जङ्गली हात्ती उखु बालीमा पसेपछि …

कञ्चनपुर । बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित छन् । कृषि विकास बैंकबाट १० लाख ऋण निकालेर उनले उखुखेती गरेका थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले रानाको डेढ बिघा जग्गामा गरिएको उखुखेतीमध्ये आधा बिघाको उखु पूरै कुल्चेर तथा खाएर नोक्सानी गरेको छ ।
छिमेकीले फोन गरेर रातिका बेला उखु बारीमा हात्तीको बथान पसेको जानकारी दिएपछि आगोको राँको बालेर तर्साएर मुस्किलले भगाउन सकिएको उनले बताए । घर नजिकै उखुबारी भएकाले तीनवटा छावासहित १० बढीको सङ्ख्यामा रहेको हात्तीको बथान तीन दिनदेखि लगातार आउन थालेकाले ज्यान जोगाउनकै पिरलो रहेको नन्दरानी रानाले बताए ।
रानाको जस्तै स्थानीय किसान तप्त ठकुल्लाको तीन कठ्ठामा काट्न बाँकी रहेको हरियो धान र काटेको दुई कठ्ठाको धान पूरै हात्तीको बथानले खाएर नोक्सानी गरेको छ । वडा नं ७ सिमलफाँटाका गङ्गादत्त भट्टको पाँच कठ्ठाको काट्ने तयारी अवस्थामा रहेको धानबाली हात्तीको बथानले पूरै सखाप पारेको छ ।
भट्ट परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । हात्ती भगाउनका लागि नगरपालिका, वडा कार्यालयमा पटाखा, टर्चको व्यवस्था गरिदिन भने पनि बेवास्ता गरिएको उनले बताए । निकुञ्ज छेउकै बस्ती भएकाले हात्तीलगायतका जङगली जनावरबाट निकै पीडित रहेको उनले उल्लेख गरे ।
वडा नं ६ का वडाध्यक्ष दानसिंह ऐरले किसानको बालीनाली जङ्गली हात्तीको बथानबाट जोगाउनका लागि संवेदनशील क्षेत्रमा विद्युतीय स्वचालित बत्ती जडान गर्नमा जुटेको बताए ।

प्रतिक्रिया