शुक्रबार, वैशाख २१, २०८१

गान्धी र समाजवाद

डा‍. राममनोहर लोहिया २०८० असोज १५ गते १६:३७

काठमाडौं । गान्धीजी झन्डै ५० वर्षसम्म सार्वजनिक जीवनमा सक्रिय रहनुभयो । यस सुदीर्घ कालावधिमा उहाँले अनेकौं पटक परस्पर विरोधी कुराहरू गर्नुभयो । गान्धीको विचारधाराको अध्ययन गर्न चाहने मानिसले यी अन्तरविरोधहरूका तर्फ बिलकुल प्रारम्भमै ध्यान दिनु आवश्यक छ ।

बृटिश राजबाट नै कुराको थालनी गरौं । आफ्नो राजनीतिक जीवनको थालनीमा गान्धी बृटिश शासन प्रणालीको ठूलो भक्त हुनुहुन्थ्यो । खास गरेर बेलायतको कानुन तथा इन्साफको व्यवस्थामा उहाँलाई बलियो विश्वास थियो । तर, अनुभवका साथ उहाँको धारणा बदलिंदै गयो । पछि गएर उहाँले बृटिश शासनलाई एउटा राक्षसी व्यवस्था भन्ने संज्ञा दिनुभयो । वर्ण–व्यवस्थाको बारे पनि उहाँको धारणा यसरी नै फेरियो । प्रारम्भमा उहाँ वर्ण–व्यवस्थालाई हिन्दु समाजको अभिन्न अङ्गका रूपमा लिनु हुन्थ्यो । उहाँका निमित्त वर्ण–व्यवस्था हिन्दु समाजको धर्मसम्मत रूप थियो ।

पछि गएर उहाँ वर्ण–व्यवस्थाको उग्र विरोधी हुनुभयो । वर्ण–व्यवस्था ठूलो पाप हो भन्ने उहाँको वक्तव्य छ । निजी सम्पत्तिबारे पनि उहाँको स्थिति यस्तै छ । पहिले उहाँ निजी सम्पत्तिको पवित्रतामा विश्वास राख्नुहुन्थ्यो । तर, उमेर ढल्कँदै जाँदा यस प्रश्नमा समेत उहाँ झन्–झन् क्रान्तिकारी हुनुभएको देखिन्छ । अन्ततः उहाँले निजी सम्पत्तिको समाप्तिको माग गर्नुभयो । अझ त्यसमा पनि निजी सम्पत्तिका मालिकलाई क्षतिपूर्ति दिने कुनै जरुरत छैन भन्ने उहाँको धारणा बनेको थियो ।

यस्ता अन्तरविरोधहरू सबैका सामु स्पष्ट छन् । मानिसले गान्धीको विचारको कुरा गर्दा उहाँको अन्तरविरोधलाई कोट्याउन सक्छन् । कसैले एउटा पक्ष पक्रला । अर्कोले अर्को पक्ष समाउला । यस परिस्थितिमा गान्धीको विचारधाराको परिभाषा र प्रस्तुतीकरण आज चाहिएको छ । हामीले गान्धीलाई उनको अन्तरविरोध तथा सामयिक वक्तव्यको ओइरोबाट माथि उठेर हेर्न सक्नु परेको छ । कुनै विचार–पद्धतिको विकास यसरी नै हुन्छ । बुद्ध र ईसाको कथनमा अझ गान्धीभन्दा ज्यादा अस्पष्टता र अन्तरविरोध भेटिन्छन् । तर, उनीहरूको विचारधाराको परिभाषा तथा विकास त्यसबाट रोकिएको छैन । गान्धी बुद्ध र ईसाभन्दा ज्यादा स्पष्ट र मूर्त छन् । गान्धीभन्दा माक्र्स ज्यादा ठोस छन् । तर, कार्ल माक्र्सको विचारधाराका बारे पनि अनेक विवाद छ । माक्र्सले स्वयं आफै बडो जतन र परिश्रमका साथ आफ्ना विचारहरू हामीलाई लिखित रूपमा दिएका छन् । तर, लिखित तथा प्रमाणित दस्ताबेज हुँदैमा विवाद नटुङ्गिने रहेछ । महापुरुषहरूको नियति नै शायद विवाद हो । यो सोचेर पनि हामीले गान्धीका बारे निरास नभए हुन्छ गान्धीले पनि लेख तथा दस्ताबेज मनग्य छोड्नुभएको छ । गान्धीको ‘हिन्दु स्वराज्य’ भन्ने रचना विशेष उल्लेखनीय छ । दुर्भाग्यवश गान्धीका अनुयायी तथा अध्येताहरूको यस पुस्तिकातर्फ ध्यान गएको पाइन्न । त्यो पुस्तिकाले गान्धीको विचार प्रणालीको यावत् पक्षको प्रतिनिधित्व गर्दछ । तर, लेख र पुस्तिकाका माध्यमबाट शायद गान्धीलाई बुझ्न सकिन्न । गान्धीको जीवन र व्यक्तित्व यस्तै छ । एक त उहाँले योजनाबद्ध र सुसंगत रूपमा केही लेख्नुभएन । दोस्रो जो लेख्नुभयो, त्यो पनि नगण्य छ । उहाँको जीवनका उदाहरणहरू ज्यादा महत्वपूर्ण छन् । मुख्यतः त्यस्ता उदाहरणहरूको सन्दर्भमा गान्धीको जीवनको अर्थ र उद्देश्यको खोजी गर्नु परेको छ । त्यो अर्थ र उद्देश्य उहाँको लेखन वा भाषणमा पाइँदैन भन्ने मेरो दृढ विचार छ । यसैले जहाँसम्म हुन सक्छ गान्धीजीका नाममा हतारिएर कुनै वादको निर्माण नहोस् भन्ने म चाहन्छु ।

महात्मा गान्धीलाई आजको संसारमा जानिएको, चिनिएको विचार–प्रणालीहरूका सन्दर्भमा हेर्न आवश्यक छ । यस समय संसारमा तीन प्रमुख विचार–प्रणाली आपसमा प्रतिस्पर्धा गरिरहेका छन् । अझ त्यसमा पनि दुईवटा विचार–प्रणाली विशेष शक्तिशाली छन् । साम्यवाद र पुँजीवाद यस्ता दुई शक्तिशाली विचार प्रणाली हुन् । करिब–करिब आजको यो सम्पूर्ण संसार यी दुई विचार–प्रणालीको दबदवामा बाँचिरहेको छ । दुवै विचार–प्रणालीले आफ्ना तर्कशास्त्र, इतिहास, दर्शन, अर्थशास्त्र र राजनीतिको स्वरूप संसारलाई देखाइसकेका छन् । यस दृष्टिले तेस्रो विचारधारा अर्थात् लोकतान्त्रिक समाजवाद अझै अपूर्ण र विकासशील छ । त्यसैले यो तुलनात्मक रूपले उन्मुक्त र खुला पनि छ । कुनै पनि अपूर्ण तथा उन्मुक्त विचारधाराका आफ्नै विशेषता हुन्छन् । यसको कमजोरीबाट नै यसको शक्ति उत्पन्न हुन सक्छ । परिपक्व विचारधाराहरूमा नयाँ कुराको समावेश हत्तपत्त हुँदैन । तर, नयाँ विचारधाराले नयाँ कुरालाई सजिलै अङ्गीकार गर्दछ । गान्धी २० औं शताब्दीका एउटा अदभूत अनुभव हुन् । पुँजीवाद र साम्यवादले गान्धीलाई बुझलान् जस्तो मलाई लाग्दैन । पुँजीवाद र साम्यवादका निश्चित् तथा अकाट्य मान्यताहरूको स्थापना भइसकेको देखिन्छ । उनीहरूले गान्धीलाई आत्मसात गर्न गाह्रो छ । तर, समाजवाद र गान्धीका बीच सम्बन्ध र संवाद सम्भव छ । सम्भव मात्र होइन आवश्यक छ । गान्धीजीका नाममा नयाँ वाद बनाउन म आवश्यक देख्दिन । तर, समाजवादले गान्धीको व्यक्तित्व र विचारधारालाई राम्ररी अध्ययनं गरेर त्यसको सृजनात्मक पक्षको विचार गर्नु आवश्यक छ । पुँजीवादी र साम्यवादीहरूले पनि गान्धीको अध्ययन गर्नु बेश कुरो हुनेछ । यिनीहरूले गान्धीबाट शिक्षा र प्रेरणा लिँदा कसलाई आपक्ति होला र ? तर, एउटा परिपक्व विचारधाराका आफ्नै सीमा हुन्छन् । यसैले गान्धी र साम्यवाद वा पुँजीवादका बीच सार्थक संवाद होला जस्तो मलाई लाग्दैन । मेरो विचारमा गान्धी र समाजवादको संवाद ज्यादा सहज हुनेछ । गान्धीको जीवनको अर्थ बुझेको समाजवादले तेस्रो विश्वका गरिब मुलुकहरूमा विशाल आन्दोलन खडा गर्न सक्नेछ । परिश्चमी युरोपमा जन्म लिएको माक्र्सवादलाई यता जरा गाड्न निक्कै अप्ठ्यारो परिराखेको छ । गान्धीसित यस अप्ठ्यारोको उत्तर छ ।

