आइतबार, वैशाख ३०, २०८१

पाउरोटीको इतिहास

सुनिल उलक २०८० असोज २९ गते ११:५६

पाउरोटी अचेल पनि बिक्री हुन्छ । स्वादमा पनि धेरै किसिमका पाउरोटी पाउन थालेका छन् । तर उ बेलाको सम्झना सधै रहिरहन्छ । त्यो बेलाको स्वाद अब पाइदैन । जसले खाएको थियो ति कसैले पनि त्यो बेलाको पाउरोटीको स्वाद बिर्सन सक्दैन पनि होला ।

तर पाउरोटीको कथा भने निक रोचक छ । हामी बच्चा हुँदा हामीलाई खुट्टाले पिठो गुँथेर बनाउने रोटी भएको हुँदा यसको नाम पाउरोटी भएको हो, त्यसैले खानु हुदैन भनिन्थ्यो ।

हाम्रै घर अगाडि जब मिलन पाउरोटी उद्योग खुल्यो । त्यहाँ हातले पिठो गुँथेको देख्यौ । खुट्टाले पिठो गुँथ्ने गर्दैन भन्ने थाहा पाएपछि पाउरोटी निकै खान थाल्यौं । भर्खरै भट्टीबाट पाउरोटी निकाल्दा टोल नै पाउरोटीको बास्नाले हररर हुन्थ्यो । अनि हामी दुइ रुपैयाँ बोकेर दौडन्थ्यौ । त्यो सानो खालको पाउरोटी दुइ रुपैयाँमा पाइन्थ्यो ।

पाउरोटीको इतिहास

पाउरोटीको नाम रहनुको कारण भने पोर्चुगली भाषाको ‘पाव (pão)’बाट भएको हो । पोर्चुगलीहरुले रोटीलाई pão भन्ने गर्दछ । सन १४९८ को २० मईमा पहिलो पटक पोर्चुगली नाविक भास्को डि गामाको पानीजहाज भारतीय उपमहाद्वीपको कालीकट (केरला) पुग्यो । उनले भारतीय भूमीमा ब्यापारिक सम्भावनाहरु देखे ।

उनी पोर्चुगल फर्के पछि पोर्चुगलीहरु भारत आउन थाले । उनिहरु मुख्यतया गोवामा रहन थाले । पोर्चुगल सरकारले भारतको पश्चिम भागतर्फ आफ्नो उपनिवेसी राज्य नै बनाए । भारतका मरमसलाहरु यूरोप लगेर बेच्न थाले । यहीँ देखेर पछि ईष्ट इण्डिया कम्पनीले पनि भारतीय उपमहाद्वीप प्रवेश गरेको थियो ।

यहीँ पोर्चुगलीले खाने pão मा भारतीयले रोटी शब्द जोडेर पावरोटी भन्न थाले । नेपालमा भने पाउरोटी नामाकरण भयो । जंगबहादुरको समयमा गजराज राजकर्णिकारको मिठाई दुकान थियो । राजकर्णिकारका रुपमा चिरपरिचित हलवाईहरुलाई भने मल्लकालमा मिठाइहरु बनाउनका लागि भारतबाट नेपाल भित्राइएको भनिन्छ ।

यसका खासै तथ्य नदेखिए पनि भारतमा पाइने हलवाईहरुको कर्म र नेपालमा रहेका हलवाईहरुको कर्म एउटै भएको हुँदा एउटै हुन भन्न सकिने आधार पाइन्छ । गजराजको मिठाई दुकान राणाहरुका दरवारमा मिठाइ पठाउने काम गर्दथ्यो । उनका नाति कृष्णबहादुर विभिन्न कारणले भारत पलायन भए । उनले त्यहीँ पाउरोटी बनाउन सिके ।

नेपालमा पाउरोटी

२००५ सालमा नेपाल फर्केपछि उनै कृष्णबहादुरले शुरुमा चोखो शुद्ध ताजा पाउरोटी नामले साइनवोर्ड राखेका थिए । २०१६ सालमा कृष्णबहादुरको अचानक देहावसान भए पछि चार छोराहरु मिलेर संयुक्त रुपमा कृष्ण पाउरोटी भण्डार नामबाट दर्ता गरेर आधुनिक मेशिनबाट पाउरोटी उत्पादन गरेर बिक्री वितरण थाले । यहीँबाट नेपालमा पनि आधुनिक पाउरोटी उद्योगको शुरुवात भयो । पछि विभिन्न नाममा काठमाडौंमा पाउरोटी उद्योगहरु खुले ।

कृष्ण पाउरोटीको बिक्री अत्यधिक हुँदै गर्दा उपत्यकामा अन्य पाउरोटी उद्योगहरु तेज पाउरोटी, अशोक विणायक पाउरोटी, हिमाली पाउरोटी, यती पाउरोटी, पन्ना पाउरोटी, अन्नपूर्ण पाउरोटी आदि पाउरोटी उद्योगहरु खुलिसकेका थिए । अचेल कतिपय पाउरोटीहरु पाइदैनन् ।

त्यति बेलाको चर्चित बिज्ञापनले बच्चा बुढा सबैलाई आकर्षित गर्दथ्यो ।
म त जान्छु खाजा खान्छु
कृष्ण पाउरोटी
कृष्ण कृष्ण कृष्ण कृष्ण पाउरोटी

पोखरामा पाउरोटी

पोखरामा भने पहिलो पाउरोटी उद्योग कमल पाउरोटी उद्योग खुलेको थियो । काठमाडौं इन्द्रचोक निवासी खजाञ्ची बद्रीलाल श्रेष्ठले शुरु गर्नुभएको थियो । वहाँ नेपाल बैंकमा खजाञ्चीको जागिर सिलसिलामा पोखरा आएका थिए ।

पोखरामा नै रहँदा २०२७-२८ सालतिर पाउरोटी उद्योग खोलेका थिए । सो उद्योग ३ वर्ष जति सञ्चालनमा रह्यो । कमल पाउरोटी पछि पोखरामा अन्नपूर्ण कृष्ण पाउरोटी भण्डार खुलेको थियो । त्यहि बेला मिलन पाउरोटी हाम्रो घर अगाडि खुलेको थियो ।

२०३० साल मंसिर १ गते पोखरामा लक्ष्मी पाउरोटी भण्डारले पाउरोटी उत्पादन थालेको थियो । पछि २०३६ सालमा पोखरामा आधुनिक मेशिन जडान गरि सञ्चालन गर्ने उद्धेश्यले लक्ष्मी पाउरोटी भण्डार प्रा.लि. दर्ता भयो ।

योगेन्द्रमान पालिखेबाट आमा लक्ष्मी देवी पालिखेको नाममा स्थापित लक्ष्मी पाउरोटी उद्योगले २०३८ साउन १ गते देखि आधुनिक मेशिनबाट उत्पादित पाउरोटीको बिक्री गर्न थालेको थियो । निकै लामो समयसम्म चलिरहेको यो उद्योग पछि बन्द भयो । यस्तै पोखरामा अर्को पाउरोटी उद्योगका रुपमा आधुनिक मेशिन जडान गरि फेवा पाउरोटी उद्योग पनि स्थापना भयो ।

प्रतिक्रिया