शनिबार, वैशाख १५, २०८१

मैले विद्रोह गरेको होइन, संविधानले दिएको अधिकार प्रयोग मात्रै गरेको हो : केदार कार्की

नेपालखोज २०८० असोज २८ गते १६:३९

नेपाली काँग्रेस भित्र विद्रोह गर्दै केदार कार्की कोसी प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुनुभएको छ। एमालेका ३९ र काँग्रेसको विद्रोही समूहका ८ जनाको समर्थनमा शनिवार मुख्यमन्त्री नियुक्त हुनुभएको हो। उहाँले आज (आइतबार) २ बजे पद तथा गोपनीयताको शपथ लिने योजना छ।

सत्तारूढ गठबन्धनले इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेपछि काँग्रेसको शेखर कोइराला समूहका ८ जना सांसदलाई लिएर कार्कीले विद्रोह गर्नुभयो। उहाँ शेखर समूहकै हुनुहुन्छ।

संविधानको धारा १६८ को ५ ले दिएको सुविधा प्रयोग गर्दै उहाँले मुख्यमन्त्री बन्न अख्तियार गरेको बाटोलाई काँग्रेसकै बहुमत हिस्साले गलत मात्र भनेकै छैन उहाँकै समूहका नेताहरूले पनि अराजनीतिक र अनैतिक भनेका छन्। यद्यपि नेता कार्की मुख्यमन्त्री बनेपछि गठबन्धनका शीर्ष नेताले उनलाई नै स्वीकार गरेका छन्।यो सँगै बजारमा विभिन्न किसिमका अनुमान गर्न थालिएको छ, के साँच्चीकै गठबन्धनले कार्कीलाई गोप्य रूपमा मुख्यमन्त्रीको रूपमा अघि सारेको थियो त, या मुख्यमन्त्री बनेपछि उहाँलाई स्वीकार गर्न गठबन्धन बाध्य भएको हो ? यी र यस्तै विषयमा केन्द्रित रहेर उनै नवनियुक्त मुख्यमन्त्री कार्कीसँग गरिएको कुराकानीको सार–

आफ्नै पार्टी भित्र विद्रोह गर्दै मुख्यमन्त्री भइरहँदा यो रहर थियो की बाध्यता ?

–कोसीको अङ्क गणितीय अवस्थाले प्रदेशमा स्थिर सरकारको कल्पना गर्न सकिएन। संविधानको धारा १६८ को उपधारा ५ मा पुग्दा पनि गठबन्धनको मात्रै सङ्ख्याले प्रदेश मध्यावधिमा जाने निश्चित देखेपछि त्यो रोक्नका लागि मैले कदम चालेको हो।जसमा कोसीमा मध्यावधि निर्वाचन रोक्न सांसदहरूले मलाई रोज्नु भयो। जुन कार्य मबाट भएको छ त्यसलाई पार्टी र नेतृत्वले अस्वाभाविक रूपमा नलिने विश्वास छ।

संविधान मान्ने र संविधानवादमा विश्वास गर्ने पार्टी संविधानसम्मत गरेको कामकारबाहीलाई सकारात्मक लिन्छ भन्ने मैले ठानेको छु। पार्टी भित्रका साथीहरू र बाहिरका साथीहरूले पहिलो चरणमा मेरो यो कार्यलाई अस्वाभाविक जस्तो मान्नु भए पनि त्यसको परिणाम आइसकेकाले अब स्वाभाविक रूपमा सबैले आत्मसात् गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ।

नेपाली काँग्रेस भित्र विद्रोह गर्दै एमालेसँग गठबन्धन भयो,केन्द्रमा यसको प्रभाव पर्छ की पर्दैन ?

–मैले प्रदेशको प्राक्टिस गरेको हो। सङ्घीयताको अभ्यास गरेको हो।त्यसैले यसले केन्द्रमा प्रभाव पर्छ पर्दैन भनेर परीक्षण गरी हाल्ने समय आएको छैन।प्रभाव पर्छ पर्दैन भन्ने कुरा भोलीको समयलाई छाडिदिऊ। तर अहिले मलाई लाग्छ, पार्टीकै सदस्यको नेतृत्वमा सरकार बनाउन म सफल भएकोमा आफूलाई काँग्रेसले स्याबासी दिने अपेक्षा गरेको छु।

तपाई एमालेको जगमा मुख्यमन्त्री बन्नु भएको छ, काँग्रेसको अनुशासनबाहिर तपाई जानु भएको हैन र ?

