सुदूरपश्चिमका एमाले नेताहरुको ध्यान प्रतिनिधि चयनमा

धनगढी । असोज २१ र २२ गते धनगढीमा हुने नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि सोमबार सबै निर्वाचन क्षेत्र र स्थानीय तहमा प्रतिनिधि छनोट हुँदैछन् ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकका अनुसार ३२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र र ८८ स्थानीय तहबाट ६ सय भन्दा बढी प्रतिनिधि चयन हुनेछन् ।
स्थानीय तहमा एक सय जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्ने व्यवस्था मिलाइएको छ । जसमा ३३ प्रतिशत महिला र १० प्रतिशत युवाको प्रतिनिधित्व अनिवार्य गरिएको छ भने सम्बन्धित भूगोलमै बसोबास गर्ने व्यक्तिलाई प्राथमिकता दिइनेछ ।
प्रदेश निर्वाचन क्षेत्रबाट भने दलित प्रतिनिधि चयन गर्ने व्यवस्था मिलाइएको छ । प्रदेश सचिव पाठकले ७५ जना पार्टी सदस्य बराबर एक जना दलित प्रतिनिधि छनोट गर्ने व्यवस्था छ । मजदुर इलाका कमिटीबाट भने ५० सदस्य बराबर एक जना प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधि चयनका लागि एमालेले सबै पालिका र निर्वाचन क्षेत्रमा सहजकर्ता परिचालन गरिसकेको छ ।
प्रतिक्रिया