सोल्टी होटलमा रहेको नेपाल एयरलाइन्सको सेयर बेचेर नयाँ जहाज किन्न सिफारिस

नेपालखोज २०८० असोज १४ गते १८:०४

काठमाडौं । नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको छ ।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको पाँच सदस्यीस समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनले स्रोतको जोहो गर्न सोल्टी होटलमा रहेको सेयर बिक्री गरेर जहाज किन्न सिफारिस गरेको हो ।

नेपाल एयरलाइन्सको सोल्टी होटल लिमिटेडमा १ करोड ३ लाख ३३ हजार ६९९ कित्ता सेयर रहेको छ । १९ भदौसम्म यो कम्पनीको सेयरको मूल्य प्रतिकित्ता ४४३ रुपैयाँ रहेको र निगमको सेयर बेच्दा ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ रुपैयाँ पुग्ने देखिन्छ । यो बिक्री गरी प्राप्त हुने रकमबाट नयाँ जहाज खरीदमा उपयोग गर्न सकिने सिफारिस समितिले गरेको छ ।

अर्कोतर्फ निगमले बजारबाट २ अर्ब १९ करोड रुपैयाँ उठाउनु पर्ने अवस्थामा देखिएको समेत समितिले जनाएको छ । सो रकम नउठ्दा यसको प्रत्यक्ष प्रतिकूल असर नगद प्रवाहमा परेको भन्दै समितिले यो रकम उठेमा समेत नयाँ जहाज किन्नमा प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।

निगम वर्तमान अवस्थामा पूँजीको अभाव, ऋण र जहाज अभावको चर्को दबाबमा रहेको भन्दै सरकारको पूर्ण स्वामित्वमा रहेका कारण सरकारले आवश्यक पूँजी थप गरी आवश्यक मात्रामा जहाज किन्न समेत समितिले भनेको छ । निगमसँग अहिले ४८ अर्ब ३ करोड ऋण रहेको छ ।

प्रतिक्रिया