–म काँग्रेसको अनुशासन बाहिर कसरी गए? काँग्रेस पार्टीबाट टिकट पाएर निर्वाचित भएको सांसद हो म, जनताले जिताएको अब फेरी काँग्रेसकै मुख्यमन्त्री बन्दा फेरी काँग्रेसबाट बाहिर गयो कि भित्र ? यहाँ त प्रश्न सोध्नेहरूलाई सोध्नु होला। प्रश्न गर्नेहरूलाई म भन्न चाहन्छु, पार्टीले चुनावमा टिकट दिएर, जिताएर प्रदेशसभामा पठाएको संविधान अनुसार काम गर, जनतालाई सेवा देऊ भनेर हो। हामीले संविधान अनुसार बहुमत पुर्‍याएर सरकार बनाएका छौँ। मलाई अहिलेसम्म पार्टीले कारबाही नगरेको, स्पष्टीकरण पनि नसोधेकोले मैले यो कदम चल्दा विद्रोह गरेको नभई संविधानले दिएको अधिकार प्रयोग मात्रै प्रयोग गरेको हो। मैले नेपालको संविधान ऐन, कानुन पालना गरेर मुख्यमन्त्री बनेकामा पार्टीले बधाई र स्याबासी नै दिनेछ भन्ने मलाई लाग्छ।

आज मुख्यमन्त्रीको शपथ पछि एमालेसहितको सरकार बन्छ की गठबन्धन दलको सहभागिता रहन्छ ?

–अहिले जो माननीयज्यूहरूले विश्वासका साथ मलाई मुख्यमन्त्री बनाउनु भएको छ, माननीय ज्यूहरूसँग सर–सल्लाहपछि निर्णय लिनेछु। त्यो पछिको कुरा हो। काम गर्दै जाँदा थाहा हुनेछ।आज शपथसँग सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने योजना छ तर मन्त्री कसलाई बनाउने भन्ने तय भइसकेको छैन।आफूसँग रहेका ८ काँग्रेसका सांसदसँग सल्लाह गरेपछि थप योजना बनाउने भए पनि मुख्यमन्त्रीका रूपमा सबै सांसद बराबर रहेकोले सबैको एकता र सहकार्यबाट अगाडि बढ्ने छु।

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धन बलियो बनाउने सहमतिले एमाले सशङ्कित हुने अवस्था आएको हो ?

–अब त्यो चाहिँ मलाई अहिलेसम्म  थाहा छैन। उहाँले सहमति गरेको या नगरेको कुरामा। त्यो केन्द्रमा भएको सहमति मैले अहिले यसै हो भनी हाल्ने अवस्था छैन।

प्रधानमन्त्री पुष्पकमल दाहालले त तपाई नै गठबन्धनकै मुख्यमन्त्री हो भनेर भन्नु भएको छ नि, के गठबन्धनको योजना अनुसार नै तपाई मुख्यमन्त्रीको लागि दाबी पेस गर्नु भएको थियो ?

–अब मलाई मुख्यमन्त्रीका रूपमा गठबन्धन दलले पनि स्वीकार गर्‍यो भने, भोली त्यसले एउटा रूप लेला, अहिलेको अवस्थामा चाहिँ मैले यो कसरी अगाडी जान्छ भनेर चाहिँ  मुख्यमन्त्रीको शपथग्रहण गरेपछि मात्र भन्न सक्ने अवस्था रहला।

कोसी प्रदेश सभामा काँग्रेस अब सत्ता पक्ष की प्रतिपक्ष ?

–तपाई ढुक्क हुनुहोला, काँग्रेस प्रदेश सभा बैठकमा सत्तापक्षमा नै रहने छ। काँग्रेस सत्ता पक्षमा नै बस्छ म काँग्रेसकै हो,काँग्रेसबाटै म मुख्यमन्त्री बनेको हो,त्यस कारण मलाई काँग्रेसले मलाई स्वीकार छ र स्विकारेको पनि छ। त्यसैले पनि काँग्रेस सत्ता पक्षको बेन्चमा नै रहन्छ।

यदि काँग्रेसले तपाईँलाई पार्टीको निर्देशन विपरीत काम गरेको भनेर अनुशासन उल्लङ्घन गरेकोले कारबाही गर्‍यो भने तपाई के गर्नु हुन्छ?

–त्यो त्यतिखेरै थाहा हुन्छ, अहिले नै के हुन्छ भनेर अनुमानको भरमा  बोल्नु भन्दा गरिसकेपछि त्यसमा बोल्नु पर्छ,त्यो राम्रो हुन्छ। अहिले नै हतारमा अनुमान नगरौँ।

तपाईँले पार्टीको निर्देशन विपरीत मुख्यमन्त्रीमा दाबी गरेपछि पार्टी सभापति शेरबहादुर देउवासँग संवादहीनताको अवस्था रह्यो भन्ने छ नि ?

–मुख्यमन्त्री भएको एक दिन पनि भएको छैन, औपचारिक रूपमा आज मुख्यमन्त्रीको शपथ खाएपछि मात्र मुख्यमन्त्री हो नि, शपथग्रहण गरेपछि हैन। निश्चय नै पार्टी सभापतिसँग कुरा भई हाल्छ नि। INS

प्रतिक्रिया