बिहीबार, वैशाख २०, २०८१

मुम्बईममा प्रिमियर हुँदै ‘चिसो घर’

नेपालखोज २०८० असोज २९ गते १६:४२

काठमाडौं । मुम्बई चलचित्र महोत्सव-२०२३ मा नेपाली चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) को लागि छनोट भएको छ । महोत्सव कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुनेछ ।

एभरेष्ट फिल्म एकेडेमीबाट चलचित्र अध्ययनमा डिप्लोमा गरेकी विदुर्षी गिरीले लेखनसँगै निर्देशन गरेकाे छोटो चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) को लागि छनोट भएको हो । सामाजिक कथा वस्तुमा आधारित उक्त चलचित्र ११ मिनेट लामो छ ।

‘मैले गरेको पहिलो काम नै अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुँदा उत्साहित छु । विश्वभरका चलचित्रकर्मीसँग ज्ञान र अनुभव साट्नुका साथै त्यहाँ चलचित्र हेर्न र आफ्नो चलचित्रको प्रतिक्रियाका निमित तयार छु’, निर्देशक गिरीले भने । उनका अनुसार ‘फोकस साउथ एसिया’ विधा अन्तर्गत चलचित्र छनोट भएको हो ।

चलचित्रमा सोनिका शाही ठकुरी, सरिता गिरी, लोकेन्द्र लेखक, सुवास बम्जन, मारिया कार्कीलगायतका कलाकारले अभिनय गरेका छन् । सोही महोत्सवमा चलचित्र ‘गाउँ आएको बाटो’ ‘साउथ एसिया प्रिमियर’ हुँदैछ । महोत्सवमा ‘द रेड सुटकेस’ र ‘गुराँस’ साउथ एसिया कम्पिटिसनअन्तर्गतको प्रतिस्पर्धामा छन् ।

महोत्सवमा दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर: द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ । छोटो चलचित्रको विधामा आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स’ पनि प्रतिस्पर्धामा छ ।

महोत्सवमार्फत नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियकरण हुन सहयोग मिलेको जानकार बताउँछन् । महोत्सवमा ७० देशका दुई सय ५० चलचित्र प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया