सोमबार, वैशाख १५, २०८२

चथा: चख: या भिन्तुना

सुनिल उलक २०८० असोज १ गते ११:३३

नेवा:हरु बिशेष गरेर धेरै चाड मनाउने जाति हो । हरेक केही दिनमा एउटा चाड आउने गर्दछ । तर चाडलाई नेवारी भाषामा नख: भनिए पनि चाड दुइ प्रकारका हुन्छन् । बिशेष चाडहरुमा बिवाहित छोरीहरुलाई पनि बोलाएर मनाउने र परिवारका सदस्यहरु मात्र बसेर मनाउने । छोरी ज्वाइ सहित बोलाएर मनाउने चाडलाई नख: भनिन्छ । भने परिवारका सदस्यहरु मात्र बसेर मनाउने साधारण चाडलाई चख: भनिन्छ । चथा:लाई भने परिवारका सदस्य मात्रै बसेर मनाउने भएको हुँदा चख: भन्ने गरिन्छ ।

नेवा:हरू आफ्नो धर्म र संस्कृति प्रति बिशेष माया गर्ने हुन्छ । तसर्थ बिभिन्न नख: चख: मनाउने गर्दछ । वर्ष भरि नै केही न केही नख: चख: मनाइरहेकै हुन्छन् । नेवा:हरु निकै धार्मिक हुने गर्दछ । एउटा चाड नसकिदै अर्को चाडको तैयारीमा लाग्ने गर्दछन् । आज सोमवारको बिहानसम्म तृतिया भए पनि अहिले १०:२३ बजेबाट भाद्र शुक्ल चतुर्थी लागिसकेको छ ।

तसर्थ आजको रात नेवा:हरू चथा: पूजा गर्दछन् । चथा: पूजा दिनमा गरिदैन यो रातमा मात्र गरिन्छ । यो पूजा संगै दशै आउन लागेको सूचक पनि यसैलाई मानिन्छ । नेवा:हरूको मान्यता छ चथा:मा मौसम सफा भए दशैमा पनि मौसम सफा हुन्छ । चथा:मा पानी परेमा दशैमा पनि पानी पर्दछ । साथै जति रमाइलोसंग चथा: मनाइन्छ त्यति नै रमाइलोसंग दशै मान्न पाइन्छ भन्दै नेवा:हरू विशेष किसिमले पूजा गर्दै चथा: मनाउँछन् ।

हुन त आज तीज पनि मनाइरहेका छन् र आज नै तिथिले दिउँसोबाट गणेश चतुर्थी पनि परेको छ । हुन त नेवाःहरु सूर्योदयको समय जुन तिथि परेको छ त्यहि तिथिलाई नै दिनभर मान्ने गर्दछन् । तर चथाः पूजा रातमा गरिने हुँदा आजको रात चथाः पूजा गरेर मनाउने गर्दछन् ।

नेवा:हरु पनि यसै चौथीको दिन मनाइने भएको हुदा यस पर्वलाई चथाः भनिएको हो ।यस रात आगँद्य: (आगन देवता), दिगुद्य: (कूलदेवता) तथा चथा:द्य: (चन्द्रमा)को पूजा गरिन्छ । राती चन्द्रमाको पूजा गरिए पनि चन्द्रमालाई हेर्न हुदैन भन्ने मान्यता छ । यदि चथा:को रात चन्द्रमा हेरेमा चोरीको दोष लाग्न सक्दछ भन्ने गरिन्छ ।

स्वर्गका राजा ईन्द्र आफ्नो आमाको इच्छा अनुरूपको फूल खोज्दै काठमाडौ उपत्यका पुगेको र राती फूल चोर्न पुग्दा मालीले देखेपछि समातेर बाँधेर राखेको भन्ने मान्यता छ । रातमा इन्द्रले भोक लागेर खान माग्दा राम्ररी नभुटेको साह्रो मकै, भट्ट, केराउ, बकुला, फर्सीको बियाँ, आरुको बियाँ आदि खान दिएको भन्ने मान्यता छ ।

