बुधबार, फागुन ९, २०८०

गुटेरेसको नेपाली पदचापका विश्व सन्देश

एकराज पाठक २०८० कार्तिक १६ गते ११:४६

काठमाडौं । करिब १४ वर्षअघि (२०६६ को मङ्सिर १९) मा सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद् बैठक बस्यो । त्यसताका नेपालमा जलवायु परिवर्तन के हो र यसले मानवसहित समग्र प्राणीजगत्को स्वास्थ्य र सभ्यतामै के असर गर्छ भन्ने तर्क र बहस सुरु भएका थिए ।

सुरुसुरुमा जलवायु परिवर्तनले हिमाल र हिमालय बस्तीलाई असर गर्ने दृष्टान्त प्रस्तुत हुँदै थिए । पछि यो राष्ट्रिय एजेण्डा नै बन्यो र यसले समग्रमा प्राणीजगत्को अस्तित्वमाथि नै छिट्टै धावा बोल्ने चर्चा थालिए । त्यसैले पनि हामी हिमालको बस्तीका मानिसले यो सम्भावित खतराको सन्देशलाई विश्वको सबै भूगोलमा पुर्याउनु थियो । यसकारण जलवायु परिवर्तनका यी सङ्कटलाई फरक शैलीबाट विश्वको ध्यान तान्नुपर्ने थियो । यसैको पृष्ठभूमिमा नेपाल सरकारले हिमाल पग्लिएकै ठाउँमा पुगेर बैठक गरेको थियो ।

विश्वका मिडियाले यो बैठकको समाचारलाई संसारमा फैलाए । हाम्रोजस्तै कार्यशैली अपनाएर मालदिभ्सले पनि समुद्रमुनि मन्त्रिपरिषद्को बैठक गरेको थियो । जसरी नेपालले हिमशृङ्खला पग्लिएर सकिँदैछ भन्ने सन्देश दिन सगरमाथाको फेदमै पुगेर बैठक गर्यो, त्यस्तै प्रतिकात्मक सन्देश दिन खोजेको थियो समुन्द्रमुनिको बैठकले । यी दुई बैठकको सन्देश थियो–हिमाल पग्लिएको पानी गएर समुद्रमा जम्मा हुन्छ र समुद्री सतह बढ्छ । अनि यता हिमालमा सुक्खापनले असर गर्छ, उता समुद्रको सतह बढेपछि वरपरको बस्ती डुब्छ ।

कालापत्थर बैठकको केही दिनपछि, सन् २००९ को डिसम्बरमा डेनमार्कको राजधानी कोपेनहेगनमा विश्व जलवायु सम्मेलन आह्वान गरिएको थियो । खासमा सोही सम्मेलनमा विश्वको ध्यान खिच्नका लागि गरिएका थिए यी बैठक । कोपेनहेगन बैठकमा नेपालले जलवायु परविर्तनका कारण नेपाल र पर्वतीय देशमा देखएिको सङ्कटबारे विश्वको ध्यानाकर्षण गराएको पनि थियो । जलवायु परिवर्तनले विश्वमा पार्दै आएको असर न्यूनीकरणका लागि विश्वका अरु पनि केही राष्ट्रले यस्तै फरक शैलीका बैठक तथा कार्यक्रम आयोजना गरेका थिए ।

तर दुःखद् कोपेनहेगन सम्मेलनको मुख्य वेबसाइटमा हाम्रो बैठकको सूचना थिएन, मालदिभ्सको थियो । सो सम्मेलनको वेबसाइट खोल्दा मालदिभ्सको बैठकको तस्बिर र सूचना सुरुमै आउँथ्यो तर हाम्रो कालापत्थरको आउँदैनथ्यो । सम्मेलनमा सहभागी प्रधानमन्त्री माधवकुमार नेपालले यस विषयमा चासो राखे र नेपालको राष्ट्रसङ्घीय मिसनका अधिकारीलाई सोधे । त्यसबेलाको राष्ट्रसङ्घीय नेपाली मिसनले त्यति चित्तबुझ्दो जवाफ दिन सकेका थिएनन् । सायद उनीहरुले ‘लबिङ’ या पहुँच पुर्याउन सकेका थिएनन् ।

