नेपालगञ्जमा ऐतिहासिक रामलीला मञ्चन

नेपालखोज २०८० असोज २९ गते ७:४५

बाँके । ऐतिहासिक रामलीलाको १५६ औँ संस्करण नेपालगञ्जमा आइतबारदेखि मञ्चन सुरु भएको छ । भारतको वृन्दावनबाट आएका कलाकार टोलीले राम, सीता, लक्ष्मण, हनुमान र रावणको ‘रामलीला’ प्रदर्शन गर्न थालेका हुन्  । 

रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले वृन्दावन धामका जगदिशप्रसाद शर्मा नेतृत्वको २२ सदस्यीय संगीतमय कलाकार टोलीले रामलीला मञ्चन गर्न थालेका जानकारी दिए । 

उनका अनुसार सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ ।

धनुष यज्ञ, रावण वध, भरत मिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्छ । 

यसक्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको नेपालगञ्जका अगुवा नन्दलाल वैश्यले बताए ।  रामलीलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुन्छ ।  

 नेपालगञ्जको ऐतिहासिक र धार्मिक परम्पराका रुपमा स्थापित रामलीलालाई जोगाइराख्न सहयोग संकलन गरेर पनि रामलीला महोत्सव गर्दै आएको प्रचारमन्त्री आदित्य गुप्ताले जानकारी दिए । 

रामलीला शुभारम्भ समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न रामलीला सहयोगी हुने बताए ।  

प्रतिक्रिया