शनिबार, जेठ ५, २०८१

हाम्रा पुरातन चलनहरु

सुनील उलक २०८० असोज ३ गते ५:१४

काठमाडौं । हाम्रो बुबा बाजेहरुको पाला सम्म निकै अपत्यारिला चलनहरु थिए । केही चलन वा भनौ अन्धविश्वास अझै पनि छन् हाम्रा वरपर देखिन्छन् । किन यि चलनहरुको शुरुवात भए भन्ने कतिपयको कुनै आधार भेटिदैन ।

सिढीँ चढ्दा वा ओर्लदा बिन्हाबी भन्ने गरिन्छ । यो चलन अझै भेटिन्छ । यसको खास कारण साँगुरो ठाँउमा रहेको सिँढी चढ्दै गर्दा वा ओर्लदा आफू भन्दा तल कोही हुन सक्ने र उसको शिर माथीबाट हिड्नुपर्ने हुँदा बाटो छोडिदेउ भनिएको हो । एउटा मात्र खुट्टामा चप्पल वा जुत्ता लगाएर ६ पाइला भन्दा बढि हिड्न दिइदैनथ्यो ।

घाँटीमा हातले छोएमा फू गर्न लगाइन्थ्यो । नत्र गलगाँड आउँछ भनिन्थ्यो । सिँढीमा वा ढोकाको बिचमा उभिएर पानी खान हुन्न भनिन्थ्यो । ढोकाको भित्र र बाहिर बसेर केही पनि लिने वा दिने गर्न हुदैन भनिन्थ्यो । राती घर भित्र सिठी फूक्न दिइदैनथ्यो । अझ महिलाले त कहिल्यै सिठी फूक्न हुन्न भनिन्थ्यो ।

महिलाहरुले फर्सी काट्न हुन्न भनिन्थ्यो । राती कपाल कोरेमा वा ऐना हेरेमा बुढोसंग बिहे हुन्छ भनिन्थ्यो । सानी छोरीहरुले चामल धेरै खेलायो भने अनुहार भरि दाग भएको बुढा पर्छ भनिन्थ्यो । धेरै बेरसम्म रोइरह्यो भने धेरै टाढा बिहे हुन्छ भनिन्थ्यो ।

आइतवार बिबाहित महिलाहरुले नुहाउनु हुन्न भनिन्थ्यो । सोमवार नयाँ कपडा किन्नु हुन्न भनिन्थ्यो । मंगलवार माइत जानु हुन्न भनिन्थ्यो । बुधवार माईत सुत्न हुन्न भनिन्थ्यो । शनिवार फलामले बनेको सामान किन्न दिइदैनथ्यो । शनिवार पानी परेमा हप्ताभर पानी पर्छ भनिन्थ्यो । शनिवार महिलाले मास पिस्न हुदैन भनिन्थ्यो । दोमासे भन्दै महिनाको अन्तिम दिन कतै जान दिइदैनथ्यो ।

दोमासेको रात महिलाले माइत बास बस्न हुदैन भनिन्थ्यो । महिनाको एक गते कपडा धुन दिइदैनथ्यो । घरबाट कतै निस्कन लाग्दा खाली गाग्री भेटे साइत पर्दैन भनिन्थ्यो । त्यस्तै बिधवा महिला वा गर्भवती देखे पनि राम्रो हुन्न भनिन्थ्यो ।

हाच्छ्यू आए पनि जान दिइदैनथ्यो । नवौ दिन, नवौ महिना वा नवौ वर्षमा घरमा पस्न दिइदैनथ्यो । घरबाट दुइजना दुईतिर बासै बस्ने गरि गएमा तीनवास राम्रो हुन्न भन्दै घरको कुनै सामान बाहिर राख्न लगाइन्थ्यो ।

कपाल कोर्दा काँगियोमा अल्झेका रौंहरु फाल्नुपर्दा डल्लो बनाएर मुखले थु थु गरे मात्रै फेकिन्थ्यो । फुटेको ऐना हेर्न हुन्न भनिन्थ्यो । परेवाको टाउको खायो भने जहिले पनि टाउको हल्लिरहन्छ भनिन्थ्यो । घाम डुबे पछि कुचो लगाउन हुदैन भनिन्थ्यो । माघे संक्रान्तीको दिन महिलाले घरको खान हुदैन भनेर बिहानै माइत जाने गरिन्थ्यो ।

घरबाट टाढा कोही जान लागेमा सगुनका रुपमा खेँ स्वँग (नेवार परिवारमा) अथवा दहि (अन्य परिवारमा) दिइन्थ्यो । साथै ढोकाको दाँया बाँया दुइटा भरिएको पानीको कलश राखिन्थ्यो ।

ढाँड दुख्यो भने एकाबिहानै कसैले नदेख्ने गरि सिँढीमा गएर दुखेको ठाँउमा माड्नुपर्छ भनिन्थ्यो । ओठको छेउमा घाउ भयो भने भात खाए पछि जुठ्यान लिपेको माटो दलिदिन्थ्यो ।

गर्भवती हुँदा ग्रहण लागेमा शरिरको कुनै अङ्ग छुन हुदैन भनिन्थ्यो । यदि छोयो भने जन्मने बच्चाको शरिरमा कालो दाग बस्छ भनिन्थ्यो । गर्भवती महिलाको श्रीमानले गाइगोरु बाँधेको डाम्लो नाघ्न हुन्न भनिन्थ्यो । यदि नाघेमा सुत्केरी समयमा श्रीमतीलाइ निकै गाह्रो हुन्छ भनिन्थ्यो ।

बच्चालाई दुध खुवाउँदा आँखा लाग्छ भनेर छोपेर खुवाउने तथा दुष्ट आत्मा नलागोस भनेर माछा मार्ने जालो बच्चाको शरिरमा वा कपडामा बाँधिदिने गरिन्थ्यो । बच्चालाई लिएर कतै जानुपरेमा पैतालामा थुक लगाएर पैतालाको मैलाको टीका बच्चाको निधारमा लगाउने गरिन्थ्यो । बच्चाहरु प्रति आँखा नलागोस भनेर अनुहारमा कालो टीका लगाउने गरिन्थ्यो । साथै गर्भवति महिलालाई छुन दिइदैनथ्यो ।

लगातार दुइ बच्चाहरुको मृत्यु भएमा तेश्रो छोरा जन्मना साथ जुठ्यानमा राखिन्थ्यो । जुठोमा राखिएको बच्चालाई देवताले लग्दैन भन्ने मान्यता हुन्थ्यो । यस्ता बच्चाहरुको नाम पछि जुठे राखिन्थ्यो । तेश्रो छोरी जन्मे देवीसंग मित लगाईन्थ्यो ।

हुन त यस्ता कतिपय चलनहरु अचेल हराइसकेको छ कतिपय अझै पनि गरिन्छ । यहाँ राखिएको तस्विर २०२५ सालमा सुर्खेतमा खिचिएको हो । एक मगर महिला आफ्नो बच्चाको कसैको पनि नजर नलागोस भन्दै अनुहार भरि कालो टीका लगाइदिएको देख्न सकिन्छ ।

प्रतिक्रिया