सम्मेलनमा नेपालले नेपालका हिमाल पग्लिन थालेको र हिमाली बस्ती सङ्कटमा पर्न लागेको तथा मालदिभ्सले हिमशृङ्खला पग्लिन थालेकाले अब मालदिभ्स र यस्तै समुद्री किनारका देशका मानव बस्तीको अस्तित्व पनि सङ्कटमा पर्न सक्ने सम्बोधनका क्रममा जनाएका थिए । यसले विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको ध्यान खिचेको पनि थियो । जलवायु परिवर्तनका कारण नेपालजस्ता पीडित राष्ट्रहरुले पाउने क्षतिपूर्तिको प्रचलन नेपालको त्यो पहलले स्थापित गरायो । जुन अहिले पनि निरन्तर त छ तर प्रसस्तै अपुग छ, लाखौँ करोडौँ कोष टाढाका सूर्य भगवानलाई दुई थोपा अघ्र्य चढाएजस्तै ।

विगतका यी उदाहरणको तुलनामा यतिखेर भने नेपालले एक अभूतपूर्व अवसर प्राप्त गरेको छ । किनभने अबका केही दिनपछि राष्ट्रसङ्घीय विश्व जलवायु सम्मेलन हुँदैछ र त्यसको आयोजक संस्था संयुक्त राष्ट्रसङ्घका महासचिवले त्यही प्रभावित ठाउँमा आफैँ पुगेर अवस्थाको अध्ययन गरेका छन् ।

त्यो बैठकयता कति हिमाल पग्लियो र कति सेता हिमचुचुरा कालापत्थरमा परिणत भए भन्ने कुरा अनुसन्धानकै गर्भमा रहे पनि अब भने कालापत्थर बैठक गरेर विश्व सम्मेलनमा प्रतिकात्मक जानकारी दिनुपर्ने अवस्था छैन । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस त्यहीँ पुगे र प्रभावित क्षेत्रका बासिन्दासँग अन्तक्र्रियासमेत गरे ।

‘अहिले त्यही म अहिले यहाँ हिमालयमा छु । जहाँ हिमाल पग्लिरहेका छन् र हिमनदरू रेकर्ड लेभलमा छन् । अन्टार्टिका र ग्रीनल्याण्डमा जस्तै यहाँ पनि जलवायु परिवर्तनको गम्भीर असर देखिइरहेका छन् । हामीले बाढी पहिरो देख्नुपरेको छ । यहाँको समुदाय नाटकीयरूपमा प्रभावित भइरहेको छ । हामीले यसलाई रोक्न जरुरी छ ।’ जलवायु परिवर्तनका असरले हिमालय क्षेत्रको पर्यावरण र जनजीवनमा देखिन थालेका असर तथा त्यसको रोकथामका लागि मैले विश्वसमुदायको ध्यानाकर्षण गराउन चाहेको छु । हामीले बढ्दो तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्नसक्नुपर्छ । यसबाट हामी पछि हट्न सक्दैनौँ ।’

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत सोमबार सोलुखुम्बु जिल्लाको सगरमाथा क्षेत्रको अवलोकन गरेपछि सामाजिक सञ्जालको आफ्नै वालमार्फत दिएका भिडियो सन्देश हो यो । त्यसमा उनले जलवायु परिवर्तनको असरका रूपमा पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिन थालेको बताएका थिए ।

