शनिबार, जेठ ५, २०८१

‘अहिले कुनै पनि विकास बैंकहरु मर्जरको प्रक्रियामा छैनन्’

नेपालखोज २०७८ असार ८ गते १४:२२

बजेटअनुसार सर्टिफेकेट धितो राखेर त्यति सजिलै पैसा पाउने सम्भावना म देख्दिनँ

गरिमा विकास बैंकको सीईओमा अहिले गोविन्दप्रसाद ढकाल कार्यरत छन् । कोभिड-१९ (कोरोना भाइरस) को दोस्रो चरणको संक्रमणदर घट्ने क्रम सुरु भएसँगै आर्थिक क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । सरकारले अर्थतन्त्र चलायमान बनाउन निषेधाज्ञा केही खुकुलो बनाएसँगै बैंक तथा वित्तिय संस्थाहरु पनि पुरानै लयमा फर्कने योजनाका साथ अघि बढेका छन् ।
गत वर्षको लकडाउनबाट सामान्य अवस्थामा फर्कन नपाउँदै फेरि निषेधाज्ञामा जानुपरेका कारण अहिले झनै अप्ठ्यारो परेको स्वयं बैंकर्सहरु बताउने गरेका छन् । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दप्रसाद ढकाल कोरोनाका कारण बैंक तथा वित्तीय संस्थालाई गत वर्षको लकडाउनभन्दा अहिलेको निषेधाज्ञाले बढी प्रभावित पारेको बताउँछन् । सीईओ ढकालसँग नेपालखोजका लागि जगत भण्डारीले विविध विषयमा कुराकानी गरेका छन् ।

कुराकानीका दौरान सीईओ ढकालले भने, ‘बैंक तथा वित्तीय संस्था र व्यापार व्यवसाय एक-अर्काका परिपूरकजस्तै हुन्, त्यसैले जुनसुकै कारणले भए पनि व्यापार-व्यवसाय अप्ठ्यारो वा समस्यामा परे भने त्यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थामा देखिन्छ, अहिले ठीक त्यस्तै भएको छ ।’ पछिल्लो ३ महिनायता बैंक तथा वित्तीय संस्था ठप्प प्रायः छन् । यसअवधिमा होटेल पर्यटनजस्ता व्यवसाय बन्द रहेकाले ऋण लिएकाहरुलाई किस्ता समयमै हाल्नुस् भन्न पनि अप्ठ्यारो परेको उनी बताउँछन् । तर ठूला ऋणीहरुसँग भने आवश्यक सल्लाह गरेर निर्णय लिने आफूहरुको योजना रहेको सीईओ ढकाल सुनाउँछन् । प्रस्तुत छ गरिमा विकास बैंकका सीईओ गोविन्दप्रसाद ढकालसँग गरिएको कुराकानी :

हाइलाइट्स :

– एक वर्षअघि पनि हामी यो बेला लकडाउनकै अवस्थामा थियौं । त्यसले बैंक तथा वित्तीय संस्थालाई असर गरेको थियो । अहिले पनि निषेधाज्ञाको अवस्थामै छौं ।
– व्यवसायमा जब अफ्ठ्यारो देखिन्छ त्यसपछि समस्या पर्छ । त्यसको सबैभन्दा प्रत्यक्ष प्रभाव बैंक तथा वित्तीय संस्थालाई पर्छ ।
– बैंक तथा वित्तीय संस्थाहरुमा कोरोनाको प्रभाव अघिल्लोपटकको भन्दा यसपालि बढी परेको छ । यो सबैलाई महसुस भएको कुरा हो ।
– कोभिडले बैंक तथा वित्तीय संस्थाको आम्दानीमा असार महिनामा ठूलो ठूलो प्रभाव पार्ने निश्चित छ ।
– कोरोनाका कारण भएको यो समस्या कहिलेसम्म लम्बिने हो निश्चितता नभएका कारण भोलिको दिनमा के हुन्छ भन्न सक्ने अवस्था पनि छैन अहिले ।
– दोस्रो लहरको कोरोना माहामरीका बेला पनि नेपाल सरकार, स्थानीय प्रशासन र नेपाल राष्ट्र बैंकको निर्देशनमा रहेर हामीले ग्राहकलाई सेवा दिइरहेका छौं ।
– गरिमा विकास बैंकबाट कुनै पनि ग्राहकले पैसा झिक्न नपाएर अत्यावश्यक औषधि उपचार खान-लाउन समस्या नहोस् भनेर हामी त्यसतर्फ चनाखो भएर काम गरिरहेका छौं ।
– यस्तो बेला हामीले डेबिड कार्ड प्रयोग गर्न डिजिटल बैंकिङ प्रयोग गर्ने, वित्तिय साक्षरताको काम केन्द्रीय कार्यालय र शाखाबाट गरिरहेका छौं ।
– अहिले कुनै पनि विकास बैंकहरु मर्जरको प्रक्रियामा छैनन् ।
– गरिमा विकास बैंक मर्ज नभएर एउटा सशक्त र राम्रो विकास बैंक हुने र रहिरहने सोचसहित अघि बढेको छ ।
– डिजिटल बैंकिङ अहिलेको रहरभन्दा पनि आवश्यकता भइसकेको छ ।
– हामीले डिजिटल बैंकिङसँगै जनजेचतना दिन पनि आवश्यक छ भन्ने बुझ्नुपर्नेछ । यसका चुनौती र गोपनीयताबारे सबैलाई जानकारी गराउन सक्नुपर्छ ।
– सरकारले हालै ल्याएको बजेट राम्रो छ । नराम्रो भन्न मिल्दैन ।
बजेटअनुसार सर्टिफेकेट धितो राखेर त्यति सजिलै पैसा पाउने सम्भावना भने म देख्दिनँ ।
– सरकारले ल्याएको कार्यक्रमहरुमा ऋण लिएपछि पछि नतिरे पनि मिनाह हुन्छ भन्ने सन्देश अहिले पनि हटेको छैन ।

प्रतिक्रिया