सामूहिक पुष्पखेतीमा गैँडाकोटका किसान

नेपालखोज २०८० असोज ३० गते १०:०६

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ मा दिदीबहिनी किसान समूहले पाँच वर्षदेखि सामूहिक पुष्पखेती गर्दै आएका छन् । स्थानीय महिला समूहमा आवद्ध भई वि.सं २०७६ देखि सामूहिक फूलखेती गर्दै आएका हुन् ।

सञ्चालनका समयमा छ कठ्ठा जग्गामा पुष्पखेती गरिएकोमा अहिले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै १५ कठ्ठा पुर्‍याइएको समूहमा आवद्ध लक्ष्मी अधिकारीले बताए । ‘व्यावसायिक पुष्पखेतीबाट राम्रो आम्दानी भएको छ । चार-पाँच जनाको समूह मिलेर खेती गरेका छौँ’, उनले भने, ‘बर्सेनी फूलको माग बढ्दो छ । स्थानीयस्तरदेखि जिल्ला बाहिरसमेत बिक्रीवितरण गर्ने गरेका छौँ ।’

अधिकारीका अनुसार समूहले गत वर्ष खेतीका लागि डेढलाख खर्च गरेर पाँच लाख आम्दानी गरेको छ । ‘अरू खेती गर्नुभन्दा पुष्पखेती सहज भएकाले पनि दिदीबहिनीको यसतर्फ आर्कषण बढ्न थालेको छ’, उनले भने । गैँडाकोट–२ का सरिता कार्कीले सामूहिक पुष्पखेतीबाट राम्रो आम्दानी गरेको बताए ।

तिहारमा मात्र नभएर पछिल्लो समय दैनिकरुपमा हुने औपचारिक कार्यक्रममा सयपत्री फूलको आर्कषण बढेकाले फूलको बजार राम्रो रहेको उनको भनाइ थियो । उनका अनुसार समूहले गरेको पुष्पखेतीमा कलकतिया, टेनिजवल प्रजातिका सयपत्री फूल लगाएका छन् ।

कावासोती नगरपालिका–७ की मिश्रा पराजुलीले आउँदै गरेको तिहारका लागि एक बिघा जमिनमा सयपत्री फूल लगाउनुभएको छ । चाडपर्वमा सयपत्री फूलको माग बढी हुने भएकाले आठ हजार बोट लगाएको उनले बताए । ‘फूल व्यवसायबाट राम्रो आम्दानी भएपछि दुई वर्षदेखि स्थानीय बजारको मागलाई मध्यनजर गर्दै फूल उत्पादन गर्न थालेका छौँ’, पराजुलीले भने ।

नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सामूहिक पुष्पखेतीतर्फ किसानको आर्कषण बढ्न थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । नगदेबालीका रूपमा विकास गरी कम लगानीले धेरै आम्दानी लिन सकिने हुनाले जिल्लाका विभिन्न स्थानमा सामूहिक पुष्पखेती गर्न थालिएको केन्द्रका बाली संरक्षण अधिकृत मीरा चौधरीले बताए ।

उनका अनुसार अहिले जिल्लाको गैँडाकोट, देवचुली, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा सामूहिक पुष्पखेती गर्ने क्रम बढेको छ । ‘कृतिम मालामा प्रतिबन्ध लगाएपछि सामूहिक खेतीतर्फ स्थानीय उत्साहित भएको पाएका छाैँ’, चौधरीले भने, ‘जिल्लालाई फूलमा आत्मनिर्भर बनाउन केन्द्रमार्फत बीउ उपलब्ध गराउँदै आएका छौँ ।’

प्रतिक्रिया