श्रीलङ्काको केन्द्रीय बैङ्कले घटायो नीतिगत ब्याजदर

नेपालखोज २०८० असोज १८ गते १८:१६

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंकको मौद्रिक बोर्डले स्थायी सुविधाअन्तर्गतको निक्षेप र कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ ।

केन्द्रीय बैंकले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्थायी निक्षेप सुविधाको ब्याजदर र स्थायी कर्जा सुविधाको ब्याजदर एक सय आधार विन्दुमा क्रमशः १० र ११ प्रतिशतले घटाएको जनाएको छ । सेन्ट्रल बैंक अफ श्रीलङ्काले बुधबार बसेको मौद्रिक बोर्डको बैठकमा उक्त निर्णय लिइएको उल्लेख गरेको छ ।

मुद्रास्फीतिलाई मध्यकालीन अवधिमा परिकल्पना गरिएको पाँच प्रतिशतको स्तरमा स्थिर बनाउने लक्ष्यसँगै घरेलु अर्थतन्त्रमा कम मुद्रास्फीति बनाउने अपेक्षासहित मौद्रिक बोर्डले वर्तमान र अपेक्षित घटनाक्रमको विश्लेषण गरी यस्तो निर्णय लिएको केन्द्रीय बैंकले जनाएको छ । यो निर्णयले अर्थतन्त्रको सम्भावित वृद्धिलाई सक्षम बनाउने अपेक्षा गरिएको छ ।

यसअघिको मौद्रिक नीतिलाई उल्लेखनीयरूपमा खुकुलो बनाएसँगै नीतिगत ब्याजदरमा गरिएको यो कटौतीले आगामी दिनमा बजार ब्याजदर विशेषगरी कर्जा दरहरूलाई कम गर्न गति प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया