शनिबार, असोज २६, २०८१

कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकार बनाउन सांसद सञ्जय गौतमको माग

नेपालखोज २०८० असोज २६ गते १५:५५

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले भने, ‘सुकुम्बासीको समस्या समाधान नगर्ने, विकास को काम नगर्ने, महंगी नियन्त्रण नगर्ने, राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खाली सत्ताको लुछाचुँडीमा रहने हो भने …।’

प्रचण्ड नेतृत्वको सरकारको विकल्प आवश्यक रहेको बताउँदै कांग्रेस सांसद गौतम अगाडि भन्छन्, ‘यही गति र यही मतिमा चल्ने हो भने यस (सरकार)ले राम्रो परिणाम ल्याउँदैन । नेपाली जनताका अगाडि धेरै विकल्प छैन । यस्तै हो भने नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गरौं समयमै ।’

कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएका उल्लेख गर्दै उनले संविधानको रक्षाका लागि समेत राष्ट्रिय सरकार आवश्यक रहेको बताए । ‘कांग्रेस सबैभन्दा ठूलो दल हो । सबै मिलेर एकपल्ट राष्ट्रिय सरकार बनाऔं । होइन भने क्रान्ति र परिवर्तन सबै सिद्धिएर जान्छन् । त्यसले कहाँ पुर्याउँछ थाहा छैन’ उनले भने ।

प्रतिक्रिया