हामीले वा हाम्रो पुस्ताले गान्धीलाई नजिकबाट हेर्ने, जान्ने सौभाग्य पायौं । यो सौभाग्यको चरित्रका बारे प्रसिद्ध वैज्ञानिक अल्वर्ट आइन्सटाइनले भनेका थिए– ‘भविष्यका सन्ततिले गान्धीका बारेमा भएको कुरा सुन्दा पनि पत्याउन गाह्रो मान्नेछन् । हाड र मासुले बनेको यस्तो मान्छे कहाँ हुनसक्छ ? भन्ने छन् ।’ तर, यो जानेर पनि मलाई अहिले खुब आश्चर्य लाग्छ । गान्धीका समीप विश्वका विभिन्न कुनाबाट मानिस आउँथे । विभिन्नथरिका मानिस आउँथे । मानिसहरू आफ्ना विभिन्न समस्याहरू लिएर गान्धीनिर आउँथे । यी समस्या राजनैतिक हुँदैनथे खासगरी सरकार, कानुन र राजनीतिसँग गान्धीका अधिकांश प्रशंसकहरूको सरोकार कम रहन्थ्यो । तर, फेरि दुःख–दैन्य, अत्याचार र वेदनासँग ती सबै मुछिएका हुन्थे । विश्वका विभिन्न कुनाका मानिसहरू दुःखी छन् । दुःख अनेकौं किसिमका छन् । त्यस्ता सबै दुःखीहरू गान्धीनिर आउँथे । म अहिले त्यो सब कुरामा सविस्तार जान चाहन्न गान्धीबाट सान्त्वना र प्रेम पाएका यस्ता दुःखीहरूको कथा आज हिन्दुस्थानबाहिर पनि पेरिस, बर्लिन र न्युयोर्कमा सुन्न सकिन्छ । मस्कोका बारेमा म यसै भन्न सक्तिन । तर, मस्कोका ट्याक्सीवाला वा श्रमिकहरू पनि गान्धीप्रति उदासीन होलान् भन्ने मलाई लाग्दैन । यो सब हुनुको कारण सहानुभूति, स्नेह र संवेदनाले भरिपूर्ण उहाँको व्यक्तित्व हो ।

बीसौं शताब्दीमा एकसाथ अनेक अन्तर्विरोध चर्किएको छ । यस शताब्दीमा एकातिर मानिसको क्रान्तिचेतना उकासिएको छ । अर्कोतिर पाशविक अत्याचार पनि देखिएको छ । मानिस पशुत्व र बर्बरतासित लड्दै छन् । यस लडाइँमा अनेकौं मानिसले अद्वितीय वीरता देखाएका छन् । तर, एउटा इकाइको रूपमा व्यक्ति झन् खण्डित र असहाय भएको छ । अर्कोतिर संगठन भने झन् बलियो व्यापक भएको छ । मानिस जीवन्त अर्थमा समाजको अङ्ग छैन । पाश्चात्य सभ्यता र पुँजीवादले उसलाई वस्तु बनाइसकेको छ तर, यस्तो मानिसले पनि अत्याचारको अनुभूति गर्दछ । उसको विद्रोहको भावना मर्दैन । तर, राज्य र आर्थिक जीवनको विशालकाय संगठनका सामु ऊ निरुपाय र हतास रहन्छ । युरोपमा खास गरेर यस्तो दृश्य खुब देखिन्छ । युरोपका मानिसमा विद्रोहको भावना मरेको छैन । तर, युरोपको साधारण मानिस हामीभन्दा पनि असहाय र निरुपाय छ । राज्यका अगाडि उसको केही लाग्दैन । राज्यबाहेक पनि त्यहाँ अरू विशाल कम्पनी र कर्पोरेशन छन् । व्यक्ति त्यस्ता कम्पनी र कर्पोरेशनका सामु सर्वथा असहाय छ । समूहमा सबै युरोपवासी बडो बहादुर हुन्छन् तर, व्यक्तिका रूपमा युरोपवासी मुसाभन्दा कायर तथा दयनीय हुन्छन् । सधै दुलो खोज्छन् मुसाभै, आत्म सुरक्षाका लागि त्रसत हुन्छन् ।

हिटलरको जमानाको जर्मनीलाई सम्झनुहोस् । हिटलरको उत्थानको समयमा त्यस देशमा असंख्य सोसलिष्ट कम्युनिष्टहरू थिए । तर, कस्तो दुर्दशा भयो उनीहरूको । सोसलिष्ट र कम्युनिष्टहरू बहादुर वा विचारवान थिएनन् भन्ने होइन । तर, मौकामा सब मुसा भए । हिटलरको दमन र आतंकका सामु सबै नै पूर्णतः परास्त भए, किन ? यो ठूलो प्रश्न छ । किन समाजवादी नेताहरू हिटलरका विरोधमा आत्मविश्वासका साथ अगाडि आउन सकेनन् ? मलाई लाग्दछ, संस्कार नै यस्तै छ । संस्कारले नै एक्कासि युरोपवासीलाई बहादुर हुनबाट रोक्छ । हुल वा समूहमा युरोपवासी बडो आँटी तथा उत्साही देखिन्छन् । तर, उसलाई एक्लै समाउनुहोस् ऊ परास्त हुन्छ । उसले कुनै प्रतिरोध गर्दैन । गान्धीले भने समस्त मानवलाई एक्लै भए पनि अन्यायको प्रतिरोध गर्ने बाटो देखाउनुभयो । यो गान्धीको सबभन्दा महत्वपूर्ण विशेषता हो ।

गान्धीका अनेक विशेषताहरू थिए । सबै महान् सन्तहरूमा त्यस्ता विशेषताहरू हुन्छन् । पुत्रशोक वा पत्नीवियोगले पीडित प्राणीहरूले गान्धीका सामीप्य सान्त्वना पाएको मलाई सम्झना छ । तर, ती कुराको ठीक–ठीक महत्व के छ ? म यसै भन्न सक्तिन । गान्धीले नितान्त एक्लै भए पनि अन्यायसित लड्नु पर्छ भन्नुभयो । त्यो कुरा हाम्रा निमित्त ज्यादा प्रासंगिक तथा सारवान छ । पश्चिमका मानिसले पनि गान्धीमा यही कुरा देखेका छन् जस्तो मलाई लाग्दछ । भीडमा सबै मानिस बहादुर हुन्छ । बन्दुक बोकेको मानिसले पनि बहादुरी देखाउन सक्छ । तर, एक त तपाईंसित कुनै हतियार छैन । यस्ता बेलामा संगठित समूह वा संस्थाले वा राज्यले तंपाईंलाई आक्रमण गर्दछ । यस्ता घडीमा साच्चै नै मनुष्यको मनुष्यताको परीक्षा हुन्छ । हिटलरको जर्मनीमा यस्तो घडी आयो । त्यहाँका सोसलिष्ट र कम्युनिष्टहरूले मनुष्यताको प्रदर्शन गर्न सकेनन् । उनीहरू मुसा भए । गान्धीका सच्चा अनुयायीहरूले यस्तो व्यवहार गर्दैनन् । गान्धीले व्यक्तिलाई सत्याग्रहको एउटा अद्भुत हतियार प्रदान गर्नुभएको छ । गान्धीको ‘सत्याग्रह’को धारणा यस दृष्टिले उहाँको सबैभन्दा ठूलो योगदान हो ।

सत्याग्रहलाई ‘सविनय अवज्ञा’ पनि भनिन्छ । हरेक परस्थितिमा सत्याग्रही विनयशील हुन्छ । त्यसैले सविनय शब्द यहाँ जोडियो । तर, सत्याग्रहीले अन्यायीलाई टेर्दैन । त्यसैले अवज्ञा भनियो । यी दुई शब्दले सत्याग्रहको कार्यविधि बताउँछन् । गान्धीले यी दुई कार्यविधिको अनुकरण गरेर अन्यायको विरोध गर्न सिकाउनुभयो । गान्धीले कायरता र अत्याचारलाई अन्योन्याश्रित भन्नुभयो । जहाँ कायर रहन्छन्, त्यहाँ अत्याचारी चम्किन्छन्् । गान्धी हिंसाको विरोधमा हुनुहुन्थ्यो । तर, कायरता र हिंसा रोज्नै पर्ने हो भने म हिंसा राज्नेछु भन्ने गान्धीको कथन बडो स्पष्ट छ । यसैले साहस तथा आत्मशक्ति प्रत्येक सत्याग्रहीको पहिलो चारित्रिक गुण हो ।

सत्याग्रहले कानुन तोड्छ । उसले आफ्नो विवेकले गलत ठहरÞ्याएको कानुनलाई मान्दैन । त्यस्ता कानुनको अवज्ञा गरेर जेल जान्छ । जेलबाहेक पनि अरू दण्ड हुन सक्छन् । आफ्नो आस्था र मान्यताका निमित्त सत्याग्रहीले यस्ता सबै दण्डको स्वागत गर्दछ । यस्ता दण्डहरूको सर्वोच्च रूप मृत्यु हो । साँच्चो सत्याग्रहीले मृत्युसमेतलाई स्वीकार गर्नुपर्दछ । मृत्यु कुनै प्रिय तथा सुन्दर कुरा होइन । मृत्युका माध्यमबाट समाजको परवर्तन गर्न खोज्नु कुनै आकर्षक सिद्धान्त होइन । तर, कतिपटक मृत्यु गौरवपूर्ण हुन सक्छ । यस्तो गौरवपूर्ण मृत्युभन्दा पनि जीवनै कुरूप र दयनीय भएको हुन सक्छ । यस्तो गौरवपूर्ण मृत्युसँग भाग्ने मानिसहरूको जीवन लाज र पश्चातापको अग्निकुण्ड हुन सक्छ । त्यसैले यदाकदा मृत्यु पनि वरणीय हुन्छ । जेल पनि यस्तै हो । म जेललाई रुचाउन्न । अन्याय र अत्याचारले भरिएको समाजमा सत्याग्रहीका निमित्त जेल एक मात्र उचित हुन सक्छ । त्यही हो गान्धीको सत्याग्रहको सन्देश । यो सन्देश व्यक्तिले अथवा समूहले आफ्नो जीवनमा चरितार्थ गर्न सक्छन् । खास गरेर व्यक्तिगत सत्याग्रह गान्धीको ठूलो देन हो । गान्धीले हिन्दुस्तानको स्वतन्त्रा आन्दोलनमा व्यक्तिगत सत्याग्रहको प्रयोग बाम्बार गर्नुभयो । गान्धीको व्यक्तिगत सत्याग्रहले आधुनिक मानिसलाई प्रभावित गर्नु एक साथ उचीत तथा आवश्यक छ ।

विद्रोह र क्रान्तिका सिद्धान्त धेरै छन् । तर, यस्ता सबै स्वरूप मुख्यतः दुईवटा कुरामा केन्द्रित देखिन्छन् । एउटा मतको धारणा छ भने अर्को गोलीको । एउटा चुनावको बाटो छ, अर्को सशस्त्र संघर्षको बाटो छ । आजसम्मको समाजवादी आन्दोलन यी दुई ध्रुवान्तबाट निर्देशित छ । युरोपका ठूला–ठूला क्रान्तिकारीहरू पनि यी दुई धाराबाट पर जान सकेनन् । युरोपका फ्रेडरिक एंगेल्स ठूला क्रान्तिकारी चिन्तक हुन् । तर, एंगेल्सका कृतिहरूको अध्ययन गर्नुहोस् । एंगेल्स आफ्नो जीवनको पूर्वाद्धमा सशस्त्र संघर्षका पक्षधर थिए । पछि उनको विचारमा परिवर्तन आयो । जर्मनीमा सोशल डेमोक्रेटिक पार्टीले चुनावमा सफलता प्राप्त गरेको उनले देखे । त्यसपछि उनले संसद्लाई पनि परिवर्तनको साधनका रूपमा स्वीकार गरेको देखिन्छ । स्वयं एंगेल्सबाट आशीर्वाद पाएपछि अरू संसद्वादीलाई के भन्ने ? तर, वास्तवमा संसद् परिवर्तनको अत्यन्त कमजोर साधन मात्र हो । एकपटक संसद्को चुनावमा मतदान गरेपछि अब तिमीहरू केही वर्षका लागी चुप लाग भनेर जनतालाई भन्नु घोर प्रतिकृयावाद हो । तर, भारतको समाजवादी आन्दोलनमा यस्ता अनेकौं वकिलहरू देखिएका छन् । स्वतन्त्र भारतमा सत्याग्रहको वा जनआन्दोलनको कुनै भूमिका छैन भन्ने तर्क पनि सुनिन थालेको छ । म यस्ता तार्किकसित मुख लाग्न चाहन्न । तर, जनता चुप लागेर बस्नेछैन । कुनै पनि जीवित समाज ५ वर्ष सुतेर रहन सक्दैन ।

संसद्को महत्व छँदैछैन भन्ने मेरो भनाइ होइन । भोटको आफ्नै स्थान छ । चुनावलाई उसको क्षेत्रमा सर्वोच्च रहन दिनु उचित नै हुन्छ । तर, जनताले सत्याग्रहको अधिकार छोड्ने छैनन् । जनताले आफूले भोग्नु परेको अन्याय र अत्याचारको तत्काल प्रतिकार गर्न खोज्नु सर्वथा उचित छ । सत्याग्रहले यस किसिमको प्रतिकारलाई सम्भव बनाएको छ । व्यक्ति र समूह दुवैले सत्याग्रहको माध्यमबाट अन्यायको तत्काल प्रतिकार गर्न सक्छन् । यस किसिमको प्रतिकारले व्यक्ति र समूहलाई आत्मविश्वास तथा आत्मानिर्भरता प्रदान गर्नेछ । भारतवासीले अन्यायको प्रतिकार गर्न अवतारको प्रतीक्षा गर्ने गरेको युगौं भयो । शायद सबै पुराना समाजमा अवतार वा लोकनायकको प्रतीक्षाको परम्परा छ । तर, सत्याग्रहले त्यस्तो प्रतीक्षाको अन्त्य गराउँछ । गान्धी ‘अवतारवाद’ मा पटक्कै विश्वास राख्दैनन् । तैपनि स्वयं गान्धीलाई ढिलोचाँडो एउटा आवतारका रूपमा हेर्ने चलन चल्न बेर छैन । यसो हुनु ठूलो दुर्भाग्यको कुरो हुनेछ । सच्चा समाजवादीहरूले प्रवृत्तिको सधै नै जोडदार विरोध गर्ने नै छन् ।

तेस्रो विश्वका अधिकांश देशमा असहाय अवस्था छ । जनता लामो प्रतीक्षा गर्न तयार छैन । यस्ता जनतालाई ‘संसदवाद’ को धैर्यको उपदेश दिनु संसदलाई समाप्त गर्नु हो । यदि संसदको अर्थ दारुण प्रतीक्षा हो भने हामीलाई संसद चाहिन्न भन्ने नतिजामा जनता छिटै नै पुग्नेछन् । कुनै गरिब मुलुकमा संसद रहने छैन । म संसदको विरोधी होइन । तर, मलाई संसदको क्षमताको शंका छ । संसद होस् तर संसदको सीमा र क्षमता पनि जनताका सामु स्पटरूपमा राखियोस् । मलाई लाग्दछ, हाम्रो समाजको राजनीतिलाई हामीले सर्वथा नयाँ टुप्पाबाट पुनर्गठित गर्नुपर्छ । हाम्रो समाज यस्तै छ । एक त, यस समाजमा अकथनीय शोषण र अत्यचार छ । दोस्रो अब जनता एकाएक जागेका छन् । यस्ता अवस्थामा परिवर्तन र क्रान्तिका हतियारले नयाँ चमक र धार प्राप्त गर्नु आवश्यक छ । सत्याग्रह एउटा नयाँ हतियार हो यस हतियारको प्रयोग तथा परिष्कारका धेरै सम्भावना छन् । समाजमा अनेकौं समस्या छन् । भ्रष्टाचार छ, महँगाइ छ र, डेगैपिच्छे शासकवर्गको, पुलिसको र कर्मचारीको अत्याचार छ । सत्याग्रहीले यस्ता सबै अत्याचारका विरुद्ध लड्नुपर्छ । आम जनतालाई पनि यस किसिमको लडाइँका निमित्त प्रेरित गर्नुपर्छ । यस्ता भिडन्तहरूको सिलसिलाबाट नयाँ जशक्तिको उदय हुनेछ । समाजवादी पार्टीको प्रभाव जीवनको प्रत्येक पक्षमा पुग्नेछ । अन्याय र अत्याचारको निराकरणका निमित्त संसदीय प्रक्रियाको भरोसा मात्र गर्नु राजनैतिक भूल हुनेछ । परिवर्तनका अन्य विचारधारा पनि समाजमा उपस्थित छन् । उत्पीडित जनता विचारधारातर्फ आकृष्ट हुनेछन् । खास गरेर हिंसा र उग्रताको वकालत गर्ने समूहहरू जनताका माझ प्रशस्त छन् । उनीहरूले परिवर्तनको छोटो तीव्र तर हिंसक बाटो देखाउँछन् । एशिया यस्ता बाटोतिर हिड्ने जबरजस्त खतरा छ । महात्मा गान्धीको विचारधारा र सिद्धान्तले यस खतरालाई पन्छाउन सक्छ । सत्याग्रह यस्तो हिंसा र उग्रताको जवाफ हुन सक्छ । अहिले सत्याग्रह जुन अवस्थामा छ, त्यो पर्याप्त छैन । स्वयं आफूमा गान्धीवाद अथवा सत्याग्रह अहिले एउटा सुसंगत तथा सम्पूर्ण विचारधारा भइसकेको छैन । यो काम समाजवादले मात्र गर्न सक्छ । समाजवादले गान्धी र सत्याग्रहलाई आत्मासात गर्नु पर्छ । अनिमात्र स्वयं एउटा सम्पूर्ण विचारधाराको निर्माण हुनेछ । अहिले समाजवाद स्वयं आफैं बडो दयनीय अवस्थामा छ । पश्चिमका सोशल डेमोक्रेटहरू एउटा जटिल सुरुङमा फँसेका छन् तेस्रो विश्वको समस्याको उनीहरूलाई कुनै जानकारी छैन । यताका कतिपय समाजवादी मित्रहरू भने अझै पनि उतैपट्टि आशावादी नजरले हेरिरहनुभएको छ । वस्तुस्थिति भने ठीक उल्टो छ । आजको युरोपले हामीलाई केही दिन सक्तैन । बरु हामीले युरोपलाई नयाँ दिशा सोचाइ र नयाँ संस्कार दिन सक्छौं । तर, त्यसका निमित्त पहिले हामीले गान्धीको जीवन र सन्देशलाई सही परिप्रेक्षमा राखेर हेर्न सक्नु पर्छ । यो काम अरूबाट हुने छैन । गरे समाजवादीले गर्छन् । तर, आज समाजवादीहरू आफ्नो यस दायित्वबाट बेखबर देखिन्छन् । यो साच्चै नै अफसोसको कुरो छ ।

म गान्धीलाई बीसौं शताब्दीको एक मात्र उल्लेखनीय चिन्तक मान्दछु । एकपटक केही समाजवादी मित्रहरूका बीच मैले यो कुरो भनें । अमेरिकाको कुरो हो । त्यहाँ उपस्थित एक प्रखर समाजवादीले मलाई लेनिनको सम्झना गराए । के लेनिनलाई गान्धीभन्दा कुनै पनि दृष्टिले कम महत्वपूर्ण चिन्तक मान्न सकिन्छ । मसित यस प्रश्नको जबाफ तयार थियो । मैले उत्तर दिएँ । लेनिन महान छन् । तर, उनी माक्र्सको ऐतिहासिक प्रतिध्वनि हुन् । बडो जोरदार प्रतिध्वनि । तर, प्रतिध्वनि नै हुन् । लेनिनको ऐतिहासिक महत्वलाई म इन्कार गर्दिन । पश्चिमी युरोपका सोशल डेमोक्रेटहरूको दुर्गति र निश्चलताले लेनिनलाई महान् देखाएको छ । तर, २०औं शताब्दीका खास मौलिक चिन्तक त गान्धी नै ठहरिन्छन् । अणुबम २० औं शताब्दीको मुख्य आविष्कार हो गान्धी यस शताब्दीका एक मात्रं चिन्तक हुन् । यी दुईमा द्वन्द्व छ । यो द्वन्द्व देख्न सक्छन् । एउटा बालकले पनि यो द्वन्द्व बुझ्न सक्छ । २० औं शताब्दीको नेतृत्व गर्नका निमित्त गान्धी र अणुबममा प्रतिस्पर्धा चलिरहेको छ ।

