शनिबार, जेठ ५, २०८१

पोखराको प्रसिद्ध तालवाराही मन्दिर

सुनील उलक २०८० असोज ३० गते ५:५३

तालवाराहीको कथाभन्दा बढी अकथा भेटिन्छ । इतिहास भन्दा बढी किंवदन्तीले प्राथमिकता पाएको देखिन्छ । तालवाराही मन्दिर कसले कहिले बनाएका थिए भन्ने स्पष्ट देखिदैन । जतिले लेखेका छन् किंवदन्ती र रे का कथा नै लेखेको देखिन्छ ।

यो तालवाराहीको स्थापना कास्कीका राजा कुलमण्डन शाहको पालामा भएको भन्ने स्पष्ट आधारहरु भने देखिदैन । कास्कीका राजा सिद्धीनारायण शाहको समयमा हालको बैदाम क्षेत्रमा लैन थियो । यहाँ सैनिकहरु रहने गर्दथे । कतै आक्रमण गर्नु परेमा पनि यहिँबाट सैनिकहरु परिचालन गरिन्थे ।

बैदाम क्षेत्रमा सैनिकहरु परेड खेल्ने तथा बस्ने ब्यबस्था गरिएको थियो । सो स्थानलाई अहिले पनि लैन भन्ने गरिन्छ । यसर्थ सिद्धीनारायण शाहको समयमा मन्दिरको स्थापना भएको सम्भावना भने देखिन्छ । तर यहाँ भएको शिलालेखका अनुसार भने राजा रणबहादुर शाहको समयमा वि.सं. १८५४ मा मात्र माटोको गाह्रो भएको खरको छानो राखिएको सानो मन्दिर बनेको भन्ने बुझिन्छ ।

पुरानो तालवाराही मन्दिर जिर्ण बन्दै गरेपछि राजा महेन्द्रले पूननिर्माणका लागि पहल गरेका थिए । ताल किनारमा राजा महेन्द्रले रत्न मन्दिरका नाममा दरवार बनाएपछि दरवार अगाडि रहेको जिर्ण मन्दिरले शोभा दिएन । जसले गर्दा नयाँ मन्दिर बनाउन थालियो । २०१७ सालमा निर्माण सम्पन्न भएको सो मन्दिर पनि हाल पूननिर्माण हुँदैछ ।

अब जाउँ यहाँ प्रचलित किंवदन्तीमा

किंवदन्तीहरु पुरै कपोलकल्पित भने हुदैनन् । यसमा केही आधारहरु सत्यसंग जोडिएका हुन्छन् । यसर्थ इतिहासकारहरुले किंवदन्तीमा १०-२० प्रतिशत सत्य इतिहास रहेको मान्दछन् । पोखरामा रहेको तालवाराही मन्दिरको प्रचलित किंवदन्ती अनुसार यो मन्दिर रहेको थुम्कोमा एक बुढी आमाको बास रहेको थियो । अहिले ताल रहेको ठाउँमा बस्ति रहेको थियो । एक रात वास खोज्दै हिँडेका एक जोगीलाई बस्तीमा कसैले पनि बास दिएनछन् ।

अन्तमा बुढी आमाकोमा पुग्दा आमाले वास दिएर खाना समेत खुवाएका रहेछन् । बिहान पख जोगीले जाने बेलामा बुढीआमालाई यो ठाउँ जलमग्न भएर डुब्छ । समयमा नै सुरक्षित रुपमा अग्लो ठाउँमा गएर बस्न सुझाएछन् । ति जोगीका भनाइ अनुसार बुढीआमा सुरक्षित ठाउँ तर्फ बस्न गएछन् । नभन्दै गाउँमा बाढी पसेर पुरै गाउँ डुवानमा परेछ । यसरी फेवाताल बनेको किंवदन्ती रहेको छ । साथै बुढीआमाले सबैलाई तालको कथा र जोगीको भनाइ सुनाउने गर्दथे । बुढीआमाको निधन पछि तिनै बुढीआमाको छाप्रो जुन थुम्कोमा रहेको हुँदा डुवानमा परेको थिएन, यसैमा मन्दिर स्थापना गरेर तालवाराहीका रुपमा पूज्न थालेछन् ।

पोखरा बि।सं। १३१२ मा गएको भूकम्पले अन्नपूर्ण चौथो हिमालको करिव ५०० मीटरको चोइटा खसेर सेती नदीलाई खोचमा थुनेर हिमनदीलाई बग्नबाट रोक्यो । जसले गर्दा साब्चे उपत्यका पुरै जलमग्न भयो । केही समयसम्म थामिएको सो साब्चे उपत्यकाको बिशाल हिमनदीले बनेको ताल फुटेर आएको बाढीले अहिलेको पोखरा क्षेत्र जलमग्न भएको थियो । अहिले पनि पोखराको धरातलमा अन्नपूर्ण क्षेत्रबाट ल्याएको लेदो, ढुङ्गा, माटो, गेग्रानले चालिस मीटर ढाकेको छ ।

८०० वर्ष अगाडिको वास्तविक पोखरा ४० मीटर तल दबेर रहेको छ । यहि विशाल बाढीबाट बनेको बिशाल ताल बिस्तारै भिमाद क्षेत्रबाट पानीको निकास पाए पछि बस्ति योग्य भएको थियो । यहिँ बिशाल ताल सुकेपछि यस क्षेत्रमा रहेको होँचो भूभागहरुमा तालहरु बनेका थिए । २०० वर्ष अगाडिसम्म यस पोखरा क्षेत्रमा हजारौ ताल तथा पोखरीहरु थिए । अहिले केही ताल र पोखरीहरु मात्र बाकी रहेको छ । फेवाताल पनि त्यहि समय बनेको विशाल ताल हो ।

प्रतिक्रिया