शनिबार, असोज २६, २०८१

विश्व आतंकवादबाट पिल्सिएका हामी नेपाली

सुनिल उलक २०८० असोज २६ गते ८:१७

यहूदी र प्यालेस्टाइनीहरुको समस्या आजको होइन । इशा पूर्व २ हजारमा कानानाइट सभ्यताको शुरुवात भएको थियो । यहिँ सभ्यताको शुरुवात भएको ठाउँ पछि यहूदीहरुको वासस्थान हुनपुग्यो जहाँ यहूदीहरुले इजरायल राज्यको स्थापना गरेका थिए । इश्वी सम्वतको दोश्रो शताव्दी तिर यो राज्यमा रोम साम्राज्यको आक्रमण भयो र रोमन साम्राज्यमा बिलिन भयो । यहूदीहरु धेरै मारिए, कतिपय बाँचेकाहरु पनि दासका रुपमा रोमनहरुले लिएर गए ।

बिसौ शताव्दीको शुरुवात तिर यस क्षेत्रमा रहेको ओटोमन साम्राज्यको हार भए पछि बेलायतले प्यालेस्टाइन नाम गरेको क्षेत्र आफ्नो नियन्त्रणमा लिएर राज्य गर्न थाल्यो । पहिलो विश्व युद्धको समाप्तीसंगै यहूदीहरु प्यालेस्टाइनमा आउन थाले ।

दोश्रो विश्व युद्धको शुरुवातसंगै यूरोपको अधिकांश देशमा हिटलरको आतंक फैलियो । यहि समय हिटलरले यहूदीलाई विश्वबाटै निर्मुल गर्ने प्रयास गरे । होलोकाष्टका नाममा शुरु भएको नरसंहारमा हिटलरले यूरोपमा रहेका ६० लाख यहूदीलाई मारेको अनुमान गरिन्छ । हिटलरले त्यति बेला भन्ने गर्दथे, यहूदीहरु परिजीवि हुन जो केवल अर्काको शरिरमा बाँच्न खोज्दछन् ।

दोश्रो विश्व युद्धको समाप्ती पछि सन १९४७ मा संयुक्त राष्ट्र संघले प्यालेस्टाइनलाई बिभाजन गरेर यहूदीहरुका लागि राज्य स्थापनाका लागि मतदान गराइ बहुमतबाट पारित गरायो । सन १९४८ मा आपसी द्वन्द चर्कियो । त्यहाँ तीन वटा समुह यहूदी, अरवी र बेलायतको शासन बिरुद्ध लडाइ हुन थाल्यो ।

बेलायत यो द्वन्दबाट मुक्त हुन बाहिरियो । भने अरब र यहूदीको लडाइ चर्किदै गयो । शरणार्थीका रुपमा भरिएको गाजा स्ट्रीपमा इजरायलले स्वतन्त्र राष्ट्रको घोषणा गर्दै राज्य बिस्तार गर्न थाल्यो । शरण दिएको राष्ट्र प्यालेस्टाइनको भूभाग बिस्तारै इजरायलको हुँदै गयो ।

यसरी आफ्नो राष्ट्र नै गुम्न थाले पछि इजरायल बिरुद्ध लडिरहेको प्यालेस्टाइनीहरु बिस्तारै गलत बाटो तर्फ लागे । गुरिल्ला युद्धका रुपमा आक्रमण गरिरहेको प्यालेस्टाइनीहरु बिस्तारै आतंकवादी बन्न थाले । बिभिन्न संगठनका नाम दिएर इजरायल बिरुद्ध युद्ध लड्न थाले । यसै मध्य एक संगठनको नाम हो हमास । हमास अहिले प्यालेस्टाइनकाे सरकार चलाउने स‌गठन नै भएको छ ।

यही वर्ष ७ अक्टोवर पछि इजरायल तथा गाजा युद्ध भूमी हुन पुगेको छ । यस पटकको हमासको आक्रमणमा इजारायलले ठूलो क्षति ब्यहोर्नु पर्यो । यो इजरायलका लागि सह्य थिएन । यसर्थ गाजा बिरुद्ध युद्धको घोषणा नै गरे इजरायलले ।

हमासको आक्रमणमा इजरायलमा अध्ययन गरिरहेका केही नेपालीले जीवन गुमाउन पुगे । केही घाइते अवस्थामा उपचाररत छन् । लगातार भइरहेको लडाइका कारण नेपाल सरकारले इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित स्वदेश फर्काउन शुरु गरिसकेको छ । मृत्यु भएका नेपालीहरुको शव इजरायल सरकारले हस्तान्तरण नगर्दा फिर्ता ल्याउन समस्या भएको छ ।

असुरक्षित देश इजरायलमा धेरै वर्ष देखि बसिरहेका नेपालीहरु पनि युद्ध भूमीसंग अभ्यस्त भइसकेका छन् । आँखा अगाडि रकेट प्रहारबाट भवन जलिरहँदा पनि हामी सुरक्षित छौ, चिन्ता लिनु पर्दैन भन्दै नेपालमा परिवारलाई फोन गरिरहेका हुन्छन् । हामी देशको अवस्थाबाट यति दिक्क भइसकेका छौ कि हत्केलामा मृत्यु बोकेर पनि पराइ देशमा रमाउन बाध्य भएका छौ ।

इराकमा नेपालीहरुको हत्या भयो । ति सबै मध्यम परिवारका तर ठूलो सपना बोकेका थिए । आज इजरायलमा नेपालीहरुको मृत्यु भयो । ति सबै साधारण परिवारका तर जिम्मेवारी र सपना ठूलो बोकेका थिए । तर ति सपना कहिल्यै पुरा नहुने भयो ।

दैनिक हजारौ युवायुवती बिदेशिन बाध्य हुँदै गएको छ । एकथरि रोजगारीको खोजीमा जान्छन । अर्को थरि उच्च शिक्षाकाे नाममा बिदेशिन्छन् । र तेश्रो समुह देखेर अझ उच्छवास लाग्छ । ति बाबुआमा जो छोराबुहारी र छोरीज्वाइ बिदेशिएका कारणले आफू पनि बिदेशिएको हुन्छ । कोही तेल भिसामा छोटो अवधिका लागि भने कोही केयरटेकर झै लामो समयका लागि । महावीर पुन त्यसै बौलाउदैनथ्यो ।

नेपालमा उद्योग खोलौ, रोजगारीका अवसर सिर्जना गरौ । युवा पलायन हुनबाट जोगाऔ भन्दै फलाक्दैनथे । स्वदेशको माया ति बिदेशीने युवायुवतीलाई मात्र होइन तिनका बाबुआमालाई पनि छैन । कहिले छोराछोरीले बोलाउला र बिदेश जाउँला भनेर ‍‍औला भाँचेर बसिरहन्छ ।

सन २००४ मा १२ नेपाली इराकमा आतंकवादीहरुबाट मारिएका थिए । सन २०१६ मा १२ नेपाली काबुलमा आतंकवादी कृयाकलापबाट मारिएका थिए । आज २०२३ मा १० नेपाली (एकको अवस्था अज्ञात) इजरायलमा मारिए ।

आखिर जहाँ जे जति कारणले मारिएको देखिए पनि अन्तत नेपालको निकम्मा राजनैतिक खिचातानीले देश घिस्रिन थाले पछि ठूलो सपना बोकेर ऋण खोजेर बिदेशीएका नेपाली नै मारिएका हुन ।

प्रतिक्रिया