माक्र्स र लेनिन अणुबमको आविष्कार नहुँदैका चिन्तक हुन् । आज त्यसैले उनीहरूको संघर्ष, हिंसा र प्रतिहिंसाका मान्यता युगानुकूल रहेका छैनन् । इतिहासको एउटा नियमका रूपमा वर्ग संघर्षलाई इनकार गर्न सकिंदैन । तर, यसको अभिव्यक्तिको स्वरूपलाई मानिसले प्रभावित गर्न सक्छन् । माक्र्सका जमानाको गृहयुद्ध त्यस्तो भयंकर थिएन । तर, म आजको भारतमा गृहयुद्धको कल्पना गर्न सक्तिन । लामो ऐतिहासिक दुर्गतिपछि हामिले राष्ट्रिय राज्य प्राप्त गरेका छौं । यसको आफ्नै स्थायित्व र अर्थ छ । लेनिनको राज्यसम्बन्धि सिद्धान्तलाई भारतमा यान्त्रिक रूपमा पुनरावृत्ति गर्न सकिंदैन । एक त यो प्रयास असफल हुनेछ । दोस्रो यस असफलताका गर्भबाट भयंकर परिणामले जन्म लिनेछन् । यसैले सत्याग्रहको सिद्धान्त एउटा नौलो आशाका रूपमा हाम्रो अगाडि आएको छ । सत्याग्रह र समाजवादको समन्वयले विश्वमा युग परिवर्तन गर्न सक्ने जबर्जस्त सम्भावना देखिएको छ । सत्याग्रह अन्यायको प्रतिकार हो । संगठित हिंसाबाहेक कुनै पनि हदसम्म सत्याग्रह जान सक्छ । आमरण अनसन त्यस हदको अन्तिम रूप हो । मर्न तयार रहने तर अरूको ज्यान लिन भने नचाहने मानिस साँच्चो सत्याग्रही हो । आउने जमानाको क्रान्तिकारी यस्तै नै हुनुपर्दछ ।

अहिंसा र सत्याग्रहको सन्दर्भमा एउटा स्पष्टीकरण यहाँ आवश्यक देखिन्छ । मानिसहरु सामान्यतः अहिंसालाई एउटा निरीह तथा निर्बल सोचाइका रूपमा लिन्छन् । अहिंसामा विश्वास गर्ने मानिसहरू अत्यन्तै सहनशील हुन्छन् भन्ने सोचाइ रहन्छ । तर, यो गलत हो । सत्याग्रह र सहनशीलताको अनिवार्य, र प्रत्यक्ष सम्बन्ध छैन । अहिंसाले सहिष्णुता तथा विनम्रता सिकाउँछ । तर, सत्याग्रहले अन्याय र अत्याचारको तत्क्षण प्रतिरोध गर्न प्रेरित गर्दछ । यदि अन्यायको विरोध गर्दागर्दै पनि विनम्र र विनोदमय हुन सकिन्छ भने यसमा कुनै आपत्ति छैन । तर, विनम्रताका नाममा अन्यायसित कुनै सम्झौता कहिल्यै सम्भव छैन ।

अन्यायको तत्क्षण विरोध गर्ने भन्ने कुराले मलाई गान्धीको विचार धाराको एउटा अर्को महत्वपूर्ण पक्षको सम्झना गराउँछ । गान्धीको एउटा प्रिय आदर्शवाक्य थियो–‘मेरो निमित्त एक कदम काफी छ ।’ खास गरी यो वाक्य अंग्रेजीको एउटा मनोरम प्रार्थनाको टुक्रा हो । प्रार्थनामा भनिएको छ –म टाढाको दृश्य हेर्न चाहन्न अहिले मलाई बाटो देखाऊ, अहिले मलाई एक कदम नै काफी छ । यस प्रार्थनाको टुक्रामा गान्धीको सत्याग्रहको राजनीतिक दर्शन सूत्ररूपमा प्रकट भएको छ । यस कथनमा गान्धीको साध्य र साधनको सिद्धान्तको साररूप भेट्न सकिन्छ । साध्य र साधनको सम्बन्धले विश्व समाजवादी आन्दोलनलाई जटिल अन्तरद्वन्द्वमा फसाएको छ । तर, गान्धीले यस प्रश्नलाई सजिलैसँग समाधान गरेका छन् । त्यही समाधानको अभिव्यक्ति हो मेरो निमित्त एक कदम काफी छ । अमेरिकाका प्रसिद्ध दार्शनिक जान डिवीले साध्य र साधनको सम्बन्धका विषयमा गम्भीर किताबहरू लेखेका छन् । जान डिबीको तर्क तथा प्रमाण विशाल छ । उही कुरा गान्धीले भने सूत्रमा भने मेरो निमित्त एक कदम नै काफी छ ।

खासगरी अल्पकालीन साधन नै दीर्घकालीन लक्ष्य हुन जान्छ । । तदनुरूप हाम्रो दीर्घकालीन लक्ष्यको प्रतिविम्ब आजको हाम्रो कार्यक्रममा रहनु आवश्यक छ । आज हामी कुनै एउटा कदम चाल्दछौं । भोलि अर्को कदम चाल्दछौं । यस्ता कदमहरूको शृंखलाको समन्वयबाट हाम्रो लक्ष्यको निर्माण हुन्छ । खास गरेर मानवसमाजको निर्माणका नै क्रममा यो नियम अकाट्य र अनिवार्य छ । मानवसमाजमा धारावाहिकता अनिवार्य रूपमा रहन्छ । अन्य कुराका साथसाथै मानव ऐतिहासिक जीव पनि हो । मानिस आफ्नो परिवेशको गुण–दोषबाट आजन्म मुक्त हुदैन । मानव समाजको निर्माण यस दृष्टिले वस्तुकला वा स्थापत्य भन्दा भिन्न हुन्छ । यसैले हामी झूठका माध्यमबाट सत्यवादी समाज बनाउन सक्तैनौं । कीटाणु र जीवाणुको सहायताले निरोगी र स्वस्थ मानिसलाई जन्म दिन सकिंदैन ठीक त्यस्तै हिंसा र हत्याको गर्भबाट उत्पन्न भएको समाजमा शान्ति असम्भव हुन्छ । बडो सजिला, प्रामाणिक र प्रत्यक्ष कुरा हुन् जस्तो मलाई लाग्छ तर, मानिस मान्दैनन् । समाजवादीहरू पनि मान्दैनन् ।

आधुनिक मनुष्य भोलिको भूतबाट ग्रस्त छ । विकास तथा प्रगतिका सबै नारा भोलिको सपना भएका छन् । एक हदसम्म त पुँजीवादका महान् चिन्तकहरू खास गरेर एडमस्मिथ तथा डेविड रिकार्डो यस मनस्थितिका लागि जिम्मेवार छन् कि जस्तो मलाई लाग्छ । एडमस्मिथको जमानामा बेलायतमा दारुण विसमता थियो । तर, एडमस्मिथले त्यस विसमतालाई पुँजी सञ्चयको अनिवार्य प्रकृया ठहयाए यो प्रकृया पूरा भएपछि फेरि सबै सुखी हुनेछन् भन्ने उनको विश्वास थियो । तर, दिन अझै आएको छैन । विश्वास भने कायम छ । मोटामोटी यस्तै भविष्यवादी सोचाइलाई उनीहरूका अनुयायीहरूले पनि प्रोत्साहित गरे । माक्र्ससवाद र समाजवाद पनि यस दोषबाट मुक्त रहेन । पुराना धर्मगुरुले स्वर्ग र परलोकको हवाला दिन्थे । अहिले इतिहासको कुरा गरिन्छ । इतिहासको आफ्नो महत्व छ । तर, इतिहासका नाममा शोषण र क्रूरता, हिंसा र अधिनायकवादलाई उचित ठहरÞ्याउन सकिन्छ कि सकिन्न ? यो एउटा विचरणीय प्रश्न छ । जे होस्, गान्धीलाई भने यस किसिमको इतिहासको सुदूर फलाफलमा रुचि थिएन । उनी आफ्नो प्रत्येक कदम आफमा उचित तथा सम्पूर्ण रहोस् भन्ने चाहन्थे । गान्धीजीको त्यो चाहना उनको ‘एक कदमको सिद्धान्त’ मा प्रकट भएको छ । गान्धीको एक कदमको सिद्धान्तले यसै प्रकारका भविष्यवादी सिद्धान्तलाई चुनौती दिन्छ । भविष्यवादका नाममा रुसी साम्यवादले एक प्रकारको अन्धविश्वासलाई बढावा दिन्छ । म त्याग र बलिदानको विरोधमा छैन । मानिस यदि स्वेच्छाले त्याग र बलिदानको बाटोमा जान्छ भने यो गौरवको कुरा हो । यस्तो त्याग तथा बलिदान बेगर देश र समाजको निर्माण हुँदैन । तर, मानिसलाई इतिहासको नाउँमा आज त्याग र बलिदान गर्न विवश गर्न सकिन्न । साम्यवाद अथवा फ्रान्सेली राज्य क्रान्तिमा पनि यस किसिमको विवशता देखिन्छ । गान्धीवादले यस किसिमको विवशताको विरोध गर्दछ । गान्धी त्यागका प्रतिमूर्ती छन् । तर त्यो त्याग आशा, अन्धविश्वास वा विवशतामा आधारित छैन । त्यो त्याग सिद्धान्त र साध्यको अनिवार्य सम्बन्धबाट उत्पन्न भएको छ ।

गान्धीअघि पनि इतिहासमा अनेकौं समाजसुधारक आए । त्यस्ता सुधारकहरूले व्यक्तिको मनोभावना तथा संस्कारलाई आफ्नो सुधारको केन्द्र बनाए । यस्ता प्रयासहरू ज्यादातर असफल नै रहे । यस्ता प्रयासहरूले व्यक्तिलाई उसको परिवेशबाट अलग राखेर सुधार्ने कोशिस गरेका थिए । तर, यो असम्भव ठहरियो । मानिस समाजिक प्राणी हो । समाजिक परिवेशलाई यथावत् राखेर उसमा पविर्तन आउन सक्दैन । यो कुरो उहिले रुसोले भनेथे । त्यहाँबाट यो सत्य समाजवादमा आयो । समाजवादले तसर्थ सामानिक परिवेशको रूपान्तरणमा जोड दिन्छ । तर, फेरि समाजवादले पनि एउटा गाल्ती गरेको देखिन्छ । समाजवादले व्यक्तिप्रति मनग्य ध्यान दिएन । समाज र उत्पादन प्रणालीमा परवर्तन ल्याउना साथ मानिस स्वतः फेरिन्छ भन्ने सिद्धान्त समाजवादीहरूका माझ लोकप्रिय रह्यो ।

तर, यो पनि एकाङ्गी सिद्धान्त हो । मात्र उत्पादन प्रणाली फेरिनेबित्तिकै मानिसमा नयाँ संस्कार आउँदैन । नयाँ समाजमा नयाँ किसिमको नैतिकता चाहिन्छ । राज्यशक्ति वा आर्थिक परिवर्तनबाट नयाँ किसिमको नैतिकताको सिर्जना र सञ्चार गर्न सकिंदैन । त्यसैले यस सन्दर्भमा हामी गान्धीको कुरा ध्यान पूर्वक सुन्न बाध्य छौं । हामीले व्यक्ति तथा समाजका बारेमा बेग्ला बेग्लै सोच्नु आवश्यक छ । मानिस विशेषको सुसुप्त मानवीयता, संवेदना र कोमल अनुभूतिलाई ब्यूझाउँनु पनि बडो जरुरी छ । उत्पादनका साधनहरूको विकास र परिष्कार पनि चाहिन्छ तर त्यतिबाट पुग्दैन । गान्धीको जीवन तथा कर्ममा व्यक्ति र समाजमा कसलाई बढी महत्त्व दिइएको थियो भन्ने कुरो यहाँ उठ्न सक्छ । गान्धी आफ्नो जीवनको प्रारम्भमा व्यक्तिका उपर बढी ध्यान दिन्थे । जसका निमित्त समाज अपेक्षाकृत स्थिर तथा निश्चल वास्तविकता थियो । तर, पछि गएर समाजको जड तथा रुढीग्रस्त पक्षबाट उनी सचेत हुँदै गए । आफ्ना वरिपरि रहेका मानिसको उठ–बस, खान–पीन, बानी व्यहोरा सबै कुरामा गान्धीको नजर रहन्थ्यो । शिक्षा, संस्कार तथा अनुशासनबाट मानिसमा परिवर्तन ल्याउन सकिन्छ भन्ने गान्धीजीको विश्वास थियो । तर, सर्वोपरि उदाहरण नै थियो, गान्धीले नगरेको कुरा अरूलाई गर्न कहिले पनि भनेनन् । मानिसलाई पविर्तन गर्ने क्रममा उपदेश र अनुशासनभन्दा पनि उदाहरणको भूमिका रहन्छ भन्ने गान्धीको विश्वास देखिन्छ । तर चाहे, जसरी होस् मानिसलाई व्यक्तिगतरूपमा परिवर्तन गर्नुपर्छ भन्ने कुरामा गान्धी विश्वस्त थिए । गान्धीको यस आग्रहलाई हृदय परिवर्तनको सिद्धान्तको रूपमा पनि चर्चा गरिन्छ । तर, गान्धीको हृदय परिवर्तनको सिद्धान्तबारे केही गलतफहमी पनि छ । कतिपय मानिसले यस सिद्धान्तलाई सम्झौतावादी पाखण्डको रूप दिने कोशिस गरेका छन् । यसैले यस विषयमा केही स्पष्टीकरण आवश्यक छ जस्तो मलाई लाग्छ ।

गान्धीले हृदय पविर्ततनको कुरो गरे । यो सत्य हो । तर, उउटा सोचाइअनुसार गान्धीले पुँजीपतिहरूको हृदय परिवर्तन गर्ने कोशिस गरेका थिए । गान्धीका सरकारी उत्तराधिकारीहरू यथा नेहरू र मोरारजी भाईलाई यो सिद्धान्त प्रीतिकर लाग्नुमा कुनै आश्चर्य छैन । बरु नेहरू र मोरारजी आज पनि बिडला, टाटाको हृदय परिवर्तन गर्ने कार्यमा संलग्न छन् । तर यो सोचाइ गलत हो । गान्धीको दुहाई दिएर नेहरूजी धनी वर्गको संगत गर्न चाहन्छन् भने हामीलाई इष्र्या किन हुने ? गरुन् । तर, गान्धीले आफ्नो दिनचर्यामा बिडला र भङ्गी, च्यामे, पोडे, हरिजन आदिका बीच कहाँ र कति दिन बिताए, यो कुरो गान्धीका आलोचकले जोडेर हेर्नु आवश्यक छ । गान्धीले यस देशका असंख्य दरिद्र, शोषित तथा पीडित अछुतहरूलाई पहिलोपटक लड्न सिकाए । हाम्रो इतिहासमा यसरी सचेत रूपले यो काम पहिलोपटक गरिएको होला । गान्धी च्यामे तथा पोडेहरूको घरमा बास बस्थे । गान्धी कुनै शहरमा पुग्दा त्यहाँको च्यामेटोलमा अक्षरशः प्रकाश पुग्थयो । बिजुली जगमगाउँथे यी उपलब्धिहरू कहाँसम्म दिगो रहन्थे, त्यो विवादास्पद कुरो छ । तर, गान्धीले यस देशका आत्महीन तथा भयभीत शुद्रलाई एउटा नयाँ संज्ञा तथा चेतना दिए । यो संज्ञा आज हाम्रो बोलचालको अङ्ग भइसकेको छ । त्यो संज्ञा दिगो भइसकेको छ । आज तपाईं कुनै दलसित कुरा गर्नुहोस् । ऊ हरिजन भएको छ । यो भाषागतभन्दा मानसिक परिवर्तन ज्यादा महत्वपूर्ण कुरो छ । मैले गान्धीको हृदय परिवर्तन सिद्धान्तलाई यसै रूपमा हेर्ने गरेको छु । यसले गान्धीको कमजोर वर्गप्रतिको दृष्टिकोण स्पष्ट गर्दछ । यसले सत्याग्रहको प्रकृयालाई पनि मूर्तरूपमा बुझाउँछ । टाटा वा बिडला वा कुनै पुँजीपति पनि चाहेमा सत्याग्रहमा सामेल हुनसक्छ । त्यसरी नै जसरी उनीहरू कम्युनिष्ट पार्टीमा जान सक्छन् । कसैको पनि हृदय परवर्तन हुन सक्छ । तर, गान्धीको हृदय परिवर्तनको सिद्धान्तका सम्बन्धमा नचाहिने र मिथ्या धारणाहरूको प्रचार भएको छ । म भारतका समाजवादीहरूलाई गान्धीको जीवनी राम्ररी अध्ययन गर्ने अनुरोध गर्दछु । गान्धीले च्यामे, पोडे तथा मजदुरका बीच धेरै दिन बिताए । आउनुस्, हामी त्यसको चतुरांश दिन यस्ता वर्ण र वर्गका बीच बीताऊँ । भारतको समाजवादी आन्दोलनले आफ्नो बाहन फेला पार्नेछ । भारतको समाजवादी आन्दोलनले अपराजेय शक्ति प्राप्त गर्नेछ । पुँजीपतिहरूको हृदय परिवर्तन गर्ने जिम्मेवारी कांग्रेसीलाई छाडिदिनुस् । त्यो हाम्रो काम होइन । माक्र्सले मजदुर वर्गलाई समाजवादी क्रान्तिको बाहक भनेर घोषणा गरेका थिए । गान्धीले गरिबमा ईश्वरको बास देखे । गान्धी गरिबका निमित्त दरिद्रनारायण शब्दको प्रयोग गर्थे उनको भाषा यस्तै थियो ।

विश्वासलाई प्रभावित गर्ने चिन्तकहरू सामान्यतः दुई श्रेणीमा राखिन्छन् । एकथरिलाई सन्त भन्न सकिन्छ । अर्कोथरिकालाई ऋषि भन्नु उचित हुनेछ । सन्त दायलु र ममताशील हुन्छन् ऋषि द्रष्टा हुन्छ ।

