शनिबार, जेठ ५, २०८१

जमाना बाइस्कोपको

सुनिल उलक २०८० कार्तिक २६ गते ८:३१

सायद हामी मध्य धेरैले बाइस्कोपमा आँखा लगाएर छिनमै आगराको ताजमहल छिन मै दिल्लीको कुतुवमिनार छिनमै बम्बइको रमझम हेर्न पाएको होला । यो बाल्यकालको क्षण मलाइ निकै याद आँउछ । धेरै पटक हेरे यसरी बाइस्कोपको दुलोबाट संसारलाई ।

हुन त हामी मध्य थोरै नै भाग्यमानी होलान जसको बुबा हरेक कुरा बनाउन जान्ने होस । मेरो बुबाले घरमै आवाजविहिन फिल्म देखाएर हामी दङ्ग परेका थियौँ । हातले रिल घुमाउनु पर्थ्यो । हामी बच्चाहरुको पालो आँउदा शुरमा जोशले छिटो छिटो घुमाउथ्यौ फिल्ममा हिडेकाहरु पनि दौडन्थ्यो ।

बिस्तारै थाक्दै जाँदा हाम्रो हात बिस्तारै चल्थ्यो । जसले गर्दा दौडेकाहरु पनि बिस्तारै हिडेको देखिन्थ्यो । त्यस्तै घरमा ग्रामोफोन बजाउँदा पनि हामी त्यस्तै गर्थ्यौ । हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरो त्यो समयको निकै चलेको

ग्रामोफोनको चक्का थियो । हामीले ग्रामोफोनमा बढि डम हालेर कहिले छिटो छिटो गाउने बनाउँथ्यौ भने कहिले ढिलो बजाउँथ्यौ । नजानेर वा कहिलेकाँही बढी जान्ने भएर हामीले धेरै ग्रामोफोनका चक्का फुटाल्यौ ।

तस्विरमा बुबाको मुख हेर्ने कुशे औशीमा गोकर्णमा लागेको मेलामा बाइस्कोप देखाउन ल्याइएको छ । आँखा मिलाएर हेर्ने सबै ठाँउ ढक्कन लगाइएको हुँदा बाइस्कोप शुरु नभएको थाहा हुन्छ । शायद दुइ बालक बाइस्कोप शुरु हुने प्रतिक्षामा छ ।

बाइस्कोप शव्द वास्तवमा ग्रीकबाट आएको मानिन्छ । ग्रीक भाषामा बायोसको अर्थ जीवन र स्कोपिनको अर्थ हेर्ने हो । यसर्थ जीवनलाई हेर्ने भन्ने अर्थ लाग्छ बायोस्कोपको । तर पछि यसको अर्थ भिन्न रुपले प्रस्तुत गर्न थालियो । बायोस्कोपको अर्थ शुरुवातकालको फिल्म प्रोजेक्टर भनेर परिभाषित गरियो । यहि बायोस्कोप नै भारतमा बाइस्कोपको नामले चर्चित भएको थियो ।
कलकत्ताका हीरालाल सेन नाम गरेका ब्यक्तिले सन १८९६ मा उनले हातले चलाउन मिल्ने एक किसिमको फिल्म प्रोजेक्टर बनाएका थिए । जसबाट उनले सिनेमा जस्तै अनुभुति दिने मुक चलचित्रको प्रदर्शन गर्दथे । सन १८९८ मा उनैले रोयल बाइस्कोप कम्पनी बंगाल स्थापना गरेका थिए ।

शहरी क्षेत्रमा फिल्मको ब्यापक प्रचारप्रसार हुने हुँदा ग्रामिण क्षेत्र जहाँ सिनेमा हल हुदैनथे । त्यहाको ग्रामिणहरुलाई पनि फिल्मको सानो अनुभुति दिन यो बाइस्कोपको शुरुवात भएको थियो । हिन्दी फिल्म दुश्मनमा देखो देखो बाइस्कोप देखो गीतले अझ यसको प्रचार बढ्यो तर बाइस्कोप भने लामो समय चल्न सकेन ।

गाँउ गाँउमा सिनेमा हल पुगेपछि यो पनि बिस्तारै हरायो । बाइस्कोप प्राय गरेर हराइसकेको छ । तर पनि कतै कतै भारतका ग्रामिण क्षेत्रमा लाग्ने मेलामा आकलझुकल देख्न सकिन्छ ।

प्रतिक्रिया