बुधबार, फागुन ९, २०८०

टीका अर्थात विजया दशमी

सुनिल उलक २०८० कार्तिक ९ गते १८:००

विजया दशमी शब्दले नै एउटा अर्थ दिन्छ यस दिन विजय उत्सवका रुपमा मनाउन थालिएको हुँदा विजया दशमी भनिएको हो । आखिर विजय कसले, कहाँ र कोसंग गरे भन्नेमा भने बिभिन्न आख्यानहरु प्रचलित छन् ।

महिषासुर नाम गरेका राक्षसलाई देवी दुर्गाले विजय गरेको एउटा आख्यान छ भने अर्को रामले रावण माथि विजय अभियान यसै दिन गरेको आख्यान पनि प्रचलित छ । यि दुइ आख्यान पुराण र रामायणका कथा हुन ।

तर तेश्रो इतिहासमा उल्लेख भएको भनिएको भने पृथ्वीनारायण शाहको विजय अभियान हो । बि.सं. १८०० मा नुवाकोट आक्रमणको प्रयास बिफल भएपछि १८०१ को आश्विन शुक्ल दशमीको दिन आमाको हातबाट अक्षताको टीका र आशिस बोकेर नुवाकोट आक्रमण गरि विजय प्राप्त भएको हुँदा आश्विन शुक्ल दशमीको दिन आसिस सहित अक्षताको टीका लगाउने चलनको शुरुवात भएको पनि भनिन्छ । यसर्थ अक्षताको टीकाको शुरुवात पृथ्वीनारायण शाहबाट नै भएको भन्ने आधार भेटिन्छ ।

अक्षताको टीका केवल नेपालको हिन्दुहरुले मात्र लगाउने हुँदा पनि शास्त्रमा अक्षताको टीका लगाउने उल्लेख नभएको जिकिर गर्न सकिन्छ । यदि शास्त्रमा उल्लेख गरिएको हुँदो हो त भारतीय हिन्दुहरुले पनि अक्षताको टीका लगाउनु पर्ने थियो । चन्दनको टीका लगाउने प्रचलन भारतीय हिन्दुहरुमा कतै कतै चार-पाँच दाना चामल टास्ने प्रचलन भने कतै कतै देखिन्छ तर नेपालको हिन्दुहरुले झै खानुपर्ने अन्न चामलमा मुछेर टीका बनाउने गरेको भने भेटिदैन ।

पृथ्वीनारायण शाहको एकीकरण अभियानसङै हारेका राज्यका जनताहरूलाई पृथ्वीनारायण शाहले नियुक्त गरेका बडाहाकिम सुब्बा वा उच्चपदस्थहरूलाई दर्शन गर्न जानुपर्ने नियम बनाए । जसले पृथ्वीनारायणका रैतीहरू हुन् भन्ने साबित गराउन चाहन्थे । पूर्वमा किराँत राज्य विजय गरेपछि बि.सं. १८३१ मा सम्झौता गरि सुवांगी प्रथाको शुरुवात गरेका थिए । जस अनुसार लिम्बुहरुलाई सुवांगी पद दिए जसले गर्दा सुब्बा भए । खम्बुलाई किपट उठाउने जिम्मा दिइ राई भए । सुनुवारहरुले मुखिया पद पाए । याक्खाहरुलाई देवान पद दिए । यसरी पाएको पद नै पछि थर कायम भयो । यसरी सुवांगी प्रथाको शुरुवात संगै रैतीहरुले दशमीको दिन कोसेली बोकेर सुवांगीसंग आशिर्वाद लिन जानुपर्ने नियम बनाए । यहि नियम नै अहिले ठूलाबडा कहाँ टीका थाप्न जाने प्रथा बन्यो ।

टीकामा अक्षता(चामल) को दुरुपयोग

आखिर चामलको उपयोग नै किन ? नेपालको पछिल्लो जनगणना अनुसार करिव २ करोड ३७ लाख हिन्दूहरु नेपालमा बसोबास गर्दछन् । जुन ५४ लाख परिवारहरु बराबर हो । यदि यी परिवारमा दुइ तिहाइले मात्रै दशैको टीका धुमधामले मनाउँने गर्दछन् भने पनि ३६ लाख परिवारले दशैमा टीका लगाउँछन् । यदि एक परिवारले टीकामा कम्तिमा दुइसय ग्राम चामलको प्रयोग गरे भने पनि ७२०० क्विन्टल चामल हुन आउँछ । एक नेपालीले वर्षमा ११० किलोग्राम चामलको भात खाने विश्व खाद्य संगठनको तथ्यलाई केलाउँदा हामीले एक दिन टीका लगाएर कम्तिमा करिव ६५४५ नेपालीलाई एक वर्ष पुग्ने चामल फेक्ने गर्दारहेछौ ।

प्रतिक्रिया