साधारण मानिसहरू ऋषिको बुद्धि र विचारबाट प्रभावित हुन्छन् । सन्तको आचरण र व्यक्तित्व ज्यादा प्रभावशाली हुन्छ । मानिस ऋषिबाट दिमागी स्तरमा प्रभावित भएको देखिन्छ । तर, मानिसको हृदय र भावनालाई भने सन्तले जितेका छन् । मानिस प्रेम, करुणा, दया र संवेदनाले समूल हल्लिन्छन् । तर, यस्ता कुरामा उपदेश काम लाग्दैन । ममता र दया उपदेशका माध्यमबाट प्रचारित र प्रसारित हुँदैनन् । यस्ता उपदेशकहरूलाई समाजले पाखण्डीका रूपमा सजिलै चिन्दछ । सन्तको पोशाक लगाएका मानिस धेरैजसो पाखण्डी नै हुन्छन् । सन्त हुनु साच्चै नै गाह्रो छ । तर, सन्तका अभावमा कुनै समाजको पनि नैतिक मूल्य सुरक्षित अनि विकसित हुँदैन । कानुनले मात्र नैतिकताको रक्षा गर्न किन्न । गान्धी जस्ता महापुरुषहरू नैतिकताका जीवित मापदण्ड हुन्छन् । सबै प्राचीन समाजमा यस्ता महापुरुषहरू ठूलो संख्यामा जन्मिएको देखिन्छ । तर, आधुनिक युगको धारा बेग्लै भएको छ । आधुनिक युगका सन्त उपहास र अविश्वासका पात्र भएका छन् । ऋषिहरू विश्वविद्यालयका अथवा राज्यका बेतनभोगी कर्मचारी भएका छन् । पुराना ऋषिहरू राज्याश्रयबाट र्तसिन्थे । राज्य र ऋषिमा एक प्रकारको द्वन्द्व रहन्थ्यो । कार्ल माक्र्स यस परम्पराका अन्तिम महान् ऋषि थिए प्राचीन ऋषिहरू मन्त्रदाता थिए । ती मन्त्रले विश्वमा तहल्का मच्चायो कार्ल माक्र्सको मन्त्रले अहिले पनि विश्व पुँजीवादको मुटु थर्किएको छ । अब यस्ता ऋषि दुर्लभ हुँदै छन् । जो छन्, संकीर्ण छन् र अहंकारी छन् । ऋषि ज्ञानको अहंकारमा पतित हुन्छन् । सन्त कृत्रिम भावनामा पाखण्डी हुन्छ । समाजवादी समाज यी विकृति र दुर्गुणबाट कहाँसम्म टाढा रहन सक्ला ? सन्त तथा ऋषि यसै संसारका बासिन्दा हुन् । तर, दुवैको ध्येय र भूमिका फरक रहन्छ । सन्त यस पार्थिव संसारको प्रत्येक पदार्थमा आलौकिकता र रहस्यमयताको खोजी गर्दछन् । त्यसैले सन्तले राम, कृष्ण र शिव जस्ता चरित्रको शृष्टि गर्न सके । र, ऋषि यस्ता अलौकिकताको लौकिक पक्षलाई उद्घारित गर्दछन् ।

गान्धीको एक कदमको सिद्धान्तलाई अर्को शब्दमा तात्कालिक औचित्यको सिद्धान्त पनि भनिन्छ । यस सिद्धान्तलाई हामीले धेरै अर्थमा परिष्कृत गर्नु परेको छ । व्यक्तिको भूमिका र दायित्वका उपर पुनर्विचार गर्नु त्यस परिष्कारको एउटा धारा हो । व्यक्तिको मनोविज्ञान, सोचाइ, आस्था जस्ता कुरामा गान्धीलाई ठूलो रुचि थियो । पुराना जमानामा धर्मले व्यक्तिप्रति यस किसिमको रुचि देखाएको भेटिन्छ । धर्म र गान्धीमा एउटा सादृश्यता छ । परम्परागत धर्म सरह नै गान्धी मानिसको शारीरिक तथा भौतिक यथार्थप्रति पनि जागरुक थिए । गान्धीलाई खास गरेर, शरीरको सर सफाइ तथा स्वास्थ्यको विशेष चिन्ता थियो । खानपिन, लुगाफाटो तथा स्त्रीपुरुषका सम्बन्धमा गान्धीका आफ्नै विचार थिए । खास गरेर गान्धीको पनि ब्रम्हचर्य पालनसम्बन्धी विचारले विवादलाई जन्म दिएको छ । विवाद नगर्ने हो भने पनि गान्धीको विचार यस्ता अनेकौं प्रसंगमा अतिवादी, अव्यावहारिक तथा हास्यास्पद प्रतीत हुन्छन् । तर, मूल कुरो यथावत् नै रहन्छ । त्यो मूल कुरो के हो भने गान्धी व्यक्ति र उसको नितान्त निजी समस्याप्रति पनि बडो जागरुक थिए । गान्धी मानिसको प्रेम तथा यौनजीवनमा समेत ठाडै हस्तक्षेप गर्दथे यो हस्तक्षेप राम्रो हो वा होइन यो अलग सवाल छ । तर, गान्धीको कार्यपद्धतिको यो अनिवार्य प्रकृया थियो । गान्धी मानिसको विचारपरिवर्तनबाट सन्तुष्ट थिएनन् । उनी आफ्ना कार्यकताहरूको आदत र बानी व्यहोराको सूक्ष्म निरीक्षण गर्दथे । उनलाई चरित्र निर्माणमा विशेष चासो थियो । गान्धीसँग बसेका कार्यकर्ताहरूक बजे उठ्ने, कति बजे सुत्ने, कति बजे नुहाउने, के खाने जस्ता कुरामा पनि गान्धीबाट हरहमेशा सल्लाह पाउँथे । विश्वको कुनै पनि समाजवादी पार्टीले आदत र चरित्रका बारे यसरी ध्यान दिएको जस्तो लाग्दैन । समाजवादले गान्धीबाट यी कुरा सिक्नुपर्छ ।

कठोपनिषद्मा नचिकेताले श्रेय र प्रेयको द्वन्द्वको चर्चा गरेका छन् । श्रेय भन्नाले नैतिकता तथा सदाचारको जीवन मूल्यलाई बुझ्नुपर्छ । प्रेय भन्नाले हाम्रो भौतिक र सांसारिक लालसा हो । असल बन्नु, सत्य बोल्न खोज्नु, परोपकार, त्याग र अरू नैतिक गुणहरू श्रेयको अभिव्यक्ति हुन् । मीठो खानु, राम्रो लगाउनु, आफ्ना सबै । इच्छा–वासनाको सन्तुष्टि चाहनु प्रेमको लक्षण हो । दर्शन र नैतिकताले यी दुईमा आजसम्म द्वन्द्व भेटेको छ । गान्धी पनि द्वन्द्व नै देख्छन् । गान्धी यस द्वन्द्वमा स्पष्टतः श्रेयको पक्षमा छन् । गान्धी मानिसलाई असल र आनन्दी देख्न चाहन्छन् । तर, गान्धीका विचारमा असल मानिस मात्र आनन्दी रहन सक्छ । गान्धीका निमित्त आनन्द धेरै हदसम्म एउटा मानसिक तथा आध्यात्मिक अवस्था हो । स्वयं गान्धीको जीवन अत्यन्त साधारण, सरल थियो । गान्धी यथाशक्य सस्तो जीवन शैलीका पक्षपाती थिए । मीठो खाने वा राम्रो लाउने उनको तरिका थिएन । मीठो मसिनोको त कुरै छाडिदिऊँ, कला र संगीतका उच्च कोटिका आनन्दप्रति पनि गान्धी उदासीन देखिन्थे । गान्धी यस दृष्टिले प्राचीन कालका धार्मिक उपदेशक जस्ता थिए । धार्मिक उपदेशकहरूले कम खाने, कम लाउने तथा आत्मनिग्रहमा जोड दिनु युगानुकूल थियो । त्यो अभावको युग थियो । त्यसैले सादगी तथा सात्विकताले समाजलाई शान्ति र स्थिरता प्रदान गरेको थियो । तर, अब युग अर्कै भएको छ । उत्पादनका प्रणाली विकसित भएका छन् । तिनलाई अझ विकसित तुल्याउनु छ । यस युगमा उपभोग विरोधी विचारधारा कहाँसम्म समयानुकूल तथा नीतिसम्मत हुने हो यसै भन्न सकिन्न । गान्धीले प्रचार गरेको सादगीको अध्यात्मिक मूल्य छ । तर, एउटा आर्थिक मूल्यका रूपमा सादगी सुस्तरी तिरस्कृत हुँदै गएको देखिन्छ ।

यो युग नै यस्तै छ । यो एडमस्मिथ, कार्ल माक्र्सको युग हो । यो । ट्युमन र स्टालिनको युग हो । यी महानुभावको आपसमा अनेकौं बाझो छ । तर, उटा कुरामा उनीहरू एक मत छन् । उनीहरू सब उपभोगका पक्षमा छन् । उनीहरू सबै आफ्ना जनता र अनुयायीलाई राम्ररी लाउने–खाने प्रेरणा दिन्छन् । यस्ता उपभोगवादी नेता र विचारकहरूको माझमा गान्धी एक्लो बृहस्पति देखिन्छन् । यो एउटा अप्ठ्यारो स्थिति छ । गान्धीवादले सादगी र निग्रहमा सम्झौताविहीन रूपमा जोड दिने हो भने आधुनिक मनुष्य गान्धीबाट टाढिने खतरा छ खास गरेर पश्चिमी सभ्यताको उपभोगवादी मनोवृत्तिबाट प्रभावित रहेकाहरूले गान्धीको उपदेशलाई अवश्य पनि उपयोगी र आकर्षक पाउनेछैनन् तर, गरिब मुलुकका समाजवादीहरूका निमित्त भने गान्धीको सादगीको सिद्धान्तमा सामयिक सन्देश छ । हामीले सादगीलाई एउटा शाश्वत र सात्विक जीवनमूल्यका रूपमा लिने काम छैन । तर, आजको ऐतिहासिक जरुरत सादगी हुन सक्छ । हाम्रो विकासोन्मुख समाजमा पुँजी छैन । हाम्रो सबभन्दा ठूलो समस्या नै पुँजी सञ्चय हो । अर्थशास्त्रका इतिहासमा पुँजीवादको विकासको नियम तथा पुँजी सञ्चयको समस्यालाई लिएर अनेकौं किसिमका तर्क–वितर्क पेश गरिएका छन् । यस विषयमा माक्र्सको तर्कको हामीले उल्लेख गरिसक्यौं । भारतको परिस्थितिमा माक्र्सको तर्कमा केही संशोधन अपेक्षित छ । त्यस संशोधनको पनि चर्चा गयौं । तर, अर्थशास्त्रको इतिहासमा पूजीका सञ्चयमा केही गैर माक्र्सवादी तर्कले बेलाबखतमा पुँजीको सञ्चयका प्रक्रियालाई आर्थिक क्षेत्रको दायरा बाहिर हेर्न खोजेका छन् । म त्यस विषयमा सुसम्बद्ध तथा प्रामणिक तर्क पेश गर्न सक्ने स्थितिमा छैन । तर, आजको भारतको स्थितिलाई हेर्दा म अर्थशास्त्रको नियमलाई एक मात्र निर्णायक तथा र्सोपरी कारणका रूपमा स्वीकार गर्न चाहन्न । भारत वा तेस्रो मुलुकमा समाजवादी क्रान्ति मनुष्य जातिको आत्मनिर्णय र सांगठनिक कौशलको ठूलो उदाहरण बन्नु पर्नेछ ।

हामीले प्राविधिक क्षेत्रमा नयाँ सीप तथा कौशल विकास गर्नु पर्ने खाँचोको उल्लेख गरिसक्यौं । त्यो उत्पादनको पक्ष थियो । अब उपभोगको पक्षपट्टि आऊँ । तेस्रो विश्वका गरिब मुलुकहरूमा अनियन्त्रित उपभोगका आधारमा समाजवादको निर्माण हुन सक्तैन । गान्धीले जुन आधारमा गरिबी र सादगीको महिमा बताए, त्यो रहन दिऊँ म गरिबी रुचाउन्न । म गरिबीको महिमा गायन गर्ने पक्षमा छैन । ईसा मसिहहरूको स्वर्गको ढोकामा धनीहरू प्रवेश गर्न नपाउने भन्ने कथन गान्धीलाई प्रिय थियो । म त्यस्तो भाषा बोल्न चाहन्न । तर, समाजवादी भारतमा उपभोगको गुण तथा मात्रा के हुनु पर्ने हो भन्ने विषयमा मेरा दृढ विचार छन् । मैले यो कुरो गान्धीबाट नै सिकेको हुँ । समाजवादी समाजमा उपभोगमा नियन्त्रण ल्याउनका निमित्त समाजवादी सरकारको प्रतिक्षा पनि आवश्यक छैन । यो कुनै समाजवादी कार्यक्रम होइन । त्यसलाई साधारणरूपमा जनपक्षीय तथा प्रगतिशील कार्यक्रम भन्न सकिन्छ ।
आजको भारतमा कांग्रेसी सरकारले विलासिता र फजुल खर्चलाई हदसम्म पुर्याएको छ । अनेकौं कुरामा कांग्रेसीहरूले अंग्रेजी शासकलाई पनि मात गरेका छन् । अंग्रेजहरू विदेशी थिए । उनीहरूलाई यस देशको माया थिएन । तर, अब कांग्रेसीहरूको आडम्बरयुक्त जीवनशैलीले ती विदेशीहरूसित प्रतिस्पर्धा गरिरहेको छ । अंग्रेजहरू यस देशमा जबर्जस्ती शासक भएका थिए । त्यसैले उनीहरूको सुरक्षा तथा बसोवासको खर्च ज्यादा थियो । तर, अहिलेका जन निर्वाचित शासक पनि उस्तै खर्चिला छन् । मैले यस सरकाको फजुल खर्चको हिसाब बेला बखतमा जनताका सामु राखेको छु । गान्धीका शिष्यका निमित्त यस किसिमको फजुल खर्च साच्चै नै शोक तथा सरमको कुरो हो । कांग्रेसलाई हटाउने कुनै पनि शासक दलले सर्वप्रथम शासक वर्गको अर्थात् मन्त्रीको, सचिवको, अति उच्च पदस्थ कर्मचारुरीहरूको खर्चलाई स्विडेन, बेलायत, पश्चिम जर्मनी तथा अमेरिका जस्ता देशहरूका सरकारको खर्चसित तुलना गर्न हाम्रा अर्थशास्त्रीहरूलाई आह्वान गर्दछु । स्विडेन शायद संसारको सबभन्दा धनी देश हो । तर, सापेक्षरूपमा र त्यहाँका प्रधानमन्त्रीले सबभन्दा सादा र सस्तो जीवन बिताउँछन् । तपाईंहरूलाई यो कुरो सुनेर आश्चर्य लाग्ला, तुलानात्मक रूपमा अमेरिकाको राष्ट्रपतिको खर्च हाम्रो राष्ट्रपति तथा प्रधानमन्त्रीको भन्दा कम छ । रुसको बारेमा म यसै भन्न सक्तिन । तर, अरू सबै धनी पुँजीवादी देशहरूको यस्तै अवस्था छ । जति ज्यादा गरिब छ, त्यति नै ज्यादा रवाफ पनि छ । हाम्रो मुलुक गरिब छ । हामी गरिब राष्ट्रका प्रतिनिधि हौं भन्ने चेतना एसियाका शासकमा देखिंदैन । एउटै अपवाद छन्, ती हुन् ुहोची मिन्हु । भियतनामका होची मिन्हले भने गान्धीलाई पनि मात गरेका छन् । सत्तामा पुगिसकेर पनि उनले अनुपम सरलता अनि सादगी देखाए । त्यसैले सरलता र सादगीको सिद्धान्त गान्धीवादको मात्र विशेषता होइन ।

राष्ट्र निर्माणका प्रारम्भिक चरणमा सबैले स्वेच्छाले कष्ट र अभावको जीवन बिताउन तत्पर रहनु पर्दछ । उता शासक वर्ग भने विलास र भ्रष्टाचार गर्ने, यता जनतालाई भने कष्ट सहनका लागि आह्वान गर्ने यो अवस्था कहिलेसम्म चल्न सक्छ ? आम जनतालाई प्रेरणा दिनका निमित्त पहिले शासक वर्गले सादगी उदाहरण पेश गर्न सक्नुपर्छ अनि प्रेरणा उत्पन्न हुन्छ । अनि समाजमा नैतिक गुणको सञ्चार हुन्छ । आज त भानरतमा चारैतिर विलास, आडम्बर अनि भ्रष्टाचारको बोलबाला छ । यस स्थितिका निमित्त स्वयम् कांग्रेसी शासन जिम्मेदार छ । गलत आर्थिक दर्शन छ । त्यो त छंदैछ । त्यस गल्तीलाई लोभ र भ्रष्टाचारले झन् कुहाएको, सडाएको छ । हाम्रो शास्त्रमा शासकवर्ग र प्रजाको सम्बन्धका बारे विचार भएको छ । प्रजाले आफ्नो जीवनमूल्य र संस्कार आफ्ना शासकबाट प्राप्त गर्दछन् । भारतीय जनताले पनि त्यसै गरेका छन् । भारतको शासकवर्गले खान पिन र रहन सहनमा पश्चिमको अन्धानुकरण गरेको छ । खान पिन लुगा फाटो देश तथा जलवायु अनुरूप हुनुपर्छ । मेरो अरू पूर्वाग्रह छैन तर आजको भारतवासी आँखा चिम्लेर कण्ठ्पासका पछाडि कुदेका छन् । मलाई हाँसो लाग्छ । म अरू केही भन्न चाहन्न । मलाई अर्को कुरोले पीडा दिएको छ महात्मा गान्धी यस देशलाई ‘ग्राम बासिनी भारत माता’ भनेर सम्बोधन गर्नुहुन्थ्यो स्वतन्त्र भारतको अर्थतन्त्रको केन्द्र गाउँ हुनेछ भन्ने कुरो हाम्रा नेताहरूले बारम्बार भने तर, स्वाधीन भारतमा यो कुरो सबैले बिर्सिए ।

तपाईं भारतको संविधान पढ्नुहोस् । स्वधीनता संग्रामका सेनानी कहलिएका कांग्रेसी नेताहरू संविधानसभाका सदस्य थिए । हाम्रो संविधान बडो मोटो छ । दिल्ली र हैदरवादबीचको सत्ताको विभाजनको हकमा यस संविधानमा तीन सय दफा छन् । तर, गाउँको समस्याका बारे त्यसमा कुनै उल्लेख छैन । गभर्नर तथा राष्ट्रयपति, संसद् अनि राज्यका सम्बन्धको पत्र केलाउन त्यो संविधानले भ्याएको छ । तर, गाउँको स्वायत्त शारन र ग्राम पञ्चायतको अवधारणा संविधानमा छैन । मलाई झूठो बोलेको आरोप नलागोस् । एउटा धारा छ, संविधानसभाको बैठक टुङ्गिन लाग्दा कुनै भलादमीले झ्वाट्ट सम्झेछन् क्यारे त्यो गान्धी बूढो त गाउँ गाउँ भनेर मरी मेट्थ्यो, एउटा धारा गाउँको पनि रहोस् । त्यसैले होला संविधानको पुछारमा एउटा तत्वहीन धारा छ । ‘गाउँलाई अधिकार दिनु बेश हुनेछ’ भनिएको छ । वस यति हो ‘बेश हुनेछ’ । अधिकार कसरी दिने कहिले दिने र कुन रूपमा दिने, कुनै उल्लेख छैन । कुनै दिशाबोध छैन । कुनै संकल्प छैन । कण्ठपास त्यति आपत्तिजनक कुरो होइन । तर, गाउँको यस्तो उपेक्षा सरासर खतरनाक छ । पश्चिमी मानसिकताको मुख्य दोष नै यही हो । पश्चिमी । विचारधारा र जीवनशैलीमा हुर्किएका मानिसहरू गाउँको महत्व बुझ्न सक्तैनन ्। गान्धीले गाउँको महत्व बुझेका थिए । त्यसैले उनले भारतलाई ब्यूँझाउन र आन्दोलित गर्न सके । गान्धीको आह्वान भारतीय गाउँले बुझ्यो । भारतका गाउँले गान्धीका पछि लागे । तर, आजका यी शासकवर्ग वास्तविक भारतका निमित्त आज पनि बिराना छन् । स्वयम् उनीहरूको संविधानले उनीहरूलाई बिरानो बनाएको छ । जुन संविधानले गाउँको यस्तो उपेक्षा गरेको छ, ती गाउँलेले त्यसलाई उपेक्षा गर्नु बिलकुलै स्वभाविक हो । हाम्रा शासक वर्ग पनि त्यसैले भारतीय गाउँका निमित्त उही पुरानै विदेशी शासकका वैध उत्तराधिकारी भएका छन् । उही अंग्रेजी बोली, उही शासकीय रवाफ । यी मन्त्री र प्रधानमन्त्रीहरू कुनै दिन गान्धीका सहयोगी थिए भन्ने कुरो पत्याइनसक्नु भएको छ ।

