शुक्रबार, वैशाख २१, २०८१

‌जीवन र खाद्यको आधार हो पानी

चिरञ्जीवी दाहाल २०८० असोज १८ गते १७:५८

चितवन । मानव जीवनका लागि पानी एक अत्यावश्यक पोषक तत्व हो । यसले मानव शरीरमा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । मानिस पानी बिना लामो समयसम्म बाँच्न सक्दैन । शरीरको प्रत्येक प्रणालीलाई सूचारुगर्न पानी चाहिन्छ । मानव कोशिकाहरू र तन्तुहरू देखि महत्त्वपूर्ण अङ्गहरू सञ्चालन गर्ने काममा पानीको मुख्य भूमिका हुन्छ । पानीले विभिन्न पोषक तत्व, खनिज र लवण बोकेको हुन्छ । यसले मानव शरीर र मानव मस्तिष्कका सबै कोशिकाहरूलाई अक्सिजन प्रदान गर्दछ । पानीले शरीरलाई खनिज, भिटामिन, एमिनो एसिड, ग्लुकोज र अन्य पदार्थहरू अवशोषित र आत्मसात गर्न मद्त गरिरहेको हुन्छ ।

त्यसैले पानी, मानव लगायत लाखौं प्रजातिहरूको जीवनको आधार हो । माइक्रोनमा मापन गरिएका सबैभन्दा सानो जीवहरूदेखि लिएर ३० मिटर लामो आकारको निलो ह्वेललाई समेत बाँच्नका लागि पानी नभइ हुदैन । पानी मानव शरीरको लागि अत्यावश्यक आवश्यकता मात्र होइन, यो जीवन जिउने मुख्य वस्तु र अमूल्य निधि पनि हो । तसर्थ पानी नै जीवन हो, जीवन पानी हो । पानी बिना जीवन सम्भव छैन । मानिस, नजन्मिदै अर्थात् भ्रूण अवस्थामा रहँदा समेत पानीमा पौडिएर रहने प्राणी भएको तथ्य जगजाहेर छ । फेरिपनि मानिसलाई जन्म देखि मृत्युपर्यन्त पानीको आवश्यकता परिरहेको हुन्छ ।

तर विडम्बना , संसारमा १ अर्ब १ करोड मानिस, शुद्ध पिउने पानीको सहज पहुँचबाट वञ्चित छन् । विश्वको कुल जनसंख्या मध्ये २.६ अर्ब मानिसको पर्याप्त पानीको अभावका कारण सरसफाइमा पहुँच पुगेको छैन भने दूषित पानीबाट उत्पन्न हुने रोगहरूबाट प्रत्येक वर्ष एक करोड मानिसहरूको मृत्यु हुने गरेको छ । जसमध्ये अधिकांश मृत्यु हुनेहरू मध्ये अल्प विकसित देशका बालबालिका हुनेगरेका छन् । सन् २०५० सम्ममा विश्वका एक चौथाइ जनसंख्या ताजा पानीको अभावग्रस्त देश र गाउँ तथा शहरमा रहनुपर्ने तथ्य प्रक्षेपण गरिएको छ । मानव सभ्यताका लागि यो सुखद समाचार पक्कै होइन ।

विश्वव्यापी पानी खपतको ७० प्रतिशत पानी कृषि वालीका लागि आवश्यक पर्दछ। तसर्थ, यसको प्रभावका सन्दर्भमा उल्लेख गर्दा, किसान भनेका उपभोक्ताहरू हुन् । यति विधि परिमाणमा पानी चाहिने उपभोक्ताले पर्याप्त मात्रामा पानीको प्रयोग गर्न पाएका हुँदैनन् । विश्वमा उपलब्ध पानीको प्रयोग गर्ने विधि केही प्रतिशत मात्र वैज्ञानिक र आधुनिक भएपनि संसारका अधिकांश देशमा अवैज्ञानिक एवं पुरातन परम्परामा सिंचाई गर्ने परिपाटी हालसम्म पनि कायम छ ।

