टी–२० विश्वकप छनोट : पहिलो दिन नेपाल, यूएई, ओमान र हङकङ विजयी

नेपालखोज २०८० कार्तिक १३ गते १९:०८

काठमाडौं । काठमाडौंमा सोमबारदेखि शुरु भएको विश्वकप टी–२० एसिया छनोटको पहिलो दिन नेपाल, यूएई, ओमान र हङकङ विजयी भएका छन् । नेपालले सिंगापुरलाई ८ विकेटले हरायो । कीर्तिपुर मैदानमा भएको खेलमा पहिले सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएकामा नेपालले १६.३ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो । 

ओमानले मलेसियालाई ३२ रनले हरायो । मूलपानी मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको ओमानले ६ विकेटको क्षतिमा १५३ रन बनायो । जवाफमा मलेसियाले ८ विकेटको क्षतिमा १२१ रनमात्र बनाउन सक्यो । त्यस्तै यूएईले बहराइनलाई ५ विकेटले हरायो । मूलपानी मैदानमा पहिले ब्याटिङ गरेको बहराइनले ६ विकेटको क्षतिमा १३५ रन बनायो । जवाफमा यूएईले १८.२ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो । 

त्यस्तै मूलपानीमा भएको खेलमा हङकङले कुवेतलाई १६ रनले हरायो । पहिले ब्याटिङ गरेको हङकङले ६ विकेटको क्षतिमा १६६ रन बनायो । जवाफमा कुवेतले ८ विकेटको क्षतिमा १५० रनमात्र बनायो । आठ टिम सहभागी छनोटमा नेपालको समूहमा सिंगापुरसँगै ओमान र मलेसिया रहेका छन् । समूह बीमा यूएई, बहराइन, हङकङ र कुवेत रहेका छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । 

समूह एका खेलहरु कीर्तिपुर मैदानमा र समूह बीका खेलहरु मूलपानी मैदानमा भइरहेका छन् । मंगलबारका खेलः 
कीर्तिपुर मैदानमा बिहान ९ बजे ओमानले सिंगापुरसँग खेल्दैछ । दिउँसो १ः३० बजे नेपालले मलेसियासँग खेल्दैछ । मूलपानी मैदानमा बहराइनले हङकङसँग बिहान ९ बजे खेल्दैछ । दिउँसो १ः३० बजे कुवेतले यूएईसँग खेल्नेछ । 

प्रतिक्रिया