शनिबार, फागुन १९, २०८०

बालबालिकाले कसरी सिक्छन्  ?

नेपालखोज २०८० असोज ८ गते १०:४८

बालबालिकाले विभिन्न कुराहरू अवलोकन गरेर, सुनेर, खोज तथा अनुसन्धान र प्रश्न गरेर सिक्छन् । यी सिकाइलाई बालबालिकाले निम्न प्रक्रियाबाट दिगो सिकाइका रूपमा परिणत गर्दै जान्छन्

प्रयास र गल्तीबाट (Trial and Error): बालबालिकाले प्रयास र गल्ती गर्दै सिकिरहेकका हुन्छन्, उनीहरूले गरेका गल्तीलाई गलत हो भन्ने बुझेपछि यसलाई सुधार गर्दै जान्छन् ।

अरू जान्ने व्यक्तिबाट (More Knowledgeable Others): बालबालिकाले आफूभन्दा जान्ने साथी वा वयस्कहरूसँग आफूले देखेका र गरेका कार्यबाट नयाँ अनुभव बटुल्दै सिक्ने गर्दछन् । 

समाजबाट (Social Learning): बालबालिकाले घरपरिवार र समाजको क्रियाकलापहरूलाई नक्कल गरेर आफ्नो दैनिक क्रियाकलापमा लागु गर्छन् ।

अभ्यास गरेर वा दोहोर्याएर (Conditioning): बालबालिकाले सिकेका सिपहरू दैनिक जीवनमा दोहोर्याएर, उनीहरू त्यसमा पोख्त हुन सिक्छन् ।


बहुल प्रतिभा (Multiple Intelligence) 
बालबालिकाको विभिन्न क्षमता हुने तथ्यलाई खोज गर्दै गार्डनरले (Howard Gardner 1983)  बहुल प्रतिभा सिद्धान्त प्रस्तुत गरेका छन् । यी सबै प्रतिभा विकास गर्ने क्षमता बालबालिकामा जन्मजात हुने गर्छ तर हुर्केको वातावरणअनुसार सबैमा सबै प्रतिभा पूर्ण रूपमा विकास हुँदैन । प्रारम्भिक उमेको अवसर, खेल, सिकाइ, खोज अनुसन्धान, अन्तरक्रियाबाट बालबालिकाको बहुल प्रतिभाको विकासमा प्रोत्साहन मिल्छ । गार्डनरकाअनुसार बालबालिकामा ९ किसिमको प्रतिभा हुन्छ । 
१. गणितीय क्षमता (Logical-mathematical intelligence): गणितमा सिपालु, समस्या समाधान गर्न सक्ने, वैज्ञानिक खोज गर्ने क्षमता
२. शाब्दिक क्षमता (Linguistic-verbal intelligence): विभिन्न प्रकारका शब्द लेखन र बोलीचालीमा प्रयोग गर्न सक्ने, भाषण रुचाउने, विभिन्न भाषा चाँडै सिक्न सक्ने क्षमता
३. अरूको भावना बुझ्ने (Interpersonal intelligence): अरूको भावना तथा विचार बुझ्ने, अरूसँग सजिलै अन्तरक्रिया गर्ने क्षमता
४. सचेतना क्षमता (Intrapersonal intelligence): आफ्ना भावनामा सचेत हुने क्षमता
५.साङ्गीतिक क्षमता (Musical intelligence): साङ्गीतिक ताल, ढाँचा सजिलै बुझ्न सक्ने क्षमता 
६. दृश्यात्मक क्षमता (Visual-spatial intelligence): चित्र हेरेर सिक्ने, चित्र बनाउने, विभिन्न ढाँचा सजिलै बुझ्न सक्ने क्षमता
७.शारीरिक क्षमता (Bodily-kinesthetic intelligence): शरीर चलाउन मन पर्ने, नृत्य गर्न मन पर्र्ने हेरेरभन्दा छोएर विभिन्न कुरा राम्ररी गर्न सक्ने क्षमता
८. प्रकृति प्रेमी (Naturalistic intelligence): प्रकृति अवलोकन गर्न रुचाउने, प्रकृतिबाट सिक्ने क्षमता 
९. अस्तित्ववादी क्षमता (Existential intelligence): हामी कहाँ थियौ, कसरी आयौँ, हाम्रो जिम्मेवारी के हो, आत्मा के हो जस्ता विषयका तर्क वितर्क, खोज अनुसन्धान गर्ने क्षमता  

सानै उमेरदेखि बालबालिकामा हुने बहुल प्रतिभाको पहिचान गरी यसका आधारमा बालबालिकालाई सिकाउने हो भने सिकाइ प्रभावकारी हुन्छ । बालबालिकामा भएका प्रतिभाको पनि विकास हुँदै जान्छ । Fleming and Mills (1992) काअनुसार विभिन्न बालबालिकाको सिक्न तरिका फरक फरक हुन्छ ।

दृष्यात्मक सिकारु (visual learner) चित्र, फोटो, वास्तविक वस्तुको अवलोकन गरेर सिक्ने 
श्रव्यात्मक सिकारु (auditory learner) सुन्न मन पराउने वा सुनेर छिटो सिक्ने 
पढ्न लेख्न रुचाउने सिकारु (reading and writing learner) पढाइलाई जोड दिने, पढेर लेखेर छिटो सिक्ने 
क्रियात्मक सिकारु (kinesthetic learner) छोएर, आफैँ अनुभव गरेर सिक्ने

हरेक बालबालिका फरक हुन्छन् । सबैले एउटै तरिकाबाट सिक्छन् भन्ने हुँदैन । त्यसैले बालबालिकाले सजिलै रूपमा सिक्ने तरिका अभिभावक तथा शिक्षकले आफ्नो अवलोकनबाट पत्ता लगाई बालबालिकालाई सिकाउँदा सिकाइ प्रभावकारी र दिगो हुन्छ ।  

प्रतिक्रिया