आजको भारतवर्षमा गान्धीको साँच्चो उत्तराधिकारी, कोही छैन । गान्धीको नाउँ जान्ने राजनीतिक कार्यकताहरू अनेकौं छन् । यस्ता गान्धीवादीहरूले एकापट्टि भने गान्धीका नाउँमा मठ र गुठी बनाएका छन् । अर्काथरिका गान्धीवादीहरू शासक भएका छन् । यी सरकारी गान्धीवादी र गुठीयार गान्धीवादीभन्दा बाहेक अर्को थरिका गान्धीवादी कहीं देखिंदैन । जनतालाई भने अर्कोथरिको गान्धीवादीको चाहना छ । भारतका समाजवादीहरूले चाहेमा जनताको यो चाहनाका तर्फ ध्यान पुरÞ्याउन सक्तछन् । यसतर्फ ध्यान पुरÞ्याउने राजनीतिक शक्तिले गान्धीको महान् उत्तराधिकार प्राप्त गर्न सक्तछ । गान्धीको साँच्चो उत्तराधिकारमा एकसाथ क्रोध र करुणाको समन्वयन छ भने गान्धीवादीहरूले मात्र करुणालाई गान्धीको देन बताएका छन् । तर, यो वर्णन गलत हो । गान्धीमा करुणा मात्र थिएन । एउटा खुट्टा सधै जेलमा राख्ने त्यस सत्याग्रहीका हृदयमा अन्यायका विरुद्ध तीव्र आक्रोस पनि थियो । नेहरू र विनोवा भावे गान्धीको आक्रोसमय व्यक्तित्वलाई दबाउन खोज्दै छन् । समाजवादी पार्टीले गान्धीको आक्रोमय व्यक्तित्वलाई आफ्नो नीति तथा कार्यक्रममा मूर्तरूप दिन सक्नुपर्छ । त्यति भएपछि मात्र समाजवादी पार्टीले गान्धीको साँच्चो उत्तराधिकार प्राप्त गर्नेछन् ।

यस्तै गान्धीको उत्तराधिकार ज्ञान तथा आचरण, ऋषि र सन्त, व्यक्ति र वातावरण, विचार अनि आदत, करुणा तथा क्रोधका उपर गान्धीले सधैं नै बराबर जोड दिए । हामी पनि यस्ता सबै द्वन्द्वलाई आत्मसात गर्ने आवश्यकताका उपर जोड दिन्छौं । श्रेय र प्रेयको कुरो माथि गरियो । त्यसमा पनि समन्वय चाहिएको छ । गान्धीले शान्ति र अहिंसाको कुरो गर्दा मानिसको अस्तित्व तथा आत्मशान्तिको समेत कुरा गरेका छन् । सामान्यतः आन्तरिक शान्तिको कुरा साधु या योगीहरूले गरेका हुन्छन् । तर, गान्धीले त्यो आन्तरिक शान्तिको पनि कुरा गरे । यस क्षेत्रमा उनले कतिपय प्रयोग पनि गरे । मलाई लाग्दछ, आन्तरिक शान्ति तथा सामाजिक क्रान्तिका निमित्त साथ–साथ प्रयत्न गर्ने गान्धी पहिलो मानिस हुन् । सामान्यतः साधु र योगीहरूले सामाजिक परिवर्तनमा चासो राख्दैनन् । राजनीतिज्ञ र शासकहरूलाई व्यक्तिको मनोविज्ञान र आन्तरिक शान्तिमा कुनै दिलचस्पी हुँदैन । तर, आन्तरिक शान्ति र समत्व बडो महत्त्वपूर्ण छ भन्ने कुरा हाम्रो अनुभवले बताएको छ । हामी समाजमा शान्ति र समता चाहन्छौं । तर, व्यक्तिको आन्तरिक मानसमा शान्ति र समताको बीउ छर्दैनौं । वास्तवमा व्यक्तिले बाहिर मात्र होइन, भित्र पनि समभावको स्थापना गर्न सक्नुपर्छ । गीता र उपनिषद्मा यस किसिमको समभावको चर्चा छ । गान्धीको चिन्तन र कर्ममा यस्ता समभाव र समदृष्टिको प्रचुर उदाहरण पाइन्छन् । समाजवादी आन्दोलनले यस्ता उदाहरणबाट आफूलाई सम्पन्न तथा पुष्ट गर्न, गराउन सक्नुपर्छ ।

तर, यो काम कसरी होला रु समन्वय शब्दको उच्चारण बडो सजिलो छ । तर, यो कार्य बडो दुष्कर छ । अझ त्यसमाथि पनि संसारका धेरै स्वनामधन्य बुद्धिजीवीहरू यो काममा हतारिएर तम्सिन्छन् । विभिन्न मानिसहरू विभिन्न किसिमको प्रवृत्ति र विचारलाई घोलमोल तथा साटफेर गर्ने काम सधैं गरिरहेकै हुन्छन् । हाम्रो मुलुकमा वेदान्त र माक्र्सवादको समन्वय गर्ने केही हास्यास्पद कोशिस भएको मलाई थाहा छ । बर्माका हाम्रा समाजवादी मित्रले माक्र्सवाद र बौद्ध चिन्तनको समन्वयको व्यर्थ कोशिस गरेका छन् । गान्धी र माक्र्सको बेमेलको उदाहरणहरू जबर्जस्ती एकै ठाउँमा राख्ने कोशिस हाम्रा पार्टीमा पनि भइरहेको छ । यस्ता सबै कोशिसले अक्सर माक्र्स र गान्धी दुवैसित अन्याय गरेका हुन्छन् । त्यसैले म समन्वय शब्दको उल्लेख तथा उच्चारण बडो संकोचका साथ गरिरहेको छु । विभिन्न धारणाहरूलाई यान्त्रिक रूपमा एक ठाउँमा राखेर सान्वयको काम टुंगिंदैन । त्यस्ता पैंचो–उधारो लिइएका विचारहरूमा प्रत्येकको मौलिकता हराउँछ । एउटा विचारको टुक्राले अर्को टुक्रालाई खण्डित गर्ने खतरा रहन्छ । विभिन्न विचारहरूलाई मथेर नौनी निकाल्न महान् मेधा चाहिन्छ । माक्र्समा यस्तो मेधा थियो । उनले तत्कालीन बौद्धिक वातावरणमा छरिएर रहेका अनेकौं विचार ग्रहण गरे । त्यस्ता विचारमा आवश्यक काटछाँट र सुद्धीकरण गरयो । आखिरमा एउटा सुसंगत तथा आन्तरिक सामञ्जस्य भएका विचारधाराको निर्माण भयो । त्यो विचारधारा आज माक्र्सवादका नामले जानिन्छ । माक्र्सवादका तुलनामा समाजवाद एउटा नयाँ र विकासोन्मुख विचार प्रणालीका रूपमा विश्वमा उपस्थित छ । यसको नवीनता नै आज आशाको विषय भएको छ । यस नवीनताको सन्दर्भमा नै गान्धी आज समाजवादका निमित्त अत्यन्त प्रासंगिक तथा विवेच्य विषय भएका छन् । लोकतान्त्रिक समाजवादले गान्धीको व्यक्तित्व र शिक्षालाई आत्मात गर्न सक्नु यसको सबभन्दा ठूलो चुनौती ठहरिनेछ ।

समाजवादले एउटा नयाँ कला र सीपको प्रदर्शन गर्नुपर्नेछ । ताना उनै रहनेछ तर बाना भन्ने फेरिंदै जानेछ । गान्धीको विचार र चिन्तनले बानाको काम गरोस् भन्ने मेरो अभिप्राय छ । अन्तर्राष्ट्रिय समाजवादको सुदीर्घ अनुभव र परम्परा आफ्ना ठाउँमा यथावत् रहनेछन् । बाना थपिंदै जानेछ । यसरी नयाँ बनेका तुलनात्मक बुट्टा झन्न् झन् मनोहारी तथा आकर्षक हुनेछन् । सबभन्दा ठूलो कुरो के भने यसको सुसंगति नष्ट हुनेछैन । पश्चिमी प्रभावबाट हामी आनावश्यक रूपले ग्रस्त हुनेछैनौं । कदाचित् पश्चिमले स्वयम् हामीबाट धेरै कुरा सिक्नेछ । समाजवादको एउटा मौलिक तथा अद्वितीय रूपरङ्ग हामी पिछडिएका एसियावासीले दुनियाँलाई दिन सक्नेछौं । समाजवादको आजसम्मको परिकल्पनाले पश्चिमी सभ्यताको सीमालाई नकार्न सकेन । तर, भारतमा विकसित हुन लागेको विचार प्रणालीले पश्चिमको जीवन शैलीलाई पहिलोपटक चुनौती दिनेछ । माक्र्सवादबाट प्रभावित समाजवादले पुँजीवादको उत्पादनको सम्बन्धलाई नकार्यो गान्धीबाट प्रभावित समाजवादले पश्चिमका विशाल तथा यान्त्रिक कलकारखाना तथा प्रशासन व्यवस्थालाई पनि नकार्दछ । यति नगरीकन मानिसको आत्मनिर्वासनको समस्या हल हुँदैन । माक्र्सले पनि आत्मनिर्वासनको अन्त्यको आकांक्षा राखेका थिए । माक्र्सको आकांक्षा गान्धीमा आएर पूरा हुन सक्छ । इतिहास चक्रले यस्ता मनोरम लीलाहरू सधैं गरिरहन्छ । यसमा कुनै आश्चर्य छैन । –INS

प्रतिक्रिया