उनले जलवायु परिवर्तन रोकथामका लागि विश्व समुदायलाई आग्रह पनि गरे । त्यसअघि सोही दिन गुटेरेसलाई भेटेपछि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका स्थानीयले जलवायु परिवर्तनले के कस्ता समस्या उत्पन्न गरेको छ भन्नेबारेमा जानकारी गराएका थिए । उनीहरुले हिमनदी पग्लिनेक्रम बढेको, जलवायुजन्य हानिनोक्सानी बढेको, पानीका स्रोत र मुल सुक्दै गएका, स्थानीय बालीनालीमा जलवायुको असर परेको, नाङ्गा हिमालमा पानी पर्दा पहिरो जाने समस्या बढेकोजस्ता समस्या अवगत गराएका थिए ।

यो वास्तविकता देखेका महासचिव गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । महासचिव गुटेरेस जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हिमालमा पुगेका केही हप्तापछि नै जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन ९कोप–२८० को आयोजना हुँदैछ ।

सोही सम्मेलनमा आफूले विश्वको प्रदूषण वृद्धिमा धनी देशको भूमिका रहेको तर खुम्बु पासाङल्हामु गाउँपालिकाजस्ता दुर्गम स्थानका नागरिकको कुनै भूमिका नरहेको तथ्य उठाउने बताए।

नेपालको सङ्घीय संसद्लाई सम्बोधन गर्दा उनले जलवायु परिवर्तनको असर नेपालमा कति परेको छ र आफ्ना कारण विना नै नेपाल कसरी पीडित बन्नुपरेको छ भन्ने कुरा धनी र यसका कारक देशसँग राम्रोसँग उठाउने बताए ।

उनको यो भ्रमणले पक्कै पनि नेपालले नखाएको विष अब लाग्दै, लाग्नु हुँदैन र लागि नै हाले पनि विषको मात्रा नगन्य हुनुपर्छ भन्ने वास्तविकता विश्वका धनी दशेको कानमा पर्ने आशा गर्न सकिन्छ । यो हाम्रा लागि शुभ समाचार हो ।

महासचिव गुटेरेसको भ्रमणले बोकेको अर्को नेपाली सन्देश शान्तिको हो । हामीसँग विश्वमा अन्यत्र कतै वीरलै रहेका शान्तिका सन्देश छन् । जस्तो कि शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा राष्ट्रसङ्घीय महासचिव पुग्नु नै नेपालको शान्तिको सन्देश विश्वमा पुग्नु हो । यतिखेर विश्वको झण्डै एक तिहाइ जनसङ्ख्याले बुद्ध दर्शनलाई अँगालेका छन् । त्यसैले हामी नेपाली विश्वको कुनै पनि भूगोलका भन्दा भाग्यमानी हौँ । बुद्धका शान्तिका सन्देश विश्व जति आधुुनिक, विकसित र कथित समृद्ध हुँदै गएको छ त्यति नै सान्दर्भिक हुँदै गएका छन् । शान्तिका नाममा विश्वको कुनै पनि मानिसका दिमागमा सबैभन्दा पहिला आउने बुद्ध हुन र स्थान लुम्बिनी हो ।

त्यसैले त महासचिव गुटेरेस लुम्बिनी पुगेर विश्वका कुनै पनि युद्धरत मुलुकलाई युद्ध छोडेर शान्तिको बाटोमा लाग्न आग्रह गरे । मङ्गलबार बिहान गौतमबुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेपछि महासचिव गुटेरेसले मायादेवी मन्दिर अगाडिबाट सम्बोधन गर्दै युद्धग्रस्त मुलुकलाई शान्तिको मार्गमा लाग्न आग्रह गरे । उनले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनी एक पवित्र उद्यान हो भन्दै लुम्बिनीमा उभिएर विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई अत्यन्त खुसी लागेको बताए । उनले लुम्बिनीबाट यो आह्वान गरिरहँदा विश्वमा युक्रेन, रसिया, इजरायल, प्लानेस्टाइनसहित विभिन्न मुलुकमा युद्ध जारी छ । तिनका लागि उनको यो भ्रमणको सन्देश सान्दर्भिक छ ।

