको थियो । दिन महिना तथा वर्षमा भएको कमि कमजोरीलाई सुधार गर्न लगाइएको थियो । पाँच वर्ष लगाएर ति दुइले हिसावकिताव गरेर पोपलाई प्रस्ताव दिए ।

पोप ग्रेगरी तेह्रौले सो सुझाव कार्यान्वयन गर्दै सन १५८२ को फेब्रुवरी २४ मा नयाँ क्यालेण्डर बनाए । सो भन्दा अगाडी मार्च २५ मा मनाउँदै आएको नयाँ वर्षलाई सन १५८३ बाट जनवरी १ लाई नयाँ वर्ष मनाउने घोषणा गरे । साथै सो समयसम्म नमिलेको १० दिनलाई मिलाउन सन १५८२ को अक्टोवर महिनामा ४ अक्टोवरको भोलिपल्ट १५ अक्टोवर बनाएर मिलाए ।

यि दुइको सल्लाहबाट हरेक चार वर्षमा एक दिन फेब्रुवरी महिनामा थप हुने तथा वर्ष ३६५ दिनको हुने बनाइयो । साथै हरेक सय वर्षमा फेब्रुवरी २९ दिनको नभइ २८ दिनकै हुने पनि हिसाव गरियो । तर हरेक ४०० वर्षमा भने फेब्रुवरी २९ दिनकै रहने भयो । यसरी गणना गर्दा हरेक ३२०० वर्षमा अझै १ दिन बढी आउने भए पछि सन ३२०० को फेब्रुवरीलाई भने ३० दिनको बनाउनु पर्ने सुझाव पनि दिएका थिए । यसरी तैयार भएको नयाँ क्यालेण्डरलाई ग्रेगरियन क्यालेण्डर भन्न थालियो ।

तर यो क्याथोलिकहरुको निर्णय भन्दै सबै देशले एकसाथ स्विकार गरेनन् । प्रोटेस्टान्टहरुले आफ्नै किसिमले सुधारको प्रयास गरे । जसको फलस्वरुप बिभिन्न देशले आफ्नै किसिमले क्यालेण्डर सच्याउदै ग्रेगरियन क्यालेण्डरलाई स्विकार गरे । ब्रिटेन तथा यसका साम्राज्यहरुले १७५२ मा ११ दिन घटाएर ग्रेगरियन क्यालेण्डरलाई स्विकारेका थिए । तसर्थ सेप्टेम्बरको २ को भोलिपल्ट १४ तारिख भएको थियो ।

फ्रान्सले सोही वर्ष ९ डिसेम्वरको भोलिपल्ट २० डिसेम्वर बनायो । पोल्याण्डले सन १६१२ मा २२ अगष्टको भोलिपल्टलाई २ सेप्टेम्वर बनायो । डेनमार्क तथा नर्वेले सन १७०० मा फेब्रुवरी १८ को भोलिपल्ट मार्च १ बनायो । अमेरिकाले सन १८६७ को ७ अक्टोवरको दिउसो १२ बजे पछि १८ अक्टोवर बनायो । सोवियत संघले ग्रेगरियन क्यालेण्डरलाई स्विकार्दै सन १९१८ मा फेब्रुवरी १ को भोलिपल्ट फेब्रुवरी १४ तारिख बनाएको थियो ।

यसरी यूरोपियन तथा अमेरिकाले स्विकारेको ग्रेगरियन क्यालेण्डरलाई ब्रिटिस साम्राज्यमा नरहेको एशियाली मुलुकले पनि बिस्तारै स्विकारेको थियो । जापानले सन १८७३ मा स्विकारेको थियो भने कोरियाले १८९५ मा स्विकारेको थियो । चीनले सन १९१२ बाट स्विकार गरेको थियो ।

प्रतिक्रिया