बालबालिकाको सामाजिक तथा सम्वेगात्मक विकास

यस क्षेत्रले बालबालिकाहरूको सौहार्दपूर्ण तथा सकारात्मक सम्बन्ध बनाउने क्षमता जसले गर्दा उनीहरू घरपरिवार, विद्यालय र समुदायमा राम्ररी घुलमिल हुन सक्ने हुन्छन् । साथै यस क्षेत्रले बालबालिकाहरूको सम्वेगात्मक सन्तुलन कायम गरी सिकाई तथा ज्ञान हासिल गर्ने कार्यमा संलग्न हुने क्षमतालाई पनि समेट्दछ ।
सामाजिक तथा सम्वेगात्मक विकासमा हासिल गर्नु पर्ने मापदण्डहरूः
- परिचित साथी तथा वयस्कहरूसँग सौहाद्र्ध सम्बन्ध देखाउन सक्नेछन् ।
- अपरिचित वयस्कहरूसँग सौहाद्र्ध सम्बन्ध देखाउन सक्नेछन् ।
- आफ्नो परिचय दिन सक्छन् ।
- दैनिक क्रियाकलाप सम्बन्धी जिम्मेवारीहरू लिन सक्छन् ।
- सबै किसिमका सिकाई क्रियाकलापहरूमा भाग लिन्छन् ।
- व्यक्तिगत तथा सामुहिक कार्य गर्न स्वनिर्भर हुन सक्छन् ।
- घरका घरधन्दा र बाल विकास केन्द्रको क्रियाकलापमा संलग्न रहन्छन् ।
- समूहमा सामग्रीहरू लेनदेन गरि प्रयोग गर्ने र आफ्ना बिचार एक आपसमा बाँड्ने गर्छन् ।
- आफ्ना साथीहरू र वयस्कहरूसँग आवश्यकता अनुसार उचित व्यवहार गर्छन् ।
- परिचित र अपरिचित वातावरणमा घुलमिल हुन सक्छन् ।
- स्वयंको बारेमा सचेतना देखाउँछन् ।
- आफू र आफ्नो क्षमता प्रति गौरव देखाउँछन् ।
- अवस्था अनुसार विभिन्न संवेगहरू प्रकट गर्छन् ।
- अरूको भावना बुझेर सोही अनुसार प्रतिक्रिया जनाउने गर्दछन् ।
- विभिन्न अवस्थामा सुरक्षाको अनुभूति देखाउने गर्छन् ।
- नयाँ अनुभवहरू तथा नयाँ कुराहरू सिक्न आत्मविश्वास प्रदर्शन गर्ने गर्दछन् ।
- आफ्ना संवेगहरू सन्तुलित रूपमा प्रयोग गरेर देखाउन सक्दछन् ।
सामाजिक तथा सम्वेगात्मक विकासका सूचकहरू प्राप्त गराउनका लागि सुझाइएका केही क्रियाकलापहरूः
२.१ दैनिक रूपमा आफूभन्दा ठूलालाई अभिवादन गर्न प्रोत्साहित गर्ने र परिवारका अन्य सदस्यले पनि सोही अनुसार गरेर देखाउने ।
२.२ हालको अवस्थामा भौतिक दुरी कायम गर्दै, अन्य बालबालिकासँग अन्तरक्रिया गर्न र खेल्न प्रोत्साहित गर्ने ।
२.३ रमाइलो वातावरणमा रहेर आफ्नो भावनाहरू निर्धक्क प्रकट गर्न तथा आत्मविश्वासका साथ क्रियाकलापमा भाग लिन अवसर प्रदान गर्ने ।
२.४ आफ्नो पालो पर्खन लाइनमा बस्ने बानी बसाल्न प्रोत्साहित गर्ने ।
२.५ एकले अर्कालाई सहयोग गर्न, भेदभाव नगर्न प्रोत्साहित तुल्याउने खालको कथाहरू सुनाउने ।
२.६ घरायसी काममा उनीहरूको इच्छा र क्षमता अनुसार संलग्न हुन प्रोत्साहित गर्ने ।
युनिसेफ नेपाल

प्रतिक्रिया