आइतबार, जेठ ५, २०८२

बस्ती पातलियो, घरघरमै पस्छ चितुवा

नेपालखोज २०८० कार्तिक १६ गते १५:२२

बलेवा (बागलुङ) । गाउँमा घर रित्ता छन् । पाखो बारीमा रुख हुर्किरहेका छन् । खेतका फाँट कुकाठले भरिएर जङ्गल बनेको छ । बस्ती नजिकका पाखा केही वर्षअघि गाईबस्तुको चरिचरण क्षेत्र थियो । दिनभरि गाईबस्तु चरेकै कारण जङ्गल हुनबाट पाखा जोगिएका थिए । आजभोलि फुकुवा गाईबस्तु गाउँघरमा भेट्नै मुस्किल छ । त्यसैले ती पाखामा जङ्गल भरिएको छ ।

दश वर्षअघिसम्म बस्तीको नजिक नदेखिने जङ्गली जनावर आजभोलि बागलुङका ग्रामीण बस्तीका घरघरमै देखिन थालेका छन् । जङ्गली जनावर बस्ती नजिक मात्रै पुगेका होइनन् एकाद घरमा ती जनावरले क्षतिसमेत पुर्‍याउन थालेका छन् ।

जिल्लाको दक्षिण जैमिनी नगरपालिका–१ कुश्मीशेराकी चन्द्रमा शर्माको गोठमा चार दिनअघि चितुवा पस्यो । साँझकै समयमा घरदेखि केही परको जङ्गलमा कराइरहेको चितुवा रातको समयमा गोठमा पसेर खोरमा थुनेका बाख्रालाई आक्रमण गर्‍यो ।

चन्द्रमाले एक वर्षअघि १० हजार तिरेर ल्याएको माउबाख्रो चितुवाले खोरबाट निकालेर चार कान्लामुनि पुर्‍यायो । पातलो गाउँमा छिमेकी निस्केर धपाउँदाधपाउँदै घाँटीमा घाउ बनाएर रगत चुसेको अवस्थामा बाख्रो चितुवाको मुखबाट खोसियो । बाख्रो एक दिनभन्दा बढी बाँचेन् ।

गाउँ छेउका पल्लो पाखार सामुदायिक वन र जलुके तारेभिर सामुदायिक वनमा चितुवा कराउन छोडेका छैनन् । दिनभर गाउँमा बाँदरको आतङ्क छ । रात परेपछि चितुवा कराउँदै घरघरै आइपुग्छन् ।

प्रतिक्रिया