संसारमा ८६ प्रतिशत सिँचाइ बाढी विधि ( कुलो र नहर ) द्वारा गर्ने गरिन्छ, जुन तरिका अपनाउँदा हरेक वालीमा आवश्यकता भन्दा निकै धेरै मात्रामा पानी खर्च भएर खेर गइरहेको हुन्छ ‌ । यो विधि अत्यन्त पुरानो भएकोले प्रमुख आधारभूत बाली बाहेक अन्य खाद्यान्न, तरकारी र फलफूल खेतीमा ड्रिप सिंचाई तथा स्प्रिङ कलर सिंचाईको प्रयोग अनिवार्य गर्नुपर्ने देखिन्छ । जसबाट ठूलो परिमाणमा स्वच्छ पानीको वचत हुनसक्छ । यसरी वचत हुन जाने पानीलाई पानीको अभावले काकाकुल बन्न वाध्य भएका विभिन्न मुलुकका अभावग्रस्त मानिसहरूमा पिउने पानीको रूपमा वितरण गर्न सकिन्छ ।

यस विषयमा संयुक्त राष्ट्र संघ, विश्व खाद्य संगठन एवं संसारका कृषि प्रशासक, कृषि वैज्ञानिक र कृषि विशेषज्ञहरू लगायत यसमा सङ्लग्न सबैले प्रत्यक्षरूपमा चासो दिनु जरुरी देखिन्छ । हाल ड्रिपर वा स्प्रिंकलर विधिको प्रयोग गरेर, विश्वमा जम्मा ३ प्रतिशत मात्र सिंचाई गर्ने गरिएको आँकडा बाहिरिएको छ । यो विधि अपनाएर खेती गर्दा हाल खेतीवालीमा प्रयोग भएको सम्पूर्ण पानी मध्ये ४० प्रतिशत पानी वचत हुनपुग्छ भन्ने अनुमान गरिएको छ ।

एकातिर पानी र मानव स्वास्थ्य बिच घनिष्ट सम्बन्ध भएकोले प्रत्यक्षरूपमा, अबको युगले प्रदूषित पानीका मुहान र स्रोतहरू शुद्ध गरेर विकासोन्मुख देशहरूमा जनसंख्याको मृत्युदर घटाउने काम गरि संसारभरमा नयाँ नयाँ प्रविधि खोजी गर्ने प्रयास नगर्ने हो भने वर्तमान आधुनिक विश्वले भविष्यमा विकराल परिस्थितिको सामना गर्नुपर्ने स्पष्ट देखिन्छ । यसको मारमा विशेष गरि अल्प विकसित मुलुकहरू र त्यहाँका बासिन्दा पर्न सक्नेछन् ।

दुर्भाग्यवश, हामीले पानी जस्तो बहुमूल्य स्रोतको उपयोग गर्ने अवैज्ञानिक तरिकाले हाम्रो स्वास्थ्यलाई मात्र असर गर्दैन, यसले पानीमा निर्भर रहेका सबै प्राणी र जीवलाई पनि प्रत्यक्ष असर गर्छ। औद्योगिक कलकारखानाबाट प्रदूषण, पानीको अत्यधिक दोहन, पानीको मुहानमा हुने भौतिक परिवर्तन र जलवायु परिवर्तनले पानीको गुणस्तर र उपलब्धतालाई अत्यन्त कमजोर बनाइराखेको छ। कृषिको सन्दर्भमा, बालीनालीकालागि प्रयोग गरिने पानीमा रासायनिक मल र कीटनाशक विषादीमा प्रयोग भएका रसायनको अवशेष रहिरहने प्रबल सम्भाबना रहन्छ । प्रयोग गरिसकेपछि र कहिलेकाहीँ प्रशोधन गरिसकेपछि, यी परिवर्तन गरिएका केही पानी, पानीको प्राकृतिक भण्डारमा फर्किन्छन्। यसले पानीको भण्डार नै दुषित हुनसक्ने सम्भावना ज्युँकात्युँ राखिराख्छ । यातायात र उद्योगबाट निस्कने वायुजन्य प्रदूषक र रासायनिक पदार्थहरूका कारण पानी दुषित भइरहेको तथ्य आफ्नै ठाउँमा छ ।

हिमाली मुलुकमा रहेका हिमालयका हिमताल र अन्य सिमसार र रामसार क्षेत्रहरू जोखिममा पुगिसकेका छन् । अत्यधिक पानी निकासी, जलवायुमा आएको परिवर्तनका कारण र सिँचाइ उद्देश्यका लागि बनाइएका केही बाँधहरूले तालको इकोसिस्टममा ठूलो दबाब सिर्जना गर्ने गर्दछन् । यस बाहेक हामीसँग भएका नदीनाला, खोला, झरना र तालहरूमा दिन प्रतिदिन पानीको बहाब र पानीको सतह क्रमश घट्दै र सुक्दै गएका छन् । वर्षा मासमा फुट्ने गरेका पानीका मुलहरू हरेक वर्ष फुट्न छोडेका छन् । इनार, बोरिङ र कुवाहरूमा बिस्तारै पानी सुक्दै गइरहेको देख्न सकिन्छ । यो क्रम बढ्दै जानु भनेको मानव विकासका दृष्टिले गम्भीर प्रकृतिको समस्या खडा हुदै गएको सम्झनु पर्छ । यस दिशामा एउटा मुलुकले मात्र केही गर्न सक्दैन । जसका लागि समग्र विश्व समुदाय एकजुट हुनु आजको आवस्यकता हो । सबैको संयुक्त प्रयासबाट थप विनाश रोक्न अनेकौं उपायहरू अवलम्बन गर्नुपर्दछ र संसारकै जलस्रोतमा भइरहेको क्षतिलाई रोक्नुपर्दछ ।

खाद्यान्न लगायत समस्त कृषिबालीको उत्पादन लिनको लागि पानीको महत्वपूर्ण भूमीका रहेको हुन्छ। पानीको अभावमा कुनै पनि बालीनालीबाट उत्पादन लिने कुराको कल्पना पनि गर्न सकिदैन । पानी जस्तै मानव स्वास्थ्यका लागि, मानव विकासका लागि, मानव अस्तित्वका लागि र मान्छेको बाँच्ने सवालमा अर्को महत्वपूर्ण भूमीका खेल्ने वस्तु खाद्यान्न जस्तो महत्वपूर्ण वस्तुमा असुरक्षा बढ्दै गएको छ । यसको प्रमुख कारण मध्ये संसारबाट रैथाने प्रजातिका वालीहरू र तिनका बिउहरू हराउँदै जाने क्रम तिब्र गतिमा बढीरहेको पाइन्छ । यसतर्फ समयमा ध्यानदिन नसक्ने हो भने र रैथाने बिउ संरक्षणका लागि बिउ बैङ्कको स्थापना नगर्ने हो भने एकदिन सम्पूर्ण विश्व जगत विकराल खाद्यान्न सङ्कटबाट नगुज्रिएला भन्न सकिन्न ।

खाद्य असुरक्षा, गरिबी वृद्धि हुने सबैभन्दा महत्वपूर्ण कारण हो । यसले खाद्यान्नको सीमित उपलब्धता र आधारभूत स्वस्थ र सन्तुलित आहारमा नियमित र स्वीकार्य तरिकाले पुग्न नसक्ने अवस्था उत्पन्न गरिदिन्छ । खाद्य असुरक्षाले यसबाट पीडित व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यका साथै सामाजिक सम्बन्धमा समेत क्षति पुर्याउँछ । यसबाट गरिबीमा बाँचिरहेका परिवारलाई मात्र होइन खाद्य असुरक्षाले सबै तप्काका नागरिकलाई प्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ ।

प्रतिक्रिया