राजा त्रिभुवन र उनको प्रिय कान्छी रानी सरला मानन्धर

सुनिल उलक २०८० असोज १४ गते ८:०८

पुतली सडकका रैथाने मानन्धर परिवारमा जन्म भएका सरला, दरवारमा जागिर खाने पुगेका थिए । १९७५ सालमा जन्मेका सरला भर्खरै १६-१७ वर्षको हुँदा दरबार भित्र सुसारेका रूपमा दरबार भित्र पुगे । जुद्धशम्शेरको शासनकाल थियो त्यो बेला । जुद्धशम्शेरको एउटै ध्येय हुन्थ्यो त्यो बेला, राजा त्रिभुवनलाई सुरा सुन्दरी बिच भुलाउने र राजकाजमा बेवास्ता गराउने । यहीँ उद्देश्यले गर्दा राजा त्रिभुवनको सुसारेका रूपमा राम्रा राम्रा नानीहरूलाई दरबार भित्र सुसारेका रूपमा जागिरमा राखिन्थ्यो ।

यसरी राखिएका सुसारेहरूमा सरला राजा त्रिभुवनका प्रिय हुन पुगे । उनका लागि नारायणहिटी दरवारको उत्तर पूर्वमा रहेको पुरानो श्री ३ रण द्वीपको दरबारको बचेको केही भागलाई नै बम्बई चोक दरबार भनिने गर्दछ, त्यही दरवारमा नै रहने व्यवस्था मिलाइएको थियो । जहाँ वि.सं. १९४२ मा श्री ३ रण द्वीपको हत्या सहोदर भतिजाहरूले गरेका थिए । नाम बम्बइ चोक दरबार रहे पनि दरबार जस्तो भव्य थिएन । दोस्रो यस दरबार भित्र केवल सानु रानी साहेब (सरला नानी)लाई मात्र राखिएको थिएन । त्यहाँ अन्य सुसारेहरू पनि थिए, जोसङ राजा त्रिभुवनको हिमचिम अलि बढी हुने गर्दथ्यो ।

पछि राजा त्रिभुवनले सरला नानीलाई रानी साहेबको दर्जा पनि दिइयो । २००७ सालको कार्तिकमा राजा त्रिभुवन अन्य परिवारका सदस्यहरू सहित दिल्ली प्रवासमा जाँदा रानी सरला पनि साथमा दिल्ली पुगेका थिए । यसर्थ पनि उनको मान्यता राजपरिवारको सदस्य सरह रहेको अनुमान गर्न सकिन्छ । २०११ सालमा राजा त्रिभुवनको उपचारका लागि स्विटजरल्याण्ड जाने बेलामा पनि रानी सरला साथमा थिए । यसर्थ पनि उनी राजा त्रिभुवनका प्रिय थिए भन्ने बुझ्न सकिन्छ । राजा त्रिभुवनको देहावसान पछि पत्नी सरह नै काजक्रिया गरेका थिएँ ।

राजा महेन्द्र तथा राजा वीरेन्द्रको कार्यकाल भरि रानी सरला गुमनाम नै हराए । दरबार भित्रका कुरा खासै बाहिर जानकारी नै ल्याइँदैनथ्यो । रानी सरला पनि बम्बई दरबार भित्रको चार घेरा भित्र नै कैद झैँ रहन बाध्य भए । २०५८ जेठ १९ मा राजदरबार हत्याकाण्डले राजा वीरेन्द्र र रानी ऐश्वर्य सहित दश जनाको हत्या पछि दरबार भित्र बाँचेकाहरूको सूचीमा रानी सरलाको नाम पनि आयो । सानु रानी साहेब सरलादेवी शाहका रूपमा उनको नाम सूचीमा परेको थियो ।

समयसँगै राजतन्त्र समाप्त भयो । देशमा रहेका राजा ज्ञानेन्द्र नै पदविहीन बन्न पुगे । बिस्तारै गणतन्त्रले राजालाई नारायणहिटी दरबार छोड्न बाध्य बनायो । यसै बेला राजा ज्ञानेन्द्रले दरबार भित्र मुमा रत्न र हजुरआमा रानी सरलादेवी शाहका लागि नेपाल सरकारले दरबार भित्र नै बस्ने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । यसरी फेरी एक पटक रानी सरलादेवीको चर्चा भयो ।

अन्तमा नेपाल सरकारले रानी रत्नलाई वहाँ बस्दै आएको महेन्द्र मञ्जिलमा तथा रानी सरलादेवीलाई बम्बई दरवारमा मृत्युपर्यन्त बस्ने व्यवस्था मिलाइयो । यसरी बम्बई दरवारमा बस्दै आउनु भएका रानी सरलादेवी शाहको २०६६ फागुन ९ गते अपराह्न ४ बने ९१ वर्षको उमेरमा देहान्त भयो । दरबार भित्र गुमनाम रहेका रानी सरलादेवीको देहावसान पछि आर्यघाटमा उनका केही माइती तर्फका केही आफन्त तथा दरवारमा मृत्युपर्यन्त सेवा गरिरहेका नानी, बज्यै, द्वारे, डोलेका रूपमा रहेका कर्मचारीहरू सहित ब्राह्मणद्वारा अत्येष्टी कृपा गरिएको थियो । त्यहाँ राजपरिवारका कुनै पनि सदस्यहरूको उपस्थिति थिएन ।

प्रतिक्रिया