पर्या–पर्यटनलाई प्रवर्द्धन गरिने

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले पर्या–पर्यटन व्यवसायलाई प्रवर्द्धन गरी रोजगारीका अवसर सिर्जना गरिने बताएका छन् । शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटामा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको उद्घाटन कार्यक्रममा बोल्दैै उनले वनमा आधारित पर्या–पर्यटन र धार्मिक पर्यटकीय क्षेत्रको विकास गरी युवाहरूलाई स्वदेशमै रोजगारी दिन प्रतिबद्ध रहेको बताए ।
उनले मन्त्रालयले आयआर्जनका कार्यक्रमलाई प्राथमिकतामा राखेकाले युवाहरूको माग र सीपका आधारमा योजना सञ्चालन गरिने बताए । स्थानीय सीप, प्रविधि र कच्चा पदार्थमा आधारित योजना प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले युवाहरूलाई स्वदेशमै मनग्य आम्दानी हुने खालका योजना सञ्चालन गरी विदेशिनबाट रोक्न सकिने बताए ।
वनमा आधारित घरेलु उद्योगलाई सँगसँगै अगाडि बढाइने मन्त्री धामीले बताए । जङ्गली हात्ती नियन्त्रण गरी निकुञ्ज छेउका बस्तीलाई सुरक्षित बनाउनका लागि मेसवायर र विद्युतीय तारबारका लागि कार्य अगाडि बढाउन प्रतिबद्ध रहेको उनले उल्लेख गरे । सोचेजस्तो विकासमा फड्को मार्न नसकिए पनि परिवर्तनलाई आत्मसात गर्दै विकासका लागि प्रयासरत रहेको उनको भनाइ थियो ।
बैजनाथ मन्दिरको पूर्वाधार विकासका लागि सक्दो सहयोग गरिने उनले प्रतिबद्धता व्यक्त गरे । सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य महेशदत्त जोशीले निकुञ्जमा एकमात्रै प्रवेशद्वार हुँदा पर्यटकीय गतिविधिमा कमी आएको बताए । निकुञ्ज प्रवेश गर्ने मझगाउँमा एउटै मात्रै प्रवेश विन्दु रहेको चर्चा गर्दै उनले त्यसलाई विस्तार गरी अर्जुनीमा पनि त्यहीबाट टिकट काटेर निकुञ्ज प्रवेश गर्ने व्यवस्था गर्न सकिए पर्याप्त पर्यटकलाई भित्र्याउन सकिने बताए ।
निकुञ्ज नजिकका बस्तीमा घरबास सञ्चालन गर्न सकिए संस्कृति जोगाउन र स्थानीय बासिन्दालाई स्वरोजगार बनाउन मद्दत पुग्ने उनको भनाइ थियो । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशका महामन्त्री चिन्तामणि भट्टले जङ्गली जनावरबाट हुने मानवीय क्षति रोक्नका लागि मन्त्री धामीको ध्यानाकर्षण गराए । रासस
प्रतिक्रिया