अर्को हामीसँगको शान्तिको सन्दशे भनेको विश्वका द्वन्द्वग्रस्त देशमा नेपाली सेनाको उपस्थिति र मध्यस्थता हो । सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेदेखि नै नेपालले विश्व शान्तिका लागि महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । राष्टसङ्घका आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा नेपाली सैनिक टोली खटिइआएको छ । विश्वका लगभग ४४ मिसनमा एक लाख ४६ हजारभन्दा बढी नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन् । संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामा योगदान दिने दोस्रो देशका रुपमा रहेको नेपालका अहिले पनि विश्वका करिब १२ मुलुकमा पाँच हजारभन्दा बढी सैन्य तथा प्रहरी कार्यरत छन् ।

शान्तिसँग जोडिएको नेपालको अर्को पाटो भनेको हामीले हाम्रो हाम्रो द्वन्द्वलाई कसरी आफ्नै मौलिक प्रयासबाट सम्पन्न गर्न सक्यौँ भन्ने पनि हो । संसारले नै अध्ययन गर्नुपर्ने गरी हामीले हाम्रो माटोको सशस्त्र द्वन्द्वको आफैँले व्यवस्थापन गर्यौँ र शान्ति स्थापनाको नेपाली मोडल स्थापना गरी देखाइदियौँ ।

विद्रोही पक्षलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभाको निर्वाचनमार्फत् सरकारमा पठाएर विद्रोहीपक्षकै संलग्नता र सहमतिबाट उत्कृष्ट समावेशी संविधान निर्माण गरी उनीहरुलाई नै सरकारको नेतृत्वमा पठाएको मोडल विश्वमा अन्यत्र सायदै पाइन्छ होला । जुन वास्तविकतालाई महासचिव गुटेरेसले पनि स्वीकार गरे र यसबाट विश्वले सिक्नुपर्ने अभिव्यक्ति पनि दिए । हामीले आर्जेका यी उपलब्धिहरुलाई बाह्य विश्वमा देखाउन महासचिव गुटेरेसको भ्रमण एउटा सुखद् अवसर र सन्देश दुवै हो ।

संयुक्त राष्ट्रसङ्घको महासचिव संसारका मिडियाले सबैभन्दा बढी पछ्याउने पद हो । संसारका शक्ति राष्ट्रका नेतृत्वको चियो गरेजस्तै मिडियाले समाचारमा महासचिवको पदचाप पनि बढीनै पछ्याउँछन् । त्यस्ता व्यक्तिको नेपाल भ्रमणले देशको कूटनीतिक उचाइ बढाउँछ नै । महासचिव गुटेरेसको यो भ्रमण नेपालका लागि एक महत्वपूर्ण कूटनीतिक लाभ हो । यो कूटनीतिक उपलब्धिभित्रै नेपालले भोगिरहेको जलवायु सङ्कट र नेपालको शान्तिको सन्देश संसारमा फैलाउने अर्को एक अवसर पनि हो ।

महासचिव गुटेरेसका नेपालको अर्थपूर्ण र महत्वपूर्ण पदचापको सन्देश जलवायु सङ्कट र शान्तिको सन्देश संसारमा पु¥याउनु हो । हाम्रा हिमालको सङ्कटलाई न्याय उनका आँखाले देख्दा जति प्रभावकारी अरुबाट कमै हुनसक्छ । त्यतिकै महत्वपूर्ण उनले लुम्बिनीबाट विश्वका अशान्त देश र द्वन्द्वहरुलाई शान्तिका लागि गरेका आह्वान छ । उनका पदचापले फैलाएका यी सन्देश विश्वमा कहाँ पुगे र त्यसबाट हामीले कसरी र के लाभ लिने भन्ने विषयलाई हाम्रो कूटनीतिक कौशलताले पछ्याउनुपर्ने खाँचो त छँदैछ ।

प्रतिक्रिया