चितवनमा पहिलो पटक आमाको नामबाट नागरिकता

नेपालखोज २०८० कार्तिक १४ गते २१:०३

चितवन । चितवनमा पहिलो पटक बाबु नभएको स्वघोषणा गरेर नागरिकता दिइएको छ । आज जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय विशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता दिइएको हो ।

मायादेवी उपाध्यायको छोरा विशाल उपाध्यायले बुबा रमाकान्त रखाल हालसम्म पहिचान हुन नसकेको भन्दै स्वघोषणा गरेसँगै उनलाई आमाको नामबाट नागरिकता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले जानकारी दिए । उनका अनुसार नेपालको नागरिकता ऐनको पहिलो संशोधन र नियमावलीको तेस्रो संशोधनअनुसार नागरिकता दिइएको हो ।

उपाध्याय परिमार्जित ऐनअनुसार नागरिकता लिने जिल्लामा पहिलो व्यक्ति भएको उनले बताए । उपाध्यायलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले नागरिकता प्रदान गरेका हुन् । थापाले ऐनमा भएको संशोधनले नागरिकताको समस्या समाधान भएको बताए ।

स्वघोषणा गरेपछि नागरिकता प्राप्त गरेका बाबु पहिचान भए स्वघोषणा गर्नेहरुलाई कारबाही हुने उनले बताए । कानुनअनुसार कैद र जरिवानाको व्यवस्था भएको उनले जानकारी दिए ।

श्रीमान् १८ वर्षदेखि सम्पर्कमा नआएपछि स्वघोषणा गर्न बाध्य भएको आमा मायादेवीले बताईन् । छोराले आफ्नो नामबाट नागरिकता पाएपछि आफू खुसी भएको र जिम्मेवारी थपिएको महसुस गरेको उनले बताईन् ।

प्रतिक्रिया