मिठो खान दिएमा फेरी फेरी चोर्न आएर दुख दिन सक्ने भनेर यसरी साह्रो खाने कुराहरु मात्र दिएको भन्ने जनविश्वास छ । यसैले चथा:पूजाको रात पनि यस्तै सामग्री राखेर पूजा गर्ने गरिन्छ । फूल खोज्न गएको देवराज इन्द्र रातभर नआए पछि बिहानैपख आमाले खोज्न आउँदा बाँधेर राखेको भेटेपछि आमाले क्षमा मागेर काठमाडौं उपत्यकामा बाली लाउने बेलामा पानी पारिदिने बचन लिएर छोडिदिएका थिए भनिन्छ ।

त्यसैले इन्द्रलाई खू: द्य:(चोर देवता) भन्ने गरिन्छ । साथै यस रात चोर इन्द्रले फूल चोरिरहँदा पनि चन्द्रमाले नदेखे झै गरेको हुँदा चोरीको दोष नलाग्ने भन्दै यस रात रातमा बारीमा फलफूल चोर्न जाने परम्परा पहिले पहिले थियो । तर अचेल छैन । साथै चोरले चोरी रहँदा समेत चुपचाप चन्द्रमाले हेरिरहेको हुँदा चन्द्रमालाई पनि हेर्दै नहेरी उल्टो पूजा गर्ने चलन छ ।

पूजाको लागी चथा:स्वा: (करवीरको फूल), मोहनीस्वा: (दशै फूल) तथा लक्ष्मीस्वा: (लक्ष्मी पूजामा चाहिने फूल) सहित रातको समयमा पूजा गरिन्छ । चथा:द्य: रातमा पूजा गरिने हुँदा खू:द्य: लाई पनि पूजा गरिन्छ । त्यसैले यस पर्वको एघारौ दिनमा ईन्द्रसंग क्षमा माग्दै येँया पून्ही (ईन्द्रजात्रा) मनाउने गर्दछन् ।

खू:द्य: (चोर देवता)को पूजा गरिने हुँदा राती कुकुर भुके पछि बल्ल पूजा आरम्भ गरिन्छ । कुकुरको भुकाइ चोर आएको संकेत हुने हुँदा यस किसिमको मान्यता रहदै आएको हो । चथा:द्य: मा खू:द्य: (चोर देवता अर्थात ईन्द्र)लाई पनि पूजा गरिने हुदा कुकुर भुकेपछि चोर (खू:द्य:) आएको संकेत मानेर पूजा थालिन्छ ।

दोश्रो यस पूजामा चोर देवतालाई पूजा गरिने र चोरलाई मिठो सामग्री चढाउँदा चोर पल्किन्छ भनेर यस पूजामा काँचो लब्सी, तर्रो नासपाती, काँचो अदुवा, हरियो खुर्सानी, आरूको बियाँ तथा राम्रोसंग नभुटेको मकै, भुटेको भटमास, भुटेको केराउ आदी चढाइन्छ । तितो, तर्रो, अमिलो खाएपछि दाँत कुँडिएर चपाउन अप्ठेरो हुने र भाग्ने विश्वास गरिन्छ ।

पूजा समाप्त भएपछि परिवारका सदस्य सबै जम्मा भएर समयवजी खाने गरिन्छ । यस दिन पूजा गरिने गणेश अन्य गणेश भन्दा भिन्न हुन्छ । सिंह माथी चढेको तथा एउटा मात्रै दाह्रा भएको गणेशलाई पूजा गर्ने चलन छ । नेवा:हरु शैव भएको हुँदा शिवसंग जोडिएका देवीदेवतालाई बिशेष पूजा गर्ने गर्दछन् । शिव, गणेश, कुमार आदिलाई बढी पूजा गरिन्छ भने पार्वतीलाई कम नै पूजा गर्ने गरिन्छ । नेवा:हरुले पूजा गर्ने गणेश मुषक वाहन गर्ने तथा लड्डु खाने हुदैन । नेवा:हरुले पूजा गर्ने गणेशमा बली चल्दछ ।

अधिकांश भारतीयहरुले पूजा गर्ने गणेश शाकाहारी हुने गर्दछ । जसमा बली चढाइदैन । लड्डु चढाउने गरिन्छ । साथै यि गणेशका मुर्तिहरुमा सुँड बायाँतर्फ घुम्रिएको हुन्छ । तर उपत्यकामा नेवाःहरुले पूजा गर्ने अधिकांश गणेशमा बली चल्दछ । तथा यि गणेशको सुँड दायाँतर्फ घुम्रिएको हुन्छ ।

प्रतिक्रिया