शनिबार, वैशाख २२, २०८१

त्यो बेलाको सिंहदरबार प्रवेश गर्ने पास

नेपालखोज २०८० कार्तिक २४ गते १४:२७

काठमाडौं । वि सं १९६० मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेको सिंहदरबारमा लामो समयसम्म सर्वसाधारणको प्रवेश सहज थिएन। उपत्यका प्रवेशका निम्ति समेत चिसापानी गढीमा प्रवेश पास देखाउनुपर्ने चलनको अन्त्य ००७ सालपछि मात्रै भयो।

विसं १९८९ देखि ००२ सम्म प्रधानमन्त्री रहेका जुद्धशमशेरको पालामा जारी गरिएको नेपाली कागजको प्रवेश पासमा सिंहदरबार छिर्दा पालना गर्नुपर्ने नियमको फेहरिस्त छ। महिनाको दुईवटा शुक्रबार सिंहदरबार छिर्नका निम्ति जारी गरिएको पासमा क-कसलाई भित्र लैजान पाइन्छ र क-कसलाई लैजान पाइँदैन भन्ने उल्लेख छ।

उक्त पासमा ‘प्रवेशबाहकले आफ्ना नातेदारका मानिस र आफ्नै घरका नोकर्नीलाई सिंहदरबार छिराउन सक्ने तर अन्त ढोका चहारेकी नोकर्नीलाई ल्याउन नमिल्ने’ उल्लेख छ। इतिहासकार दिनेशराज पन्त तत्कालीन समाजमा एउटै घरमा लामो समय काम नगरी घर परिवर्तन गर्ने ‘नोकर्नी’लाई सामाजिक रूपमा राम्रो दृष्टिले नहेरिने प्रचलन रहेको बताउँछन्। भन्छन्, “यो पास सामन्ती सामाजिक व्यवस्थाको एउटा प्रमाण हो।”

निश्चित चाडबाड बाहेकका दिनमा सिंहदरबार छिर्न नपाइने र त्यस्तो दिन आवश्यक बिन्ती बिसाउन अनिवार्य भए हजुरयिा जर्नेल (दरबारका सचिव जस्तै पद)लाई पत्र लेखेर उनको अनुमति प्राप्त गरेपछि मात्रै छिर्न सकिने प्रवेश पासमा उल्लेख छ। इतिहासकार पन्त भन्छन्, “यो पत्रले तत्कालीन समाजमा रहेको प्रचलनको प्रमाण दिन्छ।”

पत्रवाहक डुलकुमारी राणाकालका विभिन्न चरणमा प्रधानमन्त्री रहेका चन्द्रशमशेर र भीमशमशेरका मामा केशरसिंहकी नातिनी-बुहारी हुन्। केशर सिंह विसं १९४२ को रणोद्दीप शाह हत्याकाण्डमा पनि मुछिएका थिए। इतिहासकारहरूका अनुसार थीरशमशेर थापा हेमदल थापाका सन्तान हुन्। राणाकालमा र त्यसपछिको लामो समयसम्म पनि शमशेर थापा र जंग थापाहरूको बसोबास कमलपोखरीदेखि नक्सालसम्म फैलिएको थियो।

इतिहासकारहरूले बताए अनुसार राणाकालमा सिंहदरबार छिर्नु सजिलो थिएन्। राणा दरबारका विश्वासपात्रले मात्रै त्यस्तो अवसर पाउँथे। सिंहदरबारको ढोकाको दुई छेउमा रहेको खोपामा पानी परेका बेला वा घाम लागेका बेला मान्छेहरू थुप्रिन्थे। त्यसै गरी दरबारमा बिन्ती बिसाउन जानेहरू पनि त्यहाँ उभिएका हुन्थे। ती मध्ये अधिकांश भने दरबारका चाकडीबाज नै हुन्थे। बफादारी प्रमाणित भएपछि मात्रै तिनीहरू भित्र छिर्न पाउँथे। पहिलो चरणमा तिनीहरूको प्रवेश बगैँचा र हदै भए पटांगिनीसम्म मात्रै हुन्थ्यो र बिस्तारै पहिलो चोक हुँदै उनीहरू दरबारको मूल ढोकासम्म पुग्न पाउँथे। इतिहासकार पन्त भन्छन्, “यो प्रवेश पासले शासकहरू र जनताबीचको सम्बन्ध कसरी सीमित तुल्याइएको थियो भन्ने बुझाउँछ।”

